काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।
परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन बिहीबार बिहान नेपाल आएका जयशंकरले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरिरहेका छन् ।
जयशंकरले शितलनिवास राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट गरेका छन् । राष्ट्रपतिलाई भेटे पश्चात जयशंकरले प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् ।
दुईदिने नेपाल भ्रमणमा आएका विदेशमन्त्री जयशंकरले काठमाडौं आउँनासाथ ट्विटरमा अपडेट गर्दै आफूले नयाँवर्षको सुरुवातमा नेपाल भ्रमण गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । भेटघाटपछि विदेशमन्त्री जयशंकर होटल याकएण्ड यतिमा हुने दुईदिने परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सहभागी भएका थिए ।
उक्त संयुक्त आयोगको सातौ बैठकमा दुई मुलुकबीच उर्जा, सीमा समस्या लगायत विभिन्न विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा सहभागी भएपछि विदेशमन्त्री जयशंकरले नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली लगायतसँग भेटवार्ता गरेर बेलुका परराष्ट्रमन्त्री एनपी साउदको आयोजनामा हुने रात्रीभोजमा सहभागी हुनेछन् । उनी भोली बिहान ८ बजे पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा गरेर १२ बजे नयाँदिल्ली फर्किने कार्यक्रम रहेको बताइएको छ ।
वि.सं.२०८० पुस १९ बिहीवार १३:२० मा प्रकाशित






























