सुमी पोखरेल, उदयपुर
अचानोले जब चोट हाँस्दै सहन्छ
निठुर बन्चरोले नि हारेँ म भन्छ
गयो कोही आगो लगाएर दिलमा
न तृष्णा जगायो, न केही जलन छ
बिना ढङ्ग चल्दैन हतियार आफैँ
यसै नाङ्लोले के कसिङ्गर निफन्छ
बलात्कृत कुसुमले गरिन् आत्महत्या
पुरस्कृत भो भमरा र दण्डित पवन छ
यही हो कि निर्वाणको मार्ग मेरो
न जगमा जमिन छ, न शिरमा गगन छ
बहर : मुतकारिब मुसम्मन सालिम
वजन : १२२–१२२–१२२–१२२
वि.सं.२०८० असोज २० शनिवार ०८:५४ मा प्रकाशित






























