काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक वित्तीय प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा सो रकम भित्रिएको हो ।
केन्द्रीय बैंकको विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा भन्दा गत आर्थिक वर्षमा रेमिट्यान्स २१.२ प्रतिशतले बृद्धि भएको छ । आ.व. २०७७/०७८ मा भन्दा आ.व. २०७८/०७९ मा ४.८ प्रतिशतले रेमिट्यान्स बढेको थियो । जुन पछिल्लो वर्ष थप बृद्धि भएको देखिन्छ ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।
केन्द्रीय बैंकका अनुसार रेमिट्यान्स आप्रवाहमा बृद्धि भइरहँदा वैदेशिक रोजगारीमा जानेको संख्या पनि बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४०.३० प्रतिशतले बृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८मा भन्दा २०७८/०७९ मा वैदेशिक रोजगारीमा जानेको संख्या ३९२ प्रतिशतले बढेको थियो ।
यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आएको छ । जुन अघिल्लो आर्थिक वर्षमा १९८.५ प्रतिशतले बढेको थियो ।
वि.सं.२०८० भदौ १ शुक्रवार १३:५१ मा प्रकाशित






























