back

स्मरणमा दुधौली अभियान र पार्टी सवलिकरणको सवाल

वि.सं.२०८० माघ ९ मंगलवार

5.7K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

४ महिनाको यो अभियानले आगामी दिनमा दुधौली नगर पार्टी निर्माणमा गोरेटो सडक खिचेको छ, त्यो बाटोलाई विस्तार गरी त्यहाँका सबै नागरिक हिड्न रुचाउने पार्टी बनाउनु हुनेछ भन्ने विश्वास सहित सबैप्रति आभार ब्यक्त गर्दछु । पार्टी कमजोर भएको र सक्किने की सच्चिने अहम संघारमा रहेको बेला दुधौलीको यो अनुभूति मेरो राजनैतिक जीवनका लागि मूल्यवान थेसीस भएको छ ।

नेकपा (माओवादी केन्द्र)को आठौँ केन्द्रीय समितिको बैठकले सक्किने की सच्चिने भन्ने अहम सवालका बिच जनतासंग माओवादी विशेष रुपान्तरण अभियान संचालन गर्ने निर्णय गरेपछि सबै केन्द्रीय सदस्यहरुलाई फरक भूगोलको कार्यक्षेत्र तोकि पठाउने निर्णय गर्यो । जनजनमा माओवादी, घरघरमा माओवादी भन्ने नारासहित ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’ अन्तर्गत मलाई सिन्धुलीको दुधौली नगरपालिका कार्यक्षेत्रमा खटाईयो । बालबच्चा भएका आमा, बिरामी वा विशेष कारण भएकाहरुलाई कार्यक्षेत्रमा हेरफेर गर्न सकिने निर्णय पनि थियो । कतिपयले यी कारणहरु बेगर नै आफूलाई पायक पर्ने ठाउँ रोजेको पाईयो भने कतिपय कार्यक्षेत्र नै नगएको र कतिपय गईदिए जस्तो गरेको पनि देखियो ।

मैले कार्यक्षेत्र परिवर्तन नै गर्नुपर्ने विशेष कारण नभएपनि नशाको समस्याका कारण लामो यात्रा गाह्रो अवस्था नै थियो । दुधौली कार्यक्षेत्र खट्ने क्रममा सिन्धुलीमाडीमा भएको विस्तारित जिल्ला बैठकमा जाने क्रममा साथीहरुले दुधौलीमा सर्पको अत्यन्त विगबिगी भएको भन्दै डर देखाउनु पनि भयो । युद्धकालमा त्यहाँ काम गर्नुभएका केही साथीहरुले पनि सर्पको बिगबिगीको कथा सुनाउनु भयो । यहि बिचमा चीनमा रहेकी छोरीले सर्पबारेको न्यूज हेर्दै दुधौलीबाट फिर्ता भएर अन्यत्र माग्नुस भनेर दवाव पनि दिएकी थिईन् । जिल्ला बैठककै अवसरमा अरु साथीहरुले बिच्छि र खजुरो पनि अति लाग्ने भनेपछि मन डराउनु स्वभाविक थियो । एकातिर बिषालु जीवहरुको डर अर्को तर्फ मेरो कार्यक्षेत्र कहिल्यै नगएको र आफूले चिनेजानेका वा आफन्तसमेत कोही नभएको बिल्कुल नयाँ ठाउँ थियो । मैले बैठकमा कार्यक्षेत्र अत्यन्त नयाँ भएको र चुनौती भएको राखेपछि नेकपा(माओवादी केन्द्र)का उपमहासचिव तथा अभियानका लागि बाग्मती प्रदेश इन्चार्ज क जर्नादन शर्मा तथा बाग्मती प्रदेश अध्यक्ष क सरल सहयात्रीले सक्नुहुन्छ भन्ने ढाडस दिनुभयो । बैठक सकिए लगत्तै दुधौलीका साथीहरु आएर मसँग परिचय र आत्मीयता प्रकट गर्नुभएपछि मन विभोर भयो, यसले दुधौली नपुग्दै त्यहाँका साथीहरुसँगको सद्भावले हार्दिकता बढायो ।

लामो समय पार्टी आन्दोलनमा लागे पनि भूगोलमा गएर काम गरेको थिइन । पार्टीले जिम्मा दिएको ठाउँमा जान्छु भन्दा भन्दै पनि लामो यात्राका कारण शारीरिक अवस्थताले बेलाबेला समस्या दिन्थ्यो । अरु साथीहरुले आफूलाई सहज हुने ठाउँ रोजे जस्तै मैले पनि सुरुमा त सोचें । यहि बिचमा प्रचारप्रसार विभागले पनि मलाई अनलाइन प्रचारप्रसारमा काम गर्ने प्रस्ताव राख्यो र पार्टी उपाध्यक्ष अग्नी कमरेडले विभागतिरै काम गर्नुपर्ने पनि बताउनु भयो । तर मेरो कार्यक्षेत्र दुधौली भएकोले अरु प्रयास नगरीकन चुनौतीलाई अवसर ठान्दै जाने नै निर्णय गरेँ ।

भूगोलमा काम गरेको अनुभव नभएका कारण अभियानको स्प्रिट अनुसार काम गर्न सक्दिन की भन्ने सुरुमा लागेको थियो । पार्टीले मलाई अभियानको कमाण्डर बनाएर १४ वटा वडा भएको नगरपालिकामा पठाएको थियो । अभियानका क्रममा मेरो टिममा वाग्मती प्रदेश सचिवालय सदस्य तथा सिन्धुली जिल्ला पार्टी अध्यक्ष पानीराज बम्जन, वाग्मती प्रदेश सदस्य ज्ञानबहादुर राई र वाग्मती प्रदेश सदस्य तथा दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी हुनुहुन्थ्यो । एउटा सशक्त र सहयोगी टिम मेरो साथमा थियो । तर म पनि नशाको समस्याले नियमित त्यहाँ नरहने, पानीराज बम्जन जिल्ला अध्यक्षसमेत भएका कारण दुधौली मुख्य कार्यक्षेत्र भएपनि जिल्लाभरीका पार्टीका कार्यक्रममा पुग्नु पर्ने बाध्यता थियो भने मेयर दिनेश अधिकारीलाई समय मिलाउन अत्यन्त गाह्रो थियो । ज्ञानबहादुर राई भने लामो समय कार्यक्षेत्रमा खट्नु भयो । विभिन्न बाध्यता र जटिलताका बाबजुद् हाम्रो टिमले दुधौली पार्टी निर्माणको अभियानमा सक्दो प्रयास गर्यो ।

सदरमुकाम माडिबाट दुधौलीजानु अघि, कहाँ बस्ने होला, त्यहाँका मान्छेहरुको व्यवहार कस्तो होला ? भन्ने प्रश्न उब्जेको थियो । तर त्यहाँ गएपनि त्यहाँका साथीहरु मात्र नभएर स्थानीय मानिसहरुले गर्ने व्यवहारबाट छोटो समयमा नै आफन्तको अपनत्व महशुस गर्न सकेँ । जहाँ गएपनि आउनुस् बसौँ, चिया खाउँ, यतै खाना खाउँ भन्ने व्यवहारले मलाई नयाँ ठाउँमा पुगेको भन्ने लागेन । धेरै जसो समय मेयर क दिनेश अघिकारीकै घरमा बसेँ, त्यहाँ आमाले गर्नुभएको मायाले माइती घर नै भएको अनुभूति गरायो । सम्झना कमरेड र अझ भाइबुहारी तथा छरछिमेकहरुको सद्भावले मलाई त्यो ठाउँ कहिल्यै भूल्न नसक्ने बनायो । कतिपय घरमा अझै पनि संयुक्त परिवार मिलेर बसेको पाउँदा रमाइलो पनि लाग्यो ।

दुधौली नगरपालिका उर्बरभूमि भएको ठाउँ हो । ०६२/०६३ साल अघिसम्म अत्यन्त सकसपूर्ण जीवन गुजारेका दुधौलीबासीलाई सहज जीवन दिनेक्रममा सबैभन्दा ठूलो भूमिका माओवादी पार्टीको भएको देखिन्छ । देशमा संघीयता लागू भएपछिको विकासको अनुभूति त्यहाँका नागरिकले गर्न पाएको देखिन्छ । मदनभण्डारी राजमार्ग नजानुसम्म पूर्वको विकट ठाउँ मानिने गरिएको दुधौलीका नागरिकको जीवनको सबैभन्दा ठूलो खुशी बनेको छ । दुधौलीको दुःखको रुपमा रहेको कमलाखोलामाथि पुल बन्ने र ड्यामहरु बन्ने क्रम पनि त्यसपछिका दिनहरुमा भएका छन् । कमलाखोलामा ड्यामहरु बनाइएपछि हजारौँ बिगाह जमिनहरु बगर बन्नबाट जोगिएका छन् । दुधौली नगरपालिका क्षेत्रभित्र मात्र कमलाखोलामाथि ५०० मिटर लामो ४ वटा पुल बनाइएको छ । यदि पुल बनाउनु नपर्ने अवस्था त्यहाँ हुन्थ्यो भने त्यहाँको बजेटले त्यहाँका बाटाघाटहरु सबै पिच भैसक्थे होलान् । माओवादीले त्यस ठाउँको विकासका लागि गरेको कामको फेहरिस्त थुप्रै छन् । अहिले पनि संघीय सांसद राजन दाहाल, प्रदेश सांसद मातृका भट्टराई लगायतले बिकास निर्माणका राम्रा काम गर्नुभएको छ तर त्यसलाई पार्टीको संस्थागत संप्रेषणमा कमि रहेको तथा काम गरेर पनि जनतालाई बुझाउन नसक्दा त्यहाँको पार्टी कमिटी अपेक्षित बलियो हुन सकेको छैन ।

दनुवार समुदायहरुको बाहुल्यता रहेको सो ठाउँका धेरै जनता अझै शिक्षाबाट पछि नै छन् । पढ्न भन्दा पनि जीवन निर्वाहका लागि खेतीपाती र पशुपालन गर्ने परम्पराका कारण पढाई महत्वपूर्ण हो भन्ने सोच बढ्न सकेको छैन । अहिले पनि खासगरी यो समुदायका धेरै महिलाहरु अनपढ छन् भने युवाहरुसमेत पढ्ने कुरामा कमजोर छन् । मजदुरी गर्न विशेष गरी भारत जाने परम्पराका कारण पनि शिक्षाको महत्व बुझाउन नसकिएको देखिन्छ । अभियानका क्रममा आफ्नो ठाउँमा शिक्षा स्वास्थ्यको माग जनताबाट सुनिएन, उनीहरुका गुनासाहरु भनेकै कुर्सी, टेबल, इनार, समुदायका लागि साउण्ड बक्स, विद्युत, आफ्नो घरसम्म पुग्न सहज बाटो नै मुख्य देखिन्छन् । जनताका यस्ता गुनासाहरुलाई पार्टीले कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषय नै त्यहाका स्थानीय नेतृत्वहरुको चिन्ता देखिन्छ । जनताका साना साना गुनासाहरुको सम्बोधन गर्न पार्टी र सत्तासँगको समन्वय नमिलेको अनुभूति पनि भयो ।

त्यस्तै राष्ट्रियता, जनतन्त्र र जनजिवीकाका अहम प्रश्नमा ध्यान नदिएको, देश र जनताको हितभन्दा नेताहरु आफनो परीवार र गुटको खेतीमा लागेको भन्ने जनअनुभूति व्यबहारमा झनै बढेकोे, पार्टी गठन र पुनर्गठन गर्न सकेपनि सुदृढ र एकताबद्ध पार्टी टिकाउन नसकीएको, नेताहरु नीजि स्वार्थमा केन्दीत भएर आफू र आफ्नालाई पद, प्रतिष्ठा र सुबिधा दिलाउने खेतीमा लागेको, निश्चित नेताहरु धनी बन्दै गएको तर सयौ कार्यकर्ता तथा शहिद, बेपत्ता परीवार, घाइते योद्धा र लाखौ जनताको बेहाल बढ्दै गएको, नेतृत्वले ब्यवहारबाटै जनतालाई निराशामा धकेलीएको, पार्टीभित्र कोहि कामै नपाई तड्पिनुपर्ने स्थिति रहेको तर कसैलाई भ्याईनभ्याइ बनाईएको, पुरानो सामान्ती प्रवृतिलाई भत्काउन नखोजीएको बरु झनै बढवा दिइएको, नेतृत्व संधै बिचार र सिद्धान्तभन्दा माथि बस्न रुचि गरेको, नेताहरु बिचमा बढेका दंभ, अहंकार र स्वार्थ तथा त्यसबाट उत्पन्न शंका, अबिश्वास तथा फुट र विभाजनबाट क्रान्तिकारी जनसमुदायमा बढेको डरलाग्दो निराशा, सिद्धान्तप्रतिका निष्ठामा आएको हस, बिचारको रक्षा, प्रयोग र बिकासको बिषयलाई ओझेलमा पारिएको, वर्गपक्षधरता प्रष्ट्याउन नसकिएको गुनासाहरु छन् ।

पार्टी संसदीय राजनीतिमा आएपछि नेताहरुमा आएको व्यवहार हिजोको सामन्तीहरुको जस्तै देखिएको छ भन्ने गुनासाहरु आएका छन् । हिजो जुन वर्गका विरुद्ध पार्टीले शसस्त्र युद्ध गर्यो आज एउटा समूह त्यहि वर्गमा परिणत हुने र तलका कार्यकर्ताको अवस्था जहाँको त्यहि हुने स्थिति क्रमशः सिर्जना हुँदै गएको भनाई छ । नेता तथा कार्यकर्ताबीच हिजोको जस्तो अपनत्व छँदै छैन । नेता कार्यकर्ताबीचको सम्बन्ध क्रमशः टाढिँदै छ । बीचमा दलाल नलगाई नेता भेट्नसमेत नपाउने अवस्था सिर्जना हुँदै गैरहेको छ । सडकमा पैदल हिड्ने कार्यकर्ता देखे नेता छलेर हिड्ने तर व्यापारी र दलालीहरुसँगको सम्बन्ध बढाउने प्रवृत्तिले हिजो विकल्पको रुपमा उदाएको पार्टी आज आफै दलदलमा भासिँदै गएको त होइन भन्ने गम्भिर चिन्ता र चासो कार्यकर्तास्तरबाट आएका छन् । इमान्दार कतिपय कार्यकर्ताहरु पार्टी बनाउनु पर्दछ भन्ने भित्रदेखि चाहना हुँदाहुँदै पनि आर्थिक तथा अन्य बाध्यताका कारण जिम्मेवारीबाट टाढिनु पर्ने स्थिति स्थानीय नेतृत्वमा पनि देखिएको छ । काम गर्न खोज्दाखोज्दै पनि बाध्यताले रोक्छ भने त्यसका लागि पार्टीले सक्दो सहजीकरण गर्नुपर्ने हुन्छ । अवसर आउँदा आफन्त र पैसावाल मात्र खोज्ने प्रवृत्ति पार्टीपंक्तिमा निराशा बढाउने मुख्य कारण बनेको छ । यसले कार्यकर्ताले पार्टीमा गरेको योगदानको मूल्यांकनको इतिहासलाई बिर्साउने दुखद् स्थितिको सिर्जना भएको छ ।

रुपान्तरण अभियानलाई लिएर स्थानीय पार्टी कमिटी र हिजो यहि पार्टीमा लागेर आज अन्य पार्टीमा गएका तथा निस्क्रिय रहेकाहरुको मत भने एउटै थियो, रुपान्तरण हुनुपर्ने जनता की नेतृत्व भन्ने धेरै प्रश्न आएका थिए । जनताले हिजो १० वर्षे जनयुद्धमा ज्यानको बाजी लगाएर पनि नेतृत्वलाई साथ दिएकै हुन् । एमालेसँग एकता गर्यो त्यसमा पनि कार्यकर्ताले साथ दिए, पार्टीले भनेपछि काँग्रेसलाई पनि भोट हाले, जनताले त नेतृत्वले जे भन्छ त्यो मान्दै आएकै त हुन् । कार्यकर्र्ता र जनताको रुपान्तरण होइन नेतृत्वकै रुपान्तरण जरुरी भएको कुरामा आएका तर्क बलिया थिए । त्यहां भनिएको थियो ‘ हिजो सर्बहाराको पक्षमा लड्ने पार्टीका नेताहरुको चालचलन, रहनसहनलाई जनताले हेरिरहेका छन् । नेताहरु पद र स्वार्थको लडाईमा लागेर जनताको उपेक्षा गर्ने, नेताहरुको चालचलन देखेर जनताले मुख छोप्नु पर्ने अवस्थामा सुधार नगर्ने हो भने पार्टीको शाख क्रमशः गिर्दै जान्छ । अहिले नेकपा (माओवादी केन्द) का अध्यक्ष क प्रचण्ड स्वयम् प्रधानमन्त्री भएको र स्थानीय तह देखि केन्द्रसम्म सरकारमा सहभागी भएको दृष्टिले पनि जनतामा माओवादी सरकारबाट धेरै अपेक्षा रहेको छ’ । अध्यक्ष क प्रचण्डले सरकारमा रहेर जनपक्षीय काम गर्ने अन्तिम अवसर भएको र आफू सक्दो कोशिस गर्ने भनि गर्नुभएको प्रयास हामीले संप्रेषण गयौ पनि । तथ्यचित्र बनाउने हो भने अन्य पार्टीको तुलनामा माओवादी सरकारले तुलनात्मक रुपमा धेरै काम गरेको छ । देशमा गणतन्त्र स्थापना देखि समावेशी, समानुपातिक जस्ता व्यवस्था ल्याएर जनतालाई परिवर्तनको महशुस गराएकै छ । अभियानको नेतृत्व गरेर दुधौली नगरपालिका जाँदै गर्दा पनि लागेको थियो जनताबीच सरकारले गरेका राम्रा काम र त्यहाँ नगरप्रमुखले गर्नुभएको काम लिएर जान सहज होला भन्ने अपेक्षा थियो । तर नागरिकको बुझाई समग्रतामा भन्दा पनि मैले ब्यक्तिगत रुपमा के पाएँ, मलाई के फाइदा भयो भन्ने हिसाबले बुझ्ने प्रवृत्तिले निराशा र गुनासाहरु नै धेरै आए । जनतालाई बुझाएर भन्दा आश्वासन दिएर काम गर्न सहज रहेछ भन्ने नमिठो महशुस त्यहाँ भयो ।

त्यहाँका स्थानीय नेतृत्वहरुमा उत्साह जगाउन सकिएको खण्डमा दुधौलीमा पार्टी सुदृढिकरण गर्न सहज हुने देखिन्छ । जनतालाई विचारले बुझाएर संगठित गर्न नसकिएसम्म मासका आधारमा मेरो पार्टी ठूलो भन्ने भ्रम कसैले नपाल्दा हुन्छ । एकातिर पार्टीभित्रै स्थानीय नेतृत्वमा प्रशिक्षणको कमिका कारण उत्साह जगाउन गाह्रो बनेको छ भने अर्को तर्फ दुधौली नगरपालिकामा धेरै नागरिक शिक्षित नभएका कारण उनीहरुलाई संगठीत कार्यकर्ताको रुपमा बुझ्नु भ्रम मात्र हुनेछ । यस्ता मान्छेहरु भ्रममा छिटो पर्ने र स्वार्थ अनुसार जतापनि मोडिन सक्ने हुँदा चेतनाको विकास नगरी गरीने संगठनको कुनै अर्थ रहँदैन । संसदीय राजनीतिमा यस्तो समुदाय निर्वाचनका बेला आर्थिक प्रलोभनमा पर्न सक्ने सम्भावना प्रशस्त रहन्छ । त्यहाँको स्थानीय पार्टी नेतृत्वले पौढ शिक्षा संचालन गर्न अहिले पनि जरुरी रहेको मैले पटक पटक राखेको छु । पार्टी संगठनमा जोड्न नसकिए पनि पार्टी गतिविधि संचालन गर्न यसले ठूलो भूमिका खेल्छ ।

चारमहिने अभियान समयका हिसाबले लामै जस्तो देखिए पनि यहि बिच नेपालीहरुको ठूला चाडपर्व, खेतीपातीको मौसमहरु परेका कारण अभियान सुरुदेखि एउटै लयमा जान सकेन । सुरुमा हिजो यहि आन्दोलनमा लागेका निस्क्रीय साथीहरु बीच पुग्ने, त्यसपछि अन्य पार्टी नेतृत्वहरुसँग छलफल गर्ने र अन्तमा जनताको घरघरमा पुग्ने योजना भएपनि पुरै ध्येयमा सफल हुन सकिएन । कम्तिमा पनि १५ दिन त जनताको घर दैलोमा पुग्ने अभियान संचालन गर्न सकिन्छ भन्ने लागेको थियो तर दुर्भाग्य आफ्नै साथीहरुसँगको भेटघाटलाई पनि सक्रिय बनाउन सकिएन । यद्धपी कार्यक्रमस्थलहरु, चोक, बजार र केहि टोलहरुमा जनतासँग संवाद गर्ने अवसर प्राप्त भएको थियो ।

अभियानको एकमुष्ट समिक्षा गर्नुपर्दा यसले जमेर बसेको पार्टीलाई चलायमान गराएको छ । नयाँ तरङ्ग पैदा गरेको छ । जनताले नेतृत्वसँग भेटघाट गर्न र आफ्ना गुनासो सुनाउन पाएको छ । अभियानले पार्टी भित्रको अन्तरविरोधलाई बुझ्न र पहिचान गर्न सहयोग गरेको छ । अभियानले कार्यकर्ता र जनतामा पार्टीप्रति पुनः विश्वासको वातावरण तयारको प्रयास गरेको छ भने पार्टीप्रतिको कति इमान्दार रहेछ भन्ने कुराको मूल्यांकन गर्ने माध्यम पनि अभियान बनेको छ । निष्कर्ष के छ भने नेता सच्चिनु नपर्ने हो भने कार्यकर्ताले पार्टी थेगिरहन सक्दैन ।
अभियान मात्र पार्टी निर्माणका लागि थियो भन्ने कुरा केही नेतृत्व वर्गले नबुझेको हो की भन्ने अनूभति पनि रह्यो । त्यहाँ खटेर जाने साथीहरुलाई सल्लाह सुझाव दिएर सहजताको स्थिति सिर्जना गरीदिनु पर्नेमा असहजता र्सिजना गर्ने र अभियान जेसुकै होस भन्ने व्यवहारको महशुस पनि भयो । मलाई लाग्छ, नेतृत्व भनेको जहिले पनि फरक पार्टीकै किन नहोस् सबैसँग मिल्न सक्ने, सहयोगी, जनसेवीभाव भएको र फलेको वृक्ष जस्तो हुनुपर्दछ । नागरिकमा आएको चेतनाका कारण विचार भन्दा पनि राम्रो मान्छे छान्नु पर्दछ भन्ने मत विकास भैसकेको अवस्थाको ख्याल गर्दै पैसा बुझाउने वा आफ्नालाई होइन, जनतासँग भिज्न सक्ने, योजना र कार्यक्रम ल्याउन सक्ने खालको सक्षम व्यक्तिलाई उम्मेदवार बनाउनु पर्ने कुरामा दलहरुले हेलचेक्रयाइँ गर्नु हुँदैन ।

विशेष रुपान्तरण अभियान, शब्दमा मात्र नभै व्यवहारमै लक्षित रुपान्तरण अभियान थियो । तर ४ महिने अभियान सकिसक्दा अभियानले लिएको मक्सद्मा हामी कति सफल भयौँ भन्ने गम्भिर समिक्षा गर्न र सुझावहरुको गम्भिर कार्यान्वयन गर्न जरुरी छ । ४ महिना विशेष भएपनि यो निरन्तर गरिरहनु पर्ने काम नै हो । एकैपटक अभियानका रुपमा यसरी देशैभर गर्नुभन्दा प्रदेश प्रदेशमा केन्द्रीत गरेर काम गर्दा बढी प्रभावकारी हुने देखिन्छ भन्ने सुझाव आएका छन् । पार्टी कमिटी आश्वासनले बन्दैन, सरकारमा रहँदा र नरहँदा पनि जनताको पक्षमा कति काम गर्न सक्यौं भन्ने कुरा नै महत्वपूर्ण हो । युग हिजो जस्तो छैन, आज मानिसमा छिटो परिणाम खोज्ने र व्यक्तिगत लाभ हेर्ने प्रवृत्ति बढेको छ । हिजोकै जस्तो गरी आश्वासनले नागरिकलाई संगठित गर्न सकिन्छ भन्ने सोच गलत हुन्छ, आज जनता परिणाम खोज्छ, त्यो पनि तत्काल । हामी उपलब्धी र परिणामको समिक्षा गर्ने र विश्लेषण गर्दैनौ बरु भ्रममा छिटो परिहाल्ने र निराश बनिहाल्ने गर्छौ । यस्तो प्रवृत्तिको अध्ययन गरी पार्टी नेतृत्वले योजना तथा कार्यक्रमहरु बनाउन जरुरी छ ।

अभियानमा खटाउनु हुने क जनार्दन शर्मा, क. गिरीराजमणि पोखरेल, क. सरल सहयात्री, अभियानका जिल्ला कोअर्डिनेटर क महेश्वर दाहाल लगायतका नेतृत्वको टिम, अनुगमनमा खट्नुभएका आदरणिय क. ईश्वरी भटराई, केन्द्रीय सदस्य क. युवराज चौलागाई, जिल्ला समन्वय समिति संयोजक क पानीराज बमजन, प्रदेश सदस्य क ज्ञानबहादुर राई, क दिनेश अधिकारी, पालिका अध्यक्ष क. दीपक खड्का, जिल्ला समन्वय सदस्य तथा अभियान अन्तर्गतका वडा कमाण्डरहरुः क कमला वि.क, क. अर्जुन कार्की, क गणेशबहाद्र बस्नेत, क रितबहादुर कार्की(माधव), क. नवराज कार्की, क. सन्तोष थापा मगर, क. तुलसीराम काफ्ले, क नारायण दाहाल, क. लालबहादुर घिसिङ, क. गुमानसिंह माझी, क. कमल दाहाल, क. भिमबहादुर वि.क, क. सम्झना अधिकारी, क भैरव पुलामी मगर र क. ठाकुर दाहालका साथै क जीवनहरि आचार्य, क. विक्रम आले, क. रमेश परियार, क. यमकुमार (कुमार), क. लक्ष्मण भट्टराई, क. टंकप्रसाद तिमिल्सिना, क. फणिन्द्र दाहाल, क. विन्द्रा अधिकारी, क. दिनेश भट्टराई, क. विष्णु पोखरेल, क. राजेश अधिकारी, क. गोविन्द राना, क शंकर खड्का लगायतका सहयोद्धा कामरेडहरुको स्मरण गर्दै आभार प्रकट गर्दछु ।

साथै क. रामजी काफ्ले, क.प्रमोद दाहाल, क. पृथ्वीबहादुर आले, क.सम्मर बहादुर सुस्लिङ मगर, क. बालकुमार वि.क, क. कमल कुमार राउत, क. मदनलाल कुमार, क. टिटु भट्टराई, क. हरिकुमार खत्री, क.फणिन्द्र दाहाल, क.स्वरुपलाल फनेत, क.रामबहादुर तामाङ, क.तुलसी अधिकारी, क.दुर्गाबहादुर पूर्वछाने मगर, क.टंकप्रसाद तिमिल्सिना, क.मोतीमाया अधिकारी, क. रमाना सापकोटा, क. राजु पोखरेल, क. गेगिन्द्र बस्नेत ‘केदार”, क. मनोज बस्नेत, क. रोमन दनुवार, क. धनमाया मोक्तान, क.सुरेन्द्र दनुवार, क. रेनुका भट्टराइ, क. होमराज दनुवार, क. रमेश परियार, क. विशाल रुचाल, क. दिपक खत्री, क. ग्रिष्मा दिघाली, क. माधव कार्की, क. युवराज दनुवार, क. विजय दनुवार, क.विजय लामा, क. विशाल रुचाल,क. दिपेन सुनुवारहरुको साथ र सहयोगप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

त्यस्तै सुझाव र उत्प्रेरणा दिने केन्द्रीय सदस्य क उर्मिला लामा, प्रदेश सांसद क. मातृका भट्टराई, प्रदेश सांसद क. सुष्पा भुजेलका साथै वाग्मती प्रदेश सचिवालय सदस्य क विनोद विक, क घनश्याम काफ्ले, क इन्दिरा काफ्ले, क.जानुका तिमिल्सिना, क रामशरण थापा, क यमकुमार देवकोटा, क संगीता वि.क, क. शेरबहादुर कार्की, क. अम्बिका खुलाल मगर, क अनिता राई, क.पुकार न्याैपाने,  क.दिलिप तिवारी, लगायतका साथीहरुप्रति विशेष स्मरण गर्दछु ।

साथै सँगै टिममा रहनु भएका सबै वडाका कामरेडहरु, जिल्ला समन्वय समिति सिन्धुलीका अन्य कमरेडहरु, दुधौली नगर कमिटीका अध्यक्ष क दीपक खड्का लगायत सम्पूर्ण कार्यसमिति, वडा समिति, टोल समिति र विभिन्न जनवर्गीय संगठनका साथीहरुप्रति कृतज्ञ छु । ४ महिनाको यो अभियानले आगामी दिनमा दुधौली नगर पार्टी निर्माणमा गोरेटो सडक खिचेको छ, त्यो बाटोलाई विस्तार गरी त्यहाँका सबै नागरिक हिड्न रुचाउने पार्टी बनाउनु हुनेछ भन्ने विश्वास सहित सबैप्रति आभार ब्यक्त गर्दछु । पार्टी कमजोर भएको र सक्किने की सच्चिने अहम संघारमा रहेको बेला दुधौलीको यो अनुभूति मेरो राजनैतिक जीवनका लागि मूल्यवान थेसीस भएको छ ।

अन्तमा अभियानको निष्कर्ष भनेको रुपान्तरण तलबाट होइन आफैबाट र माथिबाटै हो भन्ने नै मुख्य हो । यहि भावका साथ पार्टीको अवस्था, चुनौती र सम्भावना समेटेर संस्थागत रुपमा ४८ पृष्ठको पुस्तिका बनाएरै पार्टी केन्द्र, प्रदेश तथा जिल्ला समन्वयको कार्यालयलाई हस्तान्तरण भएको छ ।

 

वि.सं.२०८० माघ ९ मंगलवार ०९:३२ मा प्रकाशित

‘देशको समृद्धिका लागि प्रमुख दलहरूबीच सहकार्य हुनुपर्छ’

‘देशको समृद्धिका लागि प्रमुख दलहरूबीच सहकार्य हुनुपर्छ’

काठमाडौँ । संसद्को कानुन निर्माण प्रक्रियामा प्रमुख राजनीतिक दलका शीर्ष...

भनिदेउ न समाज महिलाले मात्र हो मर्नुपर्ने ?

भनिदेउ न समाज महिलाले मात्र हो मर्नुपर्ने ?

केही दिनअघि ललितपुरकी ३६ वर्षीया सविना महर्जनले दुई छोराछोरीको हत्या...

बैंकहरुले तत्काल नीतिमा सुधार ल्याउनु आवश्यक छ

बैंकहरुले तत्काल नीतिमा सुधार ल्याउनु आवश्यक छ

प्रकाश ढकाल, डेनमार्क । पछिल्लो तथ्यांक अनुसार नेपालका बैंकहरुमा ५८...

सकिएकै हो त इतिहास अध्ययनको औचित्य ?

सकिएकै हो त इतिहास अध्ययनको औचित्य ?

राजकुमार दिक्पाल, काठमाडौँ । असाध्यै उपेक्षित विषय हुन पुगेको छ,...

क्यान्सरपछि पनि जीवन सहज र सफल बनाउन सकिन्छ

क्यान्सरपछि पनि जीवन सहज र सफल बनाउन सकिन्छ

काठमाडौँ । नेपालमा नसर्ने रोगहरूको प्रकोप बढ्दो छ । नेपालमा...

माघ १९ लाई सम्झि ल्याउँदा

माघ १९ लाई सम्झि ल्याउँदा

अहिलेजस्तो सोही ब्यबस्थामा रहेर ब्यबस्थालाइ नै गाली गर्नु अपराध हुन्थ्यो...