back
CTIZAN AD

साउनको पहिलो सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो

वि.सं.२०८१ साउन ७ सोमवार

942 

shares

काठमाडौँ । साउनको पहिलो सोमबार आज देशभरका शिवालयमा भक्तजनले पूजाआजा गरिरहेका छन् । आज बहानैदेखि शिवालयमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो लागेको छ ।

काठमाडौँमा पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्ने क्रम जारी छ । हिन्दु धर्म मान्ने महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गरेका छन् । उनीहरु निराहार ब्रत बसेर भगवान शिवको पूजा अराधना गर्ने गर्छन् ।

पशुपतिनाथमा भक्तजनका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए । पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएका छन् । पशुपतिनाथका साथै ललितपुरको कुम्भेश्वर मन्दिरमा समेत दर्शनार्थीले पूजाआजा गरेका छन् ।

देवघाटमा भक्तजनको घुइँचो

चितवन ः पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार बोलबम नुहाउन आउनेको सङ्ख्या उल्लेख्य छ ।

उनले भने, “दिनभर करिब ३५ हजार भक्तजन आउने अनुमान गरेका छौँ ।” हालै त्रिशूली नदीमा दुई बससहित यात्रु बेपत्ता भएका तथा वर्षा जारी रहेका कारणले भक्तजनको सङ्ख्यामा कमी आएको कार्यकारी निर्देशक बरालले बताए । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटमा हरेक वर्ष साउन महिनाको सोमबार भक्तजन स्नानका लागि आउने गरेका छन् ।

बागलुङका शिवालयमा बिहानैदेखि पूजाआजा

गलेश्वर (म्याग्दी) ः साउनको पहिलो सोमबार आज बागलुङका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । बेनी नगरपालिका–९ स्थित गलेश्वरमा दर्शनार्थीको उल्लेख सहभागिता रहेको छ । मुक्तिनाथको प्रवेशद्वारका रूपमा रहेको गलेश्वरधाममा पूजाआजाको विशेष प्रबन्ध मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए । गलेश्वरमा साउन महिनाको सोमबार, शिवरात्रि र बालाचर्तुदशीमा विशेष मेला लाग्छ ।

बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा पनि बिहानदेखि भक्तजनले पूजाआजा गरिरहेका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर जिसीले जानकारी दिए । यस्तै काठेखोला गाउँपालिका–७ को ओदानेश्वर महादेव मन्दिर, बागलुङ नगरपालिका–९ को तित्याङ शिवालय मन्दिरमा समेत भक्तजनले पूजाआजा गरिरहेका छन् । यस्तै काठखोला–५ रामकोटधाममा रहेको त्रिपुरेश्वर महादेव मन्दिर र गलकोट नगरपालिका–७ मल्मस्थित सिद्वेश्वर शिवालय मन्दिरमा पनि साउने सोमबारमा विशेष पूजाआजा भइरहेको छ ।

झापाका शिवालयमा जलार्पण
झापा, ७ साउन ः झापाका विभिन्न शिवालयमा भक्तजनले बिहानैदेखि जलार्पण गरेका छन् । अर्जुनधारा जलेश्वरधाम, शिवसताक्षी नगरपालिकामा रहेको सताक्षीधाम, मेचीनगरमा रहेको कृष्णथुम्की, महाकालेश्वर, पातलगङ्गा, ऊँकारेश्वर, कनकाई धामलगायत मन्दिरमा जलार्पण गर्ने भक्तजनको घुइँचो लागेको छ । भक्तजनका लागि विभिन्न सङ्घसंस्थासितको सहकार्यमा पानी, सर्वत, सातु, प्रसाद आदिको व्यवस्था गरिएको अर्जुनधारा धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताए ।

साउने सोमबारी मेला
महोत्तरी ः साउन महिनाको पहिलो सोमबार आज मिथिलाक्षेत्रका शिवालय भरिभराउ छन् । महोत्तरीको बर्दिबास नगरपालिका–५ टुटेश्वरनाथ मन्दिर क्षेत्रमा आज बिहानैदेखि शिवको दर्शन गर्न आउने भक्तजनको घुइँचो लागेको छ । मिथिलामा सौरमास र चन्द्रमास दुवैभित्र परेको साउने सोमबारको खास महत्व हुन्छ ।

मेला व्यवस्थापन समितिका अध्यक्ष एवं बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वाका अनुसार टुटेश्वरनाथ साउने मेलाको मुख्य संयोजन यसपालिदेखि बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रबद्र्धन समितिले गर्न थालेको छ । जिल्लाका प्रसिद्ध शिवालय जलेश्वरस्थित जलेश्वरनाथ, भङ्गाहा–५ स्थित सिद्धनाथ महादेव मन्दिर, मगरथानास्थित मङ्गलनाथ महादेव मन्दिर र बर्दिबास–३ राइमण्डलधामस्थित इन्द्रेश्वरनाथ महादेव मन्दिरमा पनि भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ ।

यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले टुटेश्वरनाथ महादेव मन्दिरको पूर्वाधार विकास र प्रचारप्रसारबाट स्थानीय अर्थतन्त्र मजबुत बनाउन सकिने बताएका छन् । टुटेश्वरनाथ महादेवको पूजाअर्चनापछि उनले मन्दिरमा आन्तरिक पर्यटकको आकर्षण बढाउन सके स्थानीयको जीविकोपार्जनमा सघाउ पुग्ने उल्लेख गरे ।

पश्चिमको बागमती र पूर्वको कमलाको जलार्पण हुने टुटेश्वरनाथ महादेव मन्दिरको बेग्लै साँस्कृतिक महत्व रहेको मुख्यमन्त्री सिंहले उल्लेख गर्दै शिवालयको प्रवद्र्धनका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरे काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा उनलाई बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीले मन्दिरको बारेमा जानकारी गराएका थिए ।

पिण्डेश्वरमा बोलबम मेला

धरान (सुनसरी) ः धरान उपमहानगरपालिका–१४ पिण्डेश्वरमा यही साउन १ गतेदेखि बोलबम मेला आयोजना गरिएको छ । पहिलो सोमबार आज बिहानैदेखि यहाँ जल चढाउन आउने भक्तजनको घुइँचो लागेको छ । पिण्डेश्वर मन्दिरमा सप्तकोशी नदीको सङ्गमस्थलबाट ल्याएको जल ल्याएर चढाउने गरिन्छ । यहाँ भक्तजनले बिहान ३ बजेदेखि नै जल चढाउन थालेका थिए ।

बोलबम मेला भर्न आउने भक्तजनको सङ्ख्या बर्सेनी बढ्दै गएको पिण्डेश्वर बाबाधाम समितिका कोषाध्यक्ष पञ्कज घिमिरेले बताए । पिण्डेश्वरमा २०३९ सालदेखि सप्तकोशीको पानी ल्याएर जल चढाउने परम्परा छ । एक महिनासम्म सञ्चालन हुने मेलामा करिब तीन लाख भक्तजन सहभागी हुने अनुमान गरिएको समितिले जनाएको छ ।

 

वि.सं.२०८१ साउन ७ सोमवार १४:१९ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको...

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई...

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

महेन्द्रनगर । सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न...

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन...

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...