काठमाडौं । सिटिजन्स क्यापिटल लि.को अध्यक्षमा संस्थाको संचालक सदस्य रहेका राजेन्द्र लाल श्रेष्ठलाई नियुक्ति गरेको छ । कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनल लि.को तर्फबाट मनोनित भई कम्पनीको अध्यक्ष रहेका पारस कुमार काफ्लेको असमायिक निधन भई रिक्त रहेको अध्यक्ष पदमा यहि असार १३ गते बसेको यस संस्थाको १२५ औं संचालक समितिको बैठकले संचालक सदस्य श्रेष्ठलाई नियुक्ति गरेको हो ।
साथै, उक्त बैठकले रिक्त रहेको संचालक पदका लागि मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनल लि.को तर्फबाट मनोनित भएका नारायण राज अधिकारीलाई संचालक पदमा नियुक्ति गरेको छ ।
उक्त बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनल लि.तर्फबाट अन्य संचालक प्रमेश राज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवाष खड्का, स्वतन्त्र संचालकहरु अभिजितमुल, ज्योत्सना बोहोरा पण्डेका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पानी सचिव रमेश लुईटेलको उपस्थिति रहेको थियो ।
नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको प्रर्वद्धन, धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूति कर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगीव्यवसायीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।
काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर)को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
वि.सं.२०८१ असार १४ शुक्रवार १४:१९ मा प्रकाशित



























