back
CTIZAN AD

कथा : छोरी

वि.सं.२०८० भदौ २ शनिवार

2.5K 

shares

अनुराग अरुण,ललितपुर

योग प्रसाद र लताको पहिलो सन्तानको रुपमा छोरीको जन्म हुन्छ । बुबा आमा बन्न पाएकोमा दुबै अति प्रसन्न र खुशी हुन्छन् । दुबैले छोरीको नाम लक्ष्मी राख्छन् ।

सानी पुतली जस्तै लक्ष्मी, आमा बुबाको अति प्यारी बनेकी छिन् । ओछ्यान पल्टेकी लक्ष्मीले हात खुट्टा चलाउदा दुबै दंग परेर हाँस्दै हेरिरहन्छ्न् । लतालाई सानी छोरी लक्ष्मी दुःख पीडा भुलाउने मेसो बनेको छ ।

योगप्रसाद कामबाट साँझ घर फर्के पछि हात खुट्टा धोएर, आगो छोएर सोध्छ, ‘लता ! मेरी छोरी कहाँ छ ?’ पतिको मुखबाट यस्तो सुनेपछि भन्छिन् , ‘छोरी दूध पिएर सुतेकी छिन् है । न उठाउनु होला है, हजुर ।’ योग प्रसाद सुतिरहेकी छोरीको नजिक गएर आँखा नझिम्काएर एकटकले छोरीलाई हेरिरहन्छ्न् । केही बेरपछि सानी लक्ष्मीले पुलुक्क आँखा खोल्छीन् । अनि काखमा खेलाउन थाल्छन् ।

चिया लिएर लता आउँछिन् । पतिलाई चिया दिदैं छोरीलाई आफैले बोक्दै भन्छिन् , ‘छोरी पाए देखि तपाईलाई अरु चाहिएन है ?’

चिया पिउदैं भन्छन्, ‘छोरी नै मेरो प्राण हो । घरमा आउँदा यिनीलाई नदेखी म एकछिन पनि बस्न सक्दिनँ ।’

यसरी लक्ष्मी नै दुबैका लागि प्राण भन्दा प्यारी मायालु बन्न पुगेकि छिन् ।

लक्ष्मी हुर्किदै जान्छे । स्कुल पढन जान थाल्छे । त्यसपछी उनिहरुको दोश्रो सन्तानको रुपमा छोरा राहुलको जन्म हुन्छ । छोरी र छोरालाई भेदभाव नगरि बरोबरी शिक्षा र दीक्षा दिन्छन् ।

समयसंगै दुबै सन्तान ठूलो हुन्छन् । जति लाड, प्यार र माया गरेर हुर्काए पनि छोरीको जात अरुको घर जाने हुन्छिन् । लक्ष्मीको विवाह हुन्छ । उनी आफ्नो पतिको घर जान्छिन् । नजिक भन्दा टाढा हुनेको अति माया लाग्छ । दुबै बेला बेलामा कोसेली लिएर छोरीलाई भेटन गइरहन्छन् ।

यसरी एवम् रितले दिनहरु बित्दै जान्छ । यसै बिच छोरा राहुलको पनि विवाह हुन्छ । योगप्रसाद र लता बृद्द अवस्थामा पुग्छन् ।

योगप्रसादको मृत्यु हुन्छ । लता पति बिहिन हुन्छिन् । छोरा राहुलको छोरा छोरी अर्थात नाति नातिना भएर हजुर आमा बन्छिन् ।

छोरा, बुहारी, नाति र नातिनी साथमा भए पनि उनलाई आफैले जन्माएर पालेकी र हुर्काएकी छोरीको, ‘कस्ती होली ? के गरिरही होली ? निकै दिन भो खबर न आएको कतै विसञ्चो भई कि ?’ सधैं यस्तै यस्तै याद र सम्झनाले उनलाई पिरोलिरहेको हुन्छ । यही पीरले उनको मूटु पोलिरहेको हुन्छ । श्रीमान् हुँदा दुई तीन महिनामा एकपल्ट छोरी र ज्वाईंलाई भेटन गइरहेकी हुन्छिन् । तर अब श्रीमान् छैनन् । छोरी ज्वाईंलाई भेटन मन लाग्छ । तर के गर्नु टाढा छ । छोरीलाई भेट्न १० घण्टा बस चढेर जानुपर्ने । खाली हात भेट्न जानू भएन । छोरासंग ‘बाबू ! तिम्री दिदीलाई भेट्नु जाने मन छ, अलि खर्च देन’, भनेर भन्नू पो कसरी ?

नजिक भन्दा टाढाको माया लाग्छ । हर बखत छोरीको चिन्ताले सताइरहन्छ । खाँदा, सुत्दा होस् , ‘के गरिरहेकी होली ? कस्ती होली ?’ पीरले उनको मुटु पोलिरहेकी हुन्छ ।

एकदिन भात खानेबेलामा छोरालाई सोध्छीन्, ‘बाबू दिदीको केही खबर आयो ?’

‘आएको छैन, आमा ।’

‘कतै सञ्चो भएनकी’

‘सञ्चो नभएको भए खबर गरिहाल्नु हुन्थ्यो, दिदीले ।’

बुहारी अघिल्ल तिर छ । कसरी भनुँ तिम्री दिदीलाई भेट्न जान मन छ । अलि खर्च देन बाबू भनेर । बुहारी पनि छोरी जस्तै त हुन्छिन् । तर आमाको अनुहार हेरेरै कुरा चाल पाउने, छोरी जस्तै हुँदैनन् । छोरीलाई आफ्नो आमाको दुःख पीडा सबै थाहा हुन्छ । तर बुहारीले बुझ्न सक्दिनन् । केही नबोली चुप लाग्छीन् । खाना खाईवरी हात चुठेर आफ्नो कोठा तिर लाग्छिन् ।

एकदिन खाना खान लाग्दा आमालाई नदेख्दा राहुलले आफ्नो पत्निलाई सोध्छ, ‘आमा खै !’

‘आमालाई खान खान बोलाउन गएको, खान मन छैन बुहारी भन्नू भो’, यसो सुन्ना साथ सरासर आमाको कोठामा जान्छ । ‘आमा ! खान खान जाउँ ।’

‘खान लागेको छैन, बाबू । तिमी खाउ ।’

‘अलिकती भए पनि भात खानुपर्छ । नखाए कमजोरी हुन्छ, आमा । ज्वरो लागेको छ कि, आमा ।’ भन्दै निधार छाम्छ । हात भिजेर आउँछ । पल्लो तिर फर्केर सुतेकी आमाको अनुहार हेर्छ, पुरै आँसेले भिजेको छ । देख्ना सोध्छ, ‘आमा ! हजुरलाई के भो ? किन रुनु भएको ?’

हिक्क हिक्क गर्दै रुँदै भन्छीन्, ‘बाबू ! तिम्री दिदीको सम्झना आएकोले रोएकी हुँ । धेरै दिन भो । केही खबर आएको छैन । कतै विरामी परी कि ?’

‘त्यस्तो नराम्रो नसोंच्नुस् न आमा । त्यस्तो भएको भए दिदीले खबर गरिहाल्नु हुन्थ्यो ।, आँसु पुछिदिदैं राहुल भन्छन् ।

‘किन हो, खबर नआएकोले मलाई साह्रै तिम्री दिदीको चिन्ता पीर लागिरहन्छ । यही पीरले रात भरी मलाई निंद्रै लाग्दैन बाबू । एकपल्ट लक्ष्मीलाई भेट्न जान मन छ ।’, अनुहार भरिको आँसु आँचलले पुछ्दै भन्छिन् ।

‘हुन्छ आमा । यसो मिलाएर म अफिसबाट विदा लिन्छु । अनि दिदीसंग भेट्न जाउला । हुन्न आमा ।’

‘हुन्छ बाबू ।’
दुबै संगै खाना खान जान्छन् ।

एक महिना पछि सोध्छीन्, ‘बाबू ! अफिसबाट विदा मिल्यो ।’

‘छैन आमा ! अफिसमा कामको चापाचाप छ । छुट्टी माग्दा पनि हाकिमले पाउदैन भन्छ । कि त जागिरै छोड्नु पर्ने भो , आमा ।’

छोराको मुखबाट यस्तो सुनेपछि भन्छे, ‘जागिर नछोड बाबू । जुन दिन तिम्रो विदा मिल्छ । त्यै दिन तिम्री दिदीसंग भेट्न जाने ।’

उनलाई छोरीको चिन्ताले निकै सताई रहन्छ । यस्तै रितले एक, दुई, तीन, चार, पाँच अनि छ महिना बित्छ । छोराले निकै दिन पनि ‘छुट्टी मिल्यो मिलेन’ यसबारे केही नभनेकोले उनको मनले मान्दैन । एकदिन अफिस जान बेलामा राहुललाई सोध्छ, ‘बाबू ! छुट्टी मिल्यो ?’

‘मिलेन आमा ।’

‘बाबू ! तिम्री दिदीलाई म एक्लै जान्छु, भेटन ।’

‘बुढाबुढी मान्छे कहाँ एक्लै जानुहुन्छ । हराउनु भयो भने कहाँ खोज्न जाने , आमा ।’, सम्झाउँदै राहुलले भन्छ ।

‘तिमीले यताबाट मलाई बसमा चढाइ दिनु । उता बुटवल बस पार्कमा छोरीले लिन आइहाल्छीन्, बाबू ।’

‘यसो नभन्नुस् न आमा । भने जस्तो हुन्छ र । बसले कता लगेर तपाईलाई ओराल्छ । थाहै हुन्न । म हाकिमलाई भनसुन गरेर छिट्टै विदा मिलाउँछु । अनि दिदीलाई भेट्न संगै जाने आमा ।’

‘हुन्छ बाबू !’

यस्तै तरिकाले साल बित्छ । खपी सक्नु नभए पछि एकदिन छोरालाई भन्छ, ‘बाबू ! मलाई बृद्धा आश्रममा लगेर छोडिदेउ ।’

आमाको मुखबाट यस्तो सुनेपछि आश्चर्य मानेर राहुलले सोध्छ, ‘किन बृद्धा आश्रम आमा ! खान पाउनु भएकै छ । लाउनु पाउनु भएकै छ । मैले र बुहारीले हजुरलाई कुनै किसिमले दुःख पीडा दिएको छैन ।’

‘ठिक भनिस् बाबू ! तिमीहरुले मलाई सुखका साथ पालेका छौं । मान्छेलाई खान र लाउन पाएर मात्र सुख हुँदैन । सुख भएर मान्छेको मनमा पीर हुँदै हुँदैन भन्न पनि मिल्दैन । मलाई छोरा र छोरी दुबैको उति नै माया लाग्छ । तिमी त मेरो नजिक रहन्छौं । सधैं यै आँखाले देख्न पाउछु । छोरी त टाढा छे । देख्न पाउँदिन । उस्को सम्झनाले मलाई खाएको पनि सुबिस्ता हुँदैन । एक गाँस भात खान्छु । उसैको झल्झल सम्झना आउँछ । के खाएकी होली ? कतै भोकै छ कि ? कतै विरामी छ कि ? यही पीरले म रात भरी निंदाउन सक्दिन बाबू । बृद्ध आश्रममा भए भजन किर्तन गरेर मनको पीडा भुलाउन त सक्छु । घर जस्तो मीठो मसिनो खान नपाए पनि सुविस्ताले निंदाउन त सक्छु ।’

आमाको मुखबाट यस्तो सुनेपछि छोरा भन्छन्, ‘एकदिन छुट्टी लिएर हामी दुबै दिदीलाई भेट्न जाउँला, आमा ।’

‘बाबू ! मैले तिम्रो मुखबाट यस्तो सुनेको पुरै एक साल वितिसक्यो । सधैं छुट्टी लिएर जाने आमा, भन्छौं । कहिले मिल्छ तिम्रो छुट्टी बाबू ?’

आमाको कुरा सुनेर भन्छन्, ‘आमा ! जागिर हो, भनेको बेलामा छुट्टी पाइदैन ।’

‘बाबु ! तिमी विरामी पर्दा तिम्रो बुबा पाँच दिन अफिस नगएर अस्पतालमा भर्ना गरेर हामी दुबै ननिंदाई तिम्रो देखभाल स्याहार सुसार गरेको तिमीलाई सम्झना छ कि छैन ?’

‘छ, आमा !’

‘बाबू ! तिम्रो पनि छोरा छोरी छन् । छोरा छोरीको माया लाग्छ कि लाग्दैन ?’

‘धेरै माया लाग्छ, आमा ।’

‘तिमीलाई त आफ्नो छोराछोरीको माया धेरै लाग्छ । अझ म त आमा हुँ । मैले नौ महिना गर्भमा पालेर, जन्माएर आफ्नै दूध चुसाएर तिमी दुबैलाई हुर्काएकी हुँ । मलाई तिमीहरु कति को माया लाग्छ होला, अलि विचार गर त बाबू ।’

‘मलाई माफ गरिदिनुहोस् आमा ।’, दुबै हात जोडेर आमासँग माफी माग्छ ।

‘बाबू ! तिमीले कहिले पनि मेरो मनको कुरालाई गम्भीर भएर बुझेनौ । सधैं हल्का रुपमा लिइरह्यौं ।’, रुँदै भन्छिन् ।

‘नरुनुस् आमा । भोलि नाइट बसमा हामी दुबैजना दिदीलाई भेट्न जाने आमा ।’

‘पक्का हो, बाबू ।’

‘पक्का आमा ।’

भोलि शुक्रवार दुबै काठमाडौंदेखि बुटवलको नाइट बसमा चढेर जान्छन् । बिहान ७ बजे दुबै बुटवल लक्ष्मीको घरमा पुग्छ्न् । आमा र भाइलाई देखेपछि लक्ष्मी औधी खुशी हुन्छिन् । आमालाई दिदी कहाँ केही दिन बस्ने गरि, छोडेर राहुल त्यै दिनको नाईट बस चढेर आइतबार बिहान काठमाडौं फर्किन्छन् ।

प्राण भन्दा प्यारी छोरी लक्ष्मीलाई आफ्नो सामुमा देख्दा लताको शरिरको सबै दुःख, पीडा र रोग हराएर जान्छ । लक्ष्मी पनि आमालाई समीप पाएर औधी रमाउँछिन् ।

 

वि.सं.२०८० भदौ २ शनिवार ०८:१३ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...