काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग भिड्दैछ । टीयु क्रिकेट मैदानमा खेल बिहान ११ः३० बजे सुरु हुनेछ । नेपालको कप्तानी रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले गर्नेछन् ।
नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको थियो । २०२२ को त्रिकोणात्मक टी-२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो ।
यस सिरिजमा नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहेर फाइनल खेलेको हो । नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो । नामिबिया ३ अंकका साथ पुछारमा रहेर बाहिरिएको थियो ।
नेपाल नामिबियासँग २० रन र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । त्यसपछि खेलमा पुनरागमन गर्दै नेपालले नामिबियालाई तीन रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनल यात्रा पक्का गरेको हो । पछिल्लो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १२० रनमा अल आउट गरेको थियो ।
नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि जित्न चाहन्छ ।
वि.सं.२०८० फागुन २२ मंगलवार ०८:०४ मा प्रकाशित






























