back
CTIZAN AD

कटुवाल प्रथामा प्रविधिको विकास : फोन गरेरै सूचना दिने

वि.सं.२०८० भदौ १९ मंगलवार

705 

shares

ढोरपाटन (बागलुङ) । बागलुङका अधिकांश ग्रा मीण क्षेत्रमा अहिले पनि सयौँ वर्ष पुराना प्रथा प्रचलनमै छन् । त्यसमध्येको एक हो, कटुवाल प्रथा । कटुवाल प्रथा सूचना प्रविधिको विकास हुनु पूर्वसंचारको भरपर्दो माध्यमका रुपमा थियो ।

गाउँलेको भेलाले दुई÷दुई वर्षमा गाउँमा नयाँ कटुवाल बनाउने प्रचलन अहिले पनि छ । विज्ञानको युगमा पनि पुरानै संस्कार, परम्परा र प्रथालाई अङ्गाल्नु कतिपयले गलत भन्दै आएका छन् भने कतिपयले नेपाली समाजको पहिचानका रुपमा लिएका छन् । खासगरी कटुवाल दलित, जनताति तथा न्यून वर्गका व्यक्तिलाई बनाइँदै आएको पाइन्छ ।

बेरोजगार तथा सामान्य परिवारको व्यक्ति कुटुवाल हुँदा उसको आयआर्जनमा केही टेवा पुग्ने गरेको छ । कटुवाल प्रथालाई पछिल्लो समय विभिन्न जातजाति र समुदायका मानिसले अन्त्य गर्नुपर्ने माग राख्दै आएका छन् ।

विषेशगरी कटुवालले गाउँमा हुने सार्वजनिक कार्यक्रम, सामाजिक कामलगायत कार्यको सूचना गाउँलेलाई घर–घर गएर दिने काम गर्दछन् भने अग्लो डाँडामा गएर हाँको हालेर (चर्को स्वरमा कुर्लिनु) जानकारी दिनुपर्छ । पहिले मोबाइल फोनको पहुँच गाउँलेसम्म नपुग्दा कुटुवालले टाढा–टाढा पुगेर सूचना दिने गर्दथे भने अहिले हरेकको हातहातमा मोबाइल पुगेपछि फोन गरेरै सूचना दिने काम गरिन्छ ।

बागलुङको निसीखोला गाउँपालिका–४ बडाचौरमा केही महिना अगाडि स्थानीय नरबहादुर विकलाई गाउँलेले नयाँ कटुवाल बनाए । सामान्य परिवारका विकलाई गाउँलेले कटुवालमा चुनेपछि उनकोे आयआर्जनमा सहयोग पुग्ने स्थानीय बताउँछन् । एक सय चार घर परिवार रहेको बडाचौरमा कुटुवाल विकले सबैलाई सार्वजनिक कार्यक्रमको सूचना दिनुपर्ने हुन्छ । उनले सूचना दिएबापत हरेक बाली भित्र्याउने बेलामा गाउँलेले एक पाथी अन्न र चाडपर्वमा एक माना चामल दिने गर्छन् । वर्तमान अवस्थामा पहिलेको जस्तो जटिल काम गर्न नपर्ने कटुवाल विकको भनाइ छ ।

उनले भने, “अहिले त धेरै सजिलो बनाएको छ मोबाइलले, हामीले जान्दा खेरी हाम्रा अग्रज कटुवाल बनेर काम गरेकोे देख्दा निकै गाह्रो लाग्थ्यो, उतिबेला कसैको हातमा मोबाइल थिएन, ठूलो कार्यक्रम, पूजाआजा हुँदा सबैको घरमा गएर जानकारी दिनुपथ्र्यो, डाँडामा गएर हाँको हाल्नु पथ्र्यो, अहिले मोबाइलमा रु एक सयको रिचार्ज ग¥यो भने सबैलाई घरबाटै फोन गरेर सूचना दिन सकिन्छ, नजिक–नजिकमा घरमै पुगेर जानकारी गराए पनि भयो ।”

कटुवाल बडाचौर मात्रै होइन झिम्पा, ओखरेनी, निसी, भल्कोट, थापागाउँलगायत निसीखोलाका सबै गाउँमा कटुवाल छन् । जिल्लाको तमानखोला गाउँपालिका–३ तमान गाउँमा पनि प्रचलन अझै कायमै छ । ठूलो गाउँ, नजिक–नजिक घर भएको हुँदा सूचना आदानप्रदान गर्न र सामाजिक काम गर्न सहज भएको हुँदा कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीय बताउँछन् ।

अहिले स्थानीय रूपलाल बुढा मगरले कटुवालको काम गरिराखेका छन् । बुढा मगरले पाँच वर्षदेखि कटुवालको काम गर्दै आएका छन् । गाउँलेले आफूलाई विश्वास गरेर कटुवाल बनाएको हुँदा जिम्मेवार भएर काम गरिरहेको बुढा मगर बताउँछन् ।

हरेक चार÷चार वर्षमा नयाँ कटुवाल बनाउने गाउँलेको नीति रहे अहिलेसम्म आफू नै कटुवालको काम गरिरहेको उनकोे भनाइ छ । तमान गाउँमा तीन सय ७४ घरधुरी छन् । सबै घरका व्यक्तिलाई एकै ठाउँबाट हाँको हालेर सूचना पु¥याउन नसक्ने हुँदा गाउँको देउराली डाँडा, किरी, हिलेलगायतका ठाउँमा पुगेर सूचना दिने गरेको उनले बताए । गाउँमा एक जना मुखियासमेत छन् । मुखियाले दिएको आदेशअनुसार आफूले गाउँलेलाई सूचना दिने गर्दै आएको उनकोे भनाइ छ ।

रूपलालले गाउँमा पूजाआजा, झारा, मेला महोत्सव तथा अन्य सार्वजनिक कार्यक्रम हुँदा गाउँलेलाई यसैगरी सूचना पु¥याउने काम गर्दै आएका छन् । पहिले–पहिले गाउँलेलाई कुनै पनि सार्वजनिक चासो, सरोकारका कार्यक्रमको सूचना दिन घरमै पुग्नु परे पनि अहिले फोन गरेरै सूचना दिने गरेको उनकोे भनाइ छ । परम्परादेखि चल्दै आएको गाउँको परम्परालाई आफूले पनि निरन्तरता दिएको उनी बताउँछन् । गाउँलाई सूचना दिनु राम्रो काम भएको भन्दै सूचना प्रवाहको भरपर्दो माध्यम बन्न पाएकामा आफू खुसी रहेको उनकोे भनाइ छ ।

“यो प्रथा हामीले सुरुवात गरेका होइनौँ, यो त हाम्रा पुर्खाले सुरुवात गरेको प्रचलन हो, यसलाई हामीहरुले चटक्कै छाड्न त भएननी, बाउ, बाजेको पालामा अहिलेको जस्तो मोबाइल, रेडियो, टेलिभिजनको जमाना थिएनन्, सूचना पाउने र दिने कुनै माध्यम नहुँदा उनीहरुले यो प्रथाको सुरुवात गरेका रहेछन् , कटुवाल बुढा मगरले भने, “अहिले त धेरै विकास भयो, सबैले मोबाइल चलाउँछन्, घरघरमा टिभी हेर्छन्, रेडियो सुन्छन्, पहिलेको जस्तो टाढा–टाढा पुगेर सूचना दिने काम अहिले गर्नु परेको छैन, गाउँका सबैको नम्बर राख्यो, काम पर्दा फोन गरेर सूचना दिए हुन्छ ।”

उनले वर्षभरी सूचना प्रवाह गरेबापत एक घरबाट रु दुई सय पाउछन् । तमान गाउँबाट रूपलालले वार्षिक रु ७४ हजार आठ सय प्राप्त गर्छन् । दैनिक सूचना प्रवाह गर्न नपर्ने हुँदा अरू कामसमेत गर्न सकिने उनकोे भनाइ छ । रुपलालको कार्यकाल सकिएको हुँदा गाउँलेले अब नयाँ कटुवाल बनाउने छन् ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले समाजमा परम्परादेखि चल्दै आएका संस्कार संस्कृति र परम्परा एकै पटक हटाउँदा समस्या हुने हुँदा विस्तारै हट्दै जाने बताए । दशकौँ अगाडिदेखि चल्दै आएका कुप्रथाको अन्त्य भएको भन्दै कटुवालले समाजमा सकारात्मक सन्देश दिइराखेको हुँदा अहिलेसम्म निरन्तरता पाएको अध्यक्ष बुढा मगरको भनाइ छ ।

उनले भने, “हामीले समाजमा रहेका कुप्रथालाई प्रोहोत्सान दिने संरक्षण गर्ने कुरा त भएन, तमानखोलामा त्यस्ता प्रथा पनि छैनन्, अहिलेसम्म रहेको यही कटुवाल प्रथा हो, यसले समाजलाई नकरात्मकभन्दा सकरात्मक प्रभाव पारेको छ, सूचना प्रवाह गर्ने विषय गलत होइन, यो यहाँ मात्रै होइन, बागलुङका अधिकांश गाउँमा प्रचलनमै छ, सूचना प्रविधिको विकास भएको छ, अब बिस्तारै यसको अन्त्य होला ।”रासस

 

वि.सं.२०८० भदौ १९ मंगलवार १३:१३ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...