काठमाडौं । रााष्ट्रपतिबाट आममाफी पाएका रिगल भनिने योगराज ढकालको कैद मिनाहा सर्वोच्च अदालतले बदर गरिदिएको छ ।
राष्ट्रपतिद्वारा गत असोज ६ गते दिइएको कैद मिनाहा विरुद्व सर्वोच्चमा परेको रिटमा मंगलबार र बुधबारको निरन्तर सुनवाईपछि आज कैद मिनाहा बदर गरिएको निर्णय सुनाइएको हो ।
कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले मंगलबार र बुधबारको सुनुवाईपछि आज निर्ण सुनाएको हो ।
रिट निवेदकको तर्फबाट बहस गर्दै कानुन व्यवसायीले जघन्य अपराधमा संलग्न व्यक्तिलाई कैद मिनाहा दिएर राष्ट्रपतिबाट राजनीतिक आग्रहका आधारमा संबैधानिक अधिकारको दुरुपयोग भएको बताएका थिए ।
रिगलसहितको १५ जनाको समूहले २०७२ असार १८ गते नेपालगन्ज १६ स्थित ज्योती सिम्ताली होटलमा स्थानीय चेतन मानन्धरको हत्या गरेको पुष्टि भएपछि जिल्ला अदालत बाँकेका न्यायाधिश विष्णु सुवेदीको इजलासले रिगललाई २०७५ बैशाख ११ गते जन्मकैदको फैसला सुनाएको थियो ।
राजनीतिक आडमा गम्भीर अपराधिलाई मुक्त गरिएको भन्दै मानन्धरकी तत्कालीन पत्नी भारती शेर्पाले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, महान्यायाधिवक्ताको कार्यालयसहितलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
वि.सं.२०८० कात्तिक १६ बिहीवार १६:२१ मा प्रकाशित






























