back
CTIZAN AD

करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन

वि.सं.२०८१ असार १४ शुक्रवार

912 

shares

गण्डकी । करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माण गरिएका छन् तर विमानस्थल चल्ने/नचल्ने कुनै टुङ्गो छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा रु दश करोड, पालुङटारमा रु सात करोड, बलेवामा रु १२ करोड र ढोरपाटन विमास्थलमा रु दुई करोड खर्च भएको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थलको धावनमार्ग कालोपत्र भएको एक दशक बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन । प्राधिकरणले विसं २०६९ मा रु नौ करोड खर्चेर हुम्डेमा धावनमार्ग कालोपत्र गरेको थियो ।

धावनमार्ग कालोपत्र भएपछि विसं २०७६ भदौमा समिट एयरको विमानले विमानस्थलमा परीक्षण उडान भरेको थियो । परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा आशावादी रहेका मनाङवासी अहिले भने निराश छन् । लाखौँ रकम खर्चेका हुम्डे विमानस्थल परीक्षण उडानमै सीमित रहेकामा सदरमुकाम चामेका पर्यटन व्यवसायी फुर्वा छिरिङ लामाले गुनासो गरे । ‘विसं २०३९ देखि २०६८ सम्म विमानस्थल नियमित चल्यो, अहिले बन्द अवस्थामा छ । यात्रुको अभाव भएर पनि नचलेको हुनसक्छ तर लगानी गरिसकेपछि त्यसको उपयोग त गर्नुपर्छ नि’, उनले भने ।

मनाङ पुग्ने अधिकांश पर्यटक पदयात्रामार्फत तिलिचो ताल र थोरङ भञ्ज्याङ हुँदै मुस्ताङतर्फ जाने गरेका छन् । मनाङमा सडक आउनुअघि स्थानीयवासी जहाजबाटै आवतजावत गर्ने गरेको लामाले बताए । विसं २०६९ मा मनाङ सदरमुकाम चामेमा सडक पुगेको थियो । सडक यातायातको सुविधापछि विमान चढ्ने यात्रु घटेको अनुमान गरिएको छ ।

बागलुङ नगरपालिका-१४ स्थित बलेवा विमानस्थल पनि नियमित उडानका लागि तयारी अवस्थामा छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन वर्षअघि रु आठ करोड २४ लाख खर्चेर विमानस्थलको धावनमार्ग कालोपत्र गरेको थियो । विसं २०२२ मा बनेको यो विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि विसं २०४८ मा बन्द भएको थियो । छब्बिस वर्षपछि विसं २०७४ चैत ९ गतेदेखि पुनःसञ्चालनमा ल्याइएकामा त्यसले पनि निरन्तरता पाउन सकेन, केही महिनापछि विमानस्थलमा उडान बन्द बन्द गरियो ।

त्योबेला नेपाल र तारा एयरलाइन्सको ट्विनअटर विमानले हप्ताको दुई दिन उडान भर्थे । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार व्यहोर्ने गरी नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र नगरपालिकाबीच सम्झौता भएको थियो । पछि यात्रु पनि घटेर नगरपालिकालाई आर्थिक बोझ थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको हो ।

विमान कम्पनीले सुरुमै बागलुङ-काठमाडौँको भाडादर ६५ सय तोकेपछि यात्रुले महँगो भएको गुनासो गरेका थिए । विमानस्थल पुग्ने सडक स्तरहीन हुनु र धावनमार्ग कालोपत्र नहुँदा पनि विमान सेवा नियमित सञ्चालन गर्नु चुनौतीपूर्ण थियो । अहिले धावनमार्ग कालोपत्र गरिएको भए पनि विमानस्थल बन्द छ भने अब कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने टुङ्गो छैन ।

प्राधिकरणले धावनमार्गको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइ कालोपत्र गरेको छ । जसमा साना तथा मझौला जहाजले उडान भर्न सक्छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले दुई वर्षअघि बलेवा विमानस्थलको स्थलगत अवलोकनसमेत गरेको थियो ।

धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको निचोड निकालेको थियो । परामर्शदाता समूहका प्रमुख डा जनकराज शाहले कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जनुसुकै बेला विमानस्थल सञ्चालनमा ल्याउन सकिने बताउनुभएको थियो । उनले सरकारले करोडौँ खर्च गरेर बनाएको विमानस्थललाई धेरै समय प्रयोगविहीन अवस्थामा राख्न नहुनेमा जोड दिएका थिए । नियमित विमान सेवाको सुनिश्चितता, भाडादर समायोजन र विमानस्थलसम्म पुग्ने सडकको पहुँच स्तरीय हुनसकेमा विमानस्थल चलाउन सकिनेमा स्थानीय जनप्रनिनिधि विश्वस्त छन् ।

बागलुङ-१ मालढुङ्गादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १० किमि सडक अहिले पनि कच्ची छ । सरकारले यसखण्डमा कालोपत्रका लागि ठेक्का प्रक्रिया सुरु गरे पनि कामले गति लिन सकेको छैन । बागलुङ-१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले विमानस्थल जोड्ने सडक स्तरीय नभएसम्म विमानस्थल चलाउन कठिनाई हुने बताए । ‘भर्खरै विमानस्थल सञ्चालन गरौँ भन्ने अवस्था छैन, पहिले त्यहाँ पुग्ने सडकलगायत अरु पूर्वाधार बनेपछि नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीलाई पनि भन्न सजिलो हुन्छ’, उनले भने ।

यो खण्डमा दश किमि कालोपत्र भएमा विमानस्थलसम्म राष्ट्रिय राजमार्गको सहज पहुँच पुग्छ । वडाध्यक्ष खत्रीले पहुँचमार्ग निर्माण र विमानस्थल सञ्चालनका लागि नगरमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइसकिएको बताए । बलेवा विमानस्थल चलेमा यस क्षेत्रको पर्यटन व्यवसाय उकासिनुका साथै आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

सरकारले भने आगामी आवको नीति तथा कार्यक्रममार्फत बलेवा, हुम्डेलगायत बन्द अवस्थामा रहेका विमानस्थललाई प्याराग्लाइडिङ, स्काइडाइभिङलगायत साहसिक खेलस्थलका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । गोरखाको पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले पालुङटार विमानस्थलको स्तरोन्नति गरी सञ्चालनमा ल्याउने योजना अलपत्र परेको बताए । ‘पालुङटार विमानस्थलाई हवाई तालिम केन्द्र या अन्य कुनै प्रयोजनमा लगाउनु उपयुक्त देखिन्छ, तत्कालै विमानस्थल सञ्चालनमा आउने सम्भावना देखिन्न’, उनले भने, ‘काठमाडौँ र पोखरा जोड्ने राजमार्गको स्तरोन्नति हुँदा यस क्षेत्रमा यातायात सेवा नै बढी प्रभावकारी हुने देखिन्छ ।’ मुग्लिन–पोखरा सडक अहिले चार लेनमा विस्तार भइरहेको छ । काठमाडौँ–मुग्लिन सडक पनि स्तरोन्नतिको चरणमा छ ।

सडक सुविधा नहुँदा यात्रु ओसारपसार र सामान ढुवानीका लागि प्रभावकारी बनेका विमानस्थल हाल प्रयोगविहीन छन् । विसं २०१८ मा सञ्चालनमा आएको पालुङटार विमानस्थल विसं २०३५ देखि बन्द अवस्थामा रहेको प्रमुख चिन्तनले जानकारी दिए । काठमाडौँ–पोखरा जोड्ने पृथ्वी राजमार्ग बनेपछि यो विमानस्थल बन्द हुन पुगेको उनको भनाइ छ । विमानस्थल सञ्चालनका लागि धावनमार्ग, घेराबारलगायत पूर्वाधारका काममा सरकारले करोडौँ लगानी गरे पनि सञ्चालनमा आउन सकेको छैन ।

देशको एकमात्र सिकार आरक्ष रहेको बागलुङको ढोरपाटन उपत्यकाको ढोरपाटन विमानस्थल पनि दशकौँदेखि बन्द अवस्थामा छ । विमानस्थलको धावनमार्ग गौचरणमा परिणत भएको छ । बर्सेनि वन्यजन्तु सिकारका लागि विदेशी हेलिकप्टरमार्फत ढोरपाटन पुग्ने गरेका छन् । सडक यातायात पुगेपछि पर्यटकको आवागमन सहज बनेको छ ।

वि.सं.२०८१ असार १४ शुक्रवार १४:४२ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...