back
CTIZAN AD

काठमाडौँपछि झापा अवैध लागुऔषधको अखडा

पक्राउ पर्नेको सङ्ख्यामा वृद्धि, पुनः स्थापना केन्द्र थपिँदै

वि.सं.२०८१ असार १२ बुधवार

849 

shares

दीपक चन्द (झापा) । झापाको हल्दीबारी गाउँपालिका–१ का मनिस गुरुङलाई आजभन्दा आठ वर्ष पहिले धुम्रपानको स्वाद कस्तो हुन्छ भन्नेसम्म थाहा थिएन । उनको घरमा धुम्रपान सेवन गर्ने कोही नभए पनि घरबाहिर विद्यालय छरछिमेकमा अरूले खाएको देख्थे । आफूभन्दा एक-दुई वर्षमाथिका साथीभाइहरुले चुरोट तानेको देख्दा उनलाई पनि चुरोटको स्वाद लिने मन लग्न थाल्यो । सुरुमा चुरोट खाने हिम्मत आइरहेको थिएन, जसोतसो हिम्मत जुटाएर बाँसको झारीमा गएर चुरोट तानेपछि उनको आत्मविश्वास बढ्यो । त्यसपछि साथीभाइसँग दैनिक रुपमा चुरोट सेवन गर्न थाले ।

कक्षा ८ मा पढदै गर्दा धुम्रपानमा बिस्तारै लत बस्दै गएको थियो यतिकैमा विद्यालयमा आफूभन्दा माथिल्लो कक्षामा पढ्ने दाइहरुसँग उनको सङ्गत भयो र उनीहरुको कुरा सुन्दा गाँजामा नै संसार छ जस्तो गुरुङलाई लाग्न थाल्यो । सानै उमेरदेखि गीतसङ्गीतमा रुचि भएका गुरुङलाई पश्चिमा गीतसङ्गीतमा गाँजालाई प्रोत्साहन गरेको देखेपछि त्यहीँबाट प्रभावित भएर गाँजा सेवन गर्ने मनसाय बनाए । सुरुमा गाँजा सेवन गर्दा त्यसको नशाले टाउको दुख्ने, बान्ता आउने, डर लाग्ने, मनमा नकारात्मक ख्यालहरु आउने भएको थियो । पहिलो चोटी गाँजा सेवन गरेपछि अबदेखि कहिल्यै खाँदिन भन्ने उनको मनमा लागेको थियो तर उनी एकदमै नराम्रो सङ्गतमा फसिसकेका थिए । साथीभाइहरुले पहिलो चोटि खाँदा यस्तै हुन्छ बिस्तारै ठीक हुँदै जान्छ भनेर फकाएपछि यसको पेसेवर सेवनकर्ता हुनुपुगे ।

गाँजाको निरन्तर प्रयोग गर्न थालेको केही समयपछि यसको बिस्तारै कम असर पर्न थाल्यो । त्यसपछि गुरुङ बिस्तारै डाक्टरको सिफारिसमा मात्रै प्रयोग गर्न मिल्ने नार्कोटिक ट्याबलेटहरु गाँजामा मिलाएर खान थाले । विभिन्न औषधि पसलहरुमा खुला रुपमा बिक्री हुने भएकाले त्यस्ता औषधिहरुको गलत तरिकाले प्रयोग गर्नपुगे ।

गाँजा र औषधी (ट्याब्लेट) सँगै सेवन गर्न थालेपछि बिस्तारै शरीर दुख्ने, निद्रा नलाग्ने, बोल्न मन नलाग्ने, जतिबेला पनि रिस उठने अवस्था आयो । पढाइमा अब्बल नै थिए, कक्षामा सधैँ पहिलो वा दोस्रो हुने विद्यार्थी उनी कक्षा ९ मा पुगेपछि अनुत्तीर्ण हुने अवस्था आयो । गाँजा र ट्याब्लेट खाने खर्चको जोह गर्न घरपरिवारमा ठग्ने, चोरी गर्ने, गरगहना बेच्ने, कुनै कामका लागि दिएको रकम गाँजामै खर्च गर्न थाले । घरमा पनि आमाबुबाले विश्वास गर्ने गरेकाले उनीहरुलाई छलेर यस्तो काम गर्न बाध्य थिए गुरुङ ।

गाँजा र ट्याब्लेट निरन्तर प्रयोग गर्न थालेको केही समयपछि एकजना खैरो हिरोइन प्रयोगकर्तासँग उनको सम्बन्ध हुनुपुग्यो । उनलाई केही समय लगातार सित्तैमा खुवाएपछि खैरो हिरोइनको पनि लत बस्यो । निम्न मध्यम वर्गको परिवारको भएकाले गुरुङलाई लागुपदार्थ किन्न रकम जोह गर्न समस्या पर्न थाल्यो । घरमा पनि बिस्तारै उनको कुलतका बारेमा थाहा भयो । त्यसपछि लागुऔषध दुव्यर्सनीको रोकथाममा काम गरिरहेको पुनःजीवन पुनःस्थापना केन्द्रमा आफैँ आए र तीन महिनाको उपचारपछि बिस्तारै अहिले उनी लागुपदार्थ सेवनबाट छुट्कारा दिलाउन सफल हुँदैछन् । अहिले उनी चुरोट पनि सेवन गर्दैनन् । स्नातक दोस्रो वर्षमा अध्ययन गरिरहेका गुरुङलाई पढाइ सकेपछि लागुऔषध नियन्त्रण र रोकथामकै क्षेत्रमा काम गर्ने इच्छा जागेको छ ।

झापा जिल्लाको विभिन्न क्षेत्रमा बसोबास गर्ने युवाहरु लागुपदार्थको सेवनमा कसरी फसिरहेका छन् र उनीजस्तै विभिन्न पुनःस्थापना केन्द्रमा उपचार गराउन आउने युवाहरुको यस्तै कथाव्यथा छन् । लागुऔषध नियन्त्रण ब्यूरोका अधिकारीहरुका अनुसार झापा जिल्ला लागुपदार्थको दुव्र्यसनी तथा कारोबारीहरुको मुख्य गन्तव्य स्थल बन्दै गएको छ ।

झापामा लागुऔषधका दुव्र्यसनीहरुको सङ्ख्या छ हजार पाँच सयभन्दा माथि छ, जुन काठमाडौँपछि दोस्रो बढी भएको लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाका प्रहरी नायब निरीक्षक सोमेस लामिछाने बताउछन् । उनका अनुसार झापा जिल्ला भारतसँग १४४.२ किलोमिटर खुला सीमाना भएका कारण पनि लागुऔषधको कारोबारको ग्राफ बर्सेनि बढ्दो क्रममा छ ।

पक्राउ पर्नेको सङ्ख्यामा वृद्धि
खुला सीमाको फाइदा उठाउँदै झापाका विभिन्न ठाउँबाट नेपाल भित्र्याइँदै गरेका लागुपदार्थसहित मान्छे पक्राउ पर्ने क्रम दिनहुँ जस्तो छ । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणमा लागुपदार्थ सेवनकर्ता तथा कारोबारी प्रायः दिनहुँ पक्राउ पर्ने गरेका छन् । प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा चार सय नौजना लागुपदार्थको सेवन तथा कारोबार गर्दै गर्दाको अवस्थामा पक्राउ परेका छन् । उनीहरुको साथबाट २.०८५ किलोग्राम खैरो हिरोइन र २८.६ किलोग्राम गाँजा बरामद गरिएको प्रनाउ चन्दले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत आवमा तीन सय ३६ जना लागुपदार्थको सेवनकर्ता तथा कारोबारी पक्राउ परेका थिए । जुन सङ्ख्या चालु आवको ११ महिनासम्म पुग्दा २१.७२ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, उनीहरुसँग पक्राउ परेको गाँजा तथा खैरो हिरोइनको परिणाम पनि गत आवको भन्दा दोब्बर भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका रहेको प्रहरीले जनाएको छ । लागुऔषध सेवन तथा ओसारपसार गर्ने मानिसहरुबारे नियाल्ने हो भने झापा बाहेकका जिल्लाका व्यक्तिहरु समेत सक्रिय रहेको प्रनाउ चन्दले बताए । झापा जिल्ला लागुऔषध कारोबारका लागि ट्रान्जिट बन्दै गएको अवस्था रहेको उनको भनाइ छ ।

लागुऔषधको अधिकांश प्रयोगकर्ता अभिभावक (बाबुआमा) विहीन र अभिभावक छुट्टिएर बसेका बालबालिका रहेको लागुऔषधको क्षेत्रमा अध्ययन–अनुसन्धान गरिरहनुभएका उपप्रध्यापक सावित्रा दाहाल बताउछन् । उनका अनुसार त्यस्ता बालबालिकाले उचित अभिभावकत्व नपाउँदा गलत सङ्गतमा फस्दै गएका छन् । दाहालका अनुसार विद्यालयमा पढ्ने उमेर समूहका बालबालिका साथीसङ्गतको लैलै र विभिन्न प्रलोभनमा परी धुम्रपानको लतमा फस्ने गरेको र बिस्तारै उक्त लत नै लागुपदार्थ सेवनसम्म पुग्ने गरेको छ ।

सीमा क्षेत्रका विद्यालयहरु लागुऔषधको प्रमुख जोखिममा रहेको लागुऔषध नियन्त्रणको क्षेत्रमा काम गर्दै आउनुभएका राजु गिरी बताउछन् । उनका अनुसार कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न पाउने छैन भनी सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा व्यवस्था गरिएको छ ।

नेपालको सीमासित जोडिएका भारतीय बजारहरुमा लागुपदार्थ सहजै उपलब्ध हुँदा नेपालतिर यसको कारोबार बढेको लागुपदार्थ प्रयोगकर्ता नै बताउने गरेका छन् । पुनर्जन्म पुनःस्थापना केन्द्रमा उपचार गराइरहेका लागुऔषध प्रयोगकर्ता मनिष गुरुङका अनुसार भारतीय सीमावर्ती बजारका पान पसल, चिया पसल जहाँ पनि लागुपदार्थ सहजै रुपमा पाइने गरेको छ ।

गुरुङका अनुसार भारतीय बजारमा एक ग्राम खेरौ हिरोइनको नेपाली मूल्य दुई हजार पाँच सयदेखि तीन हजार पर्दछ । उक्त एक ग्राम खैरो हिरोइन नेपाल भारत सीमा कटाई झापा जिल्लासम्म पु¥याउँदा छ हजारदेखि सात हजार नेपाली रुपैयाँ पर्न जान्छ । यसैगरी, एक ग्राम खैरो हिरोइन काठमाडौँलगायत सहरमा पु¥याउन सके रु १३ देखि १४ हजार किनबेच हुने गरेको गुरुङ बताउनुहुन्छ । खैरो हिरोइन सम्बन्धमा भारतमा फितलो कानुन रहेकाले सहज रुपमा नै सीमावर्ती भारतीय बजारहरुमा लागुऔषध उपलब्ध हुँदा नेपालतर्फ कारोबार बढेको लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाका प्रनानि लामिछाने बताउछन् ।

पुनःस्थापना केन्द्र थपिँदै
एक दशकअगाडि न्यून सङ्ख्यामा पुनःस्थापना केन्द्र रहेको झापामा पछिल्लो समय लागुऔषध दुव्र्यसनीहरुको सङ्ख्यामा वृद्धि भएसँगै पुनःस्थापना केन्द्रहरुको सङ्ख्या बढेको पुनर्जन्म समूह नेपालका सञ्चालक राजु गरीले जानकारी दिए । उनका अनुसार हाल झापा जिल्लाभर २६ पुरुष र तीनजना महिला लागुपदार्थका दुव्र्यसनीका लागि खोलिएका पुनःस्थापना केन्द्रहरु रहेका छन् । ती केन्द्रहरुमा लागुऔषध दुव्र्यसनीहरुको तीन महिनाको प्याकेजमा उपचार हुने गरेको छभने नौ सय ५० देखि एक हजार लागुपदार्थ दुव्र्यसनीले विभिन्न किसिमका परामर्शका साथै थेरापी लिने गरेको उहाँले जानकारी दिए ।

हाल झापाका १५ वटा स्थनीय तहमा पुनःस्थापना केन्द्रहरु खोलिएका छन् । पुनःस्थापना केन्द्रमा उपचार गराउने दुव्र्यसनीहरुमध्ये १५ देखि २० प्रतिशतमा पूर्ण रुपमा सुधार भएको लागुपदार्थ दुव्र्यसनको क्षेत्रमा काम गर्ने संस्थामा काम गर्ने सरोज श्रेष्ठ बताउछन् । उनका अनुसार हाल जिल्लामा लागुऔषधको दुव्र्यसनबाट पुनःस्थापितको सङ्ख्या एक हजार आठ सयदेखि दुई हजारसम्म रहेको छ ।

अबको बाटो
जसरी लागुपदार्थको प्रयोग र कारोबार बढ्दै गएको छ त्यसअनुसार नियन्त्रणका लागि जनशक्ति अभाव रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायब निरीक्षक लामिछानेले बताए । ‘हामीसँग पर्याप्त दक्ष जनशक्ति र लागुऔषधको मुद्दा चलाउने छुट्टै युनिट छैन । सातजनाको समूहले साबिक मेची अञ्चलका चारवटा जिल्ला हेर्नु परेको छ,’ उनले भने । लागुऔषध नियन्त्रण तथा रोकथाम गर्न दुव्र्यसनीको पहिचान गरी उनीहरुका लागि सचेतनामूलक कार्यक्रम गर्नाका साथै पुनःस्थापना केन्द्रमा राखी उपचार गराउनेजस्ता क्रियाकलाप गर्नुपर्ने स्थानीय समाजसेवी निर्मल पोखरेल बताउछन् ।

सीमावर्ती भारतीय बजारमा खुलेआम लागुपदार्थको कारोबार हुने गरेकाले त्यहाँको प्रशासनसँग आवश्यक समन्वय गरेर त्यसको आयातमा नियन्त्रण गर्नुपर्ने उनको सुझाव छ । झापाका स्थानीय तहहरुले लागुऔषध नियन्त्रणका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्था तथा विज्ञहरुसँग समन्वय गरी योजना बनाई यथाशीघ्र लाग्नुपर्ने सरोकारवालाहरुको धारणा रहेको छ ।

 

वि.सं.२०८१ असार १२ बुधवार १३:०५ मा प्रकाशित

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

काठमाडौंको पश्चिमी भेगमा अवस्थित चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित पवित्र विष्णुदेवीधाममा एक...

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकहरूले अब विभिन्न...

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...