
काठमाडौं । पछिल्लो समय नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोगको समस्या बढिरहेको छ ।
देशका कतिपय क्षेत्रमा आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिसका कारण मानिसहरु अत्यन्तै प्रभावित भएका छन् । यसले विशेषत बालबालिका बढी मारमा परेका छन् । आँखा पाक्ने रोग व्यापक रुपमा देखिएपछि कतिपय स्थानीय सरकारले केही दिनका लागि स्कुल समेत बन्द गरिएको सूचना जारी गरेका छन् ।
यो रोग एक व्यक्तिबाट सजिलै अर्को व्यक्तिमा सर्ने हुनाले यसबाट बच्न विभिन्न उपाय अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
कस्ता हु्न्छन् त यसका लक्षण
-आँखा रातो हुने र चिलाउने
-आँखाबाट आँसु बगिरहने वा कचेरा\चिप्रा लाग्ने
-आँखाको ढकनी रातो हुन, सुन्निने
-आँखा बिझाउने/दुख्ने
-घाम वा उज्यालोमा हेर्न गाह्रो हुने
यी हुन् रोकथामका उपाय
-संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र संक्रमित व्यक्ति भिडभाडमा नजाने ।
-संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने ।
-जथाभावि नछुने । आँखा छुनु परेमा छुनु अघि वा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने । व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
घरमा कसरी ध्यान दिने
-यो रोग लाग्दा घरमै विशेष ध्यान दिएमा १ देखि २ हप्तासम्म निको हुने स्वास्थ्य विज्ञ बताउँछन् ।
-बरफले आँखा सेक्दा आँखा बन्द गेर वा सफा रुमालमा राखेर सेक्ने ।
-आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने ।
-आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने ।
-प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने ।
-बाहिर घुम्न जाँदा कालो चश्मा लगाउने
-संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने ।
-संक्रमित व्यक्तिले प्रयोग गरेका सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।
त्यसैगरी यसको संक्रमण बढी हालेमा घरमै जथाभावि औषधि प्रयोग नगर्न र उपचारका लागि स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।