काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरका विभिन्न सार्वजनिक स्थलमा फोहोर संकलनका लागि १ हजार ९५० सेट डस्बिन राख्ने भएको छ ।
उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाडौँ महानगरपालिकाले १ हजार ९५० सेट संकलन बिन राख्ने भएको हो । एउटा सेटमा २ वटा बिन हुन्छन् । यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि भएको बताइएको छ ।
‘उत्पादन भएकै ठाउँमा फोहोरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको हो । स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन भयो भने व्यवस्थापनमा सहज हुन्छ,’ वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भने, ‘महानगरपालिका सबै ठाउँमा एकै पटक काम गर्दा परिणाम प्राप्त गर्न कठिन हुने भएकोले नमूनाका रुपमा हामीले वडा २७ बाट वर्गीकरण भएको फोहोर मात्र संकलन गर्न लागेका छौँ ।’
श्रेष्ठले यसका लागि घरदैलो कार्यक्रममार्फत उत्पादकलाई बर्गीकरण विधिमा सचेत गराउने र छुट्टिएको फोहोर छुट्टाछुट्टै संकलन गर्न रङ्ग संकेतसहितको सवारी साधन तयारी गरिसकेको बताए । घरघरमा फोहोर वर्गीकरण गरेजस्तै सार्वजनिक स्थलमा उत्पादन हुने फोहोरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा संकलन गर्न लागिएको उनले जानकारी दिए ।
यसरी राखिने सेटहरु २ प्रकारका हुने र पहिलो खाले सेट सानो आकारको हुने तथा यसमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । १ दशमलव २ मिटर उचाइ, १ दशमलव २३ मिटर चौडाइ र २५ दशमलव ५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन् । यसमा राखिने स्ट्याण्डको मुल्य ५ हजार १५० रुपैयाँ र डस्टबिन प्रति गोटा मुल्य २ हजार ९५० रुपैयाँ परेको महानगरले जनाएको छ । यस्ता बिन ३ सय सेट राखिनेछन् ।
मध्यम आकारका सेटमा १ दशमलव ३ मिटर चौडाइ र १ दशमलव ४ मिटर उचाइ भएको स्ट्याण्ड हुनेछ । १२५ लिटर क्षमताका २ वटा बिन राखिनेछन । यसमा प्रयोग हुने स्ट््याण्डको मुल्य ५ हजार ४५० रुपैयाँ र बिनको मुल्य ३ हजार ८९० रुपैयाँ हो । विभागकाअनुसार यो मुल्य कर बाहेकको हो । खुला प्रतिस्पर्धाबाट लिइने यी सामग्रीमध्ये केही सेट महानगरपालिकामा आइसकेका छन् ।
बिनको माथिल्लो भागमा कुन प्रकारको फोहोर हाल्ने भाँडो हो भन्ने लेखिएको हुनेछ ।
यी सेटहरु वडासँग समन्वय गरेर फोहोर व्यवस्थापन कार्यमा खटिने नाइकेहरुको जिम्मामा राखिनेछ । हरेक सेटमा नम्बर दिइएको छ । यसका आधारमा कुन सेट कसको जिम्मामा छ भन्ने थाहा हुन्छ ।
वि.सं.२०८० माघ २५ बिहीवार १५:३६ मा प्रकाशित






























