निम्बतरु, अर्घाखाँची
यिनले पनि के के खेला झिक्छन्
खेला झिक्न सिपालु
खेलाउँछन्
खेलाउन सक्छन्
हाम्रो गाउँको सान्दाइ
सबैभन्दा झुर युगमा यो सही हो
उदासिनता खेलाले बिर्साइदिन्छ
नत्र त
काकाको लास फ्रिजमा छ
लासले अड्कलेको सन्तान कुरिरहेछ हप्तौं देखि
कामको व्यस्तताले भतिज फोकल्याण्डको टापुमा छ
सबैभन्दा बैरागी युगमा खेला हेर्न पाउनुपनि अहोभाग्य
नत्र त
केटाकेटी बोडर्स छन्
एउटा कोठाभित्र बहालमा आमाहरु बन्दी छन्
एउटा मोबाइलको सानो स्क्रिनमा आँखा जेलिएका छन्
बाउहरु खाडीमा उसिनिएर,बाफिएर
फतक्क गलेर घर फर्किदासम्म
ती यथावत रहदैनन्
सबैभन्दा आनन्दको संसारहरु ।
फर्क भन्न त सकिनन्
कि उतै लैजाउ कि वृद्धाश्रम छोड भनेकी हुन
एक हात चिहाम पनि तयार छैन
काली नदीमा सिधै हेलिन पनि सकिनन्
बजैको लास कोठामै छ
कामको व्यस्तताले घरमा आमा छिन् भन्ने पनि हेक्का भएन
विदेश ! विदेश !
जिलो पनि भुटिने भयो
मान्छे त शिला खोज्नु पर्ने भयो
अनिकालमा बीउ खोज्नु जस्तै ।
सान्दाई छन्
छन् सान्दाई
धन्न गाउँमा
वि.सं.२०८१ असार १५ शनिवार ०७:५४ मा प्रकाशित






























