काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा यूएईसँग टस हारेको छ । युएईले माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । यो निर्णयसँगै नेपालले फिल्डिङको निम्तो पाएको छ ।
नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरी फर्केका छन् भने सन्दीप जोरा बेन्चमा पुगेका छन् । त्यस्तै विवेक यादवलाई टोलीमा कायमै राखिएको छ । हिजोको खेलमा गरेको प्रदर्शनको आधारमा उनलाई स्थान दिइएको हो । नेपाल र यूएईको विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ ।
नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि-२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ । नेपाल समूह एको उपविजेता र युएई समूह बीको विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन ्।
नेपाल २०२१को छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन । नेपाल त्यो हारको बदला लिँदै विश्वकप खेल्न चाहन्छ ।
नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग पाँच रनले हारेको थियो । यूएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो। हङकङलाई २२ रनले हराएको थियो ।
नेपाल र युएईबीच टि२० आईमा ८ खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । पछिल्ला पाँच टी-२० आई खेलमा नेपाल युएईसँग तीन पटक पराजित भएको छ ।
वि.सं.२०८० कात्तिक १७ शुक्रवार १०:५९ मा प्रकाशित






























