काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले राजमार्गमा गएको पहिरो पन्छाउन, ट्राफिक जाम लगायतको व्यवस्थापनका लागि राज्यका सुरक्षा निकाय तथा अन्य अंगहरु सक्षम रहेको जनाएको छ ।
निरन्तर वर्षाका कारण कालिखोला नजिक खसेको पहिरोले मंगलबारनारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि रास्वपाको आर.ए.टी नामक समूह परिचालन भएर पहिरो हटाउन काममा लागेको पाइएको भन्दै कार्यालयले त्यसका लागि राज्यका अंग सक्षम भएको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै पहिरो गएको स्थानमा सुन्तला रंगका जकेट लगाएर वाकीटकीसहित रास्वपाको टिम खटिएका छन् भनि फोटोसहितको पोष्टमा कार्यालयको ध्यानाकर्षण भएको जनाएका छन् ।
‘हिजो मिति २०८०/०४/२३ गते मुग्लिन–नारायणगढ सडकखण्डको कालिखोला भन्ने स्थानमा माथिबाट लेखो सहितको पहिरो आइ बाटो अवरुद्ध भएकोमा सुरक्षा नियका र सडकसहितका राज्यका अंगबाट भएको श्रोत साधन र जनशक्ति प्रयोग गरी पहिरो पन्छाइ सडक सुचारु गराइ ट्राफिक व्यवस्थापन समेत गरेकोमा कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिएको, लिन स्वीकृति नदिएको जानकारी गराउँदछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
कार्यालयले उक्त पोष्टमा संचारको वाकीटकी समेत देखिएकोमा उक्त साधन स्वीकृति र दर्तावाल हो होइन छानविन गर्न समेत प्रहरीलाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।
विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकाय लगायत राज्यका सबै अंग सक्षम रहेको जानकारी गराउदछौं । साथै ठूला विपद्का घटनाहरुमा राजनीतिक दल, नागरिक समाज लगायत आम सर्वसाधारण नागरिकबाट कुनै दल विशेष वा संगठनको परिचय विना विशुद्ध स्वयमसेवी राहत उद्धारकर्मीको रुपमा जिल्ला÷स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति र खटिएको सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने समेत जानकारी गराइन्छ ।’ विज्ञप्तिमा थप भनिएको छ ।

वि.सं.२०८० साउन २४ बुधवार १५:५८ मा प्रकाशित






























