काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आयोजना प्रभावितलाई निष्कासन गरेको आईपीओमा आवेदन दिने आज भदौ १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन ४ गतेदेखि आयोजना प्रभावित रसुवा र नुवाकोट जिल्लाका स्थानीयलाई आइपिओ निष्कासन गरेको हो ।
कम्पनीले अङ्कित मूल्य १०० रुपैयाँमा शेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १० लाख कित्ता शेयर निष्कासन गरेको हो। आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्कासन गरी बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने छ ।
यो सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०९० साउन १५ बाट ब्यारिक उत्पादन थाल्ने लक्ष्य राखेको छ । आयोजनाको कुल लागत २ अर्ब ५० करोड अनुमान गरिएको छ । प्रति मेगावाट लागत भने १७ करोड ४८ लाख अनुमान गरिएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५० करोड रहेको छ । आइपिओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब पुग्ने छ ।
वि.सं.२०८० भदौ १७ आइतवार १२:०२ मा प्रकाशित




























