काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ ।
त्यसकारण हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान ले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।
त्यसैगरी राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वि.सं.२०८० भदौ १ शुक्रवार ०९:२९ मा प्रकाशित






























