काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ गते र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए । उनले मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ मातहत राखेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा नयाँ सत्ता समीकरण बनाएपछि प्रदेश सरकारमा यसको असर परेको हो ।
केन्द्रमा नेपाली कांग्रेससँगको गठबन्धन तोडेर माओवादीले एमाले,रास्वपा र जसपालगायत दलसँगको नयाँ गठबन्धन बनाएको छ । माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ समीकरण अनुसार सरकार बनाउने निर्णय गरिसकेको छ ।
वि.सं.२०८० फागुन २२ मंगलवार ११:५६ मा प्रकाशित






























