काठमाडौं । बाराका प्रिन्सीपलको हत्यामा संलग्न पाँचजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
कलैया उपमहानगरपालिका–६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ३५ वर्षीय गुड्डु भन्ने रूपेश स्वर्णकारको गोली प्रहार गरी हत्या गरेको अभियोगमा मुख्य योजनाकार सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका–६ मदर्शा टोल बस्ने २२ वर्षीया राधा गुप्ता, ३४ वर्षीय जामिल अख्तर, सोही उपमहानगरपालिका–९ रामपुर बस्ने २६ वर्षीय रियाज अंसारी, भारत मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ जागिराकोटी बस्ने २३ वर्षीय चन्दन कुमार र भारत मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाँउ बहार्वाकाला–१२ बस्ने २३ वर्षीय अभिनव कुमार राजपुत रहेका छन् ।
मदर्शा टोलमा गोली प्रहारबाट सोमबार दिउँसो गम्भीर घाइते भएका रूपेशको नारायणी मेडिसिटि बयोधा हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो भने घटनास्थलबाट ४ थान गोलीको खोका बरामद भएको थियो ।
उनीहरूमध्ये राधा गुप्ता मुख्य योजनाकार र सूचना आदानप्रदान गर्ने, जामिल अख्तर र रियाज अंसारी सहयोगी तथा चन्दन कुमार र अभिनव कुमार राजपुत सुटर ग्याङको सदस्य रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै विवाहेत्तर प्रेम सम्बन्ध एवम् रिसइवीको कारण उक्त घटना भएको समेत खुल्न आएको छ ।
साथै भारत मोतिहारी दर्पा थाना–१ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहनी र २० वर्षीय कामेश्वर सहनी गोली प्रहार गर्न संलग्न रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०८० कात्तिक १५ बुधवार २०:२३ मा प्रकाशित






























