हृषीकेश बराल
पोखरा –२६, कास्की
नेपालीको,परिचय दिने, देशमा जन्म पाएँ
मेरी आमा, अवनितल यो, भन्न पाई रमाएँ ।
मैले टेक्ने, हर कदममा, स्नेहले साथ दिन्छ्यौ
मैले पीडा, यदि दिन पुगे, पुत्र सम्झी सहन्छ्यौ ।।१
होचा अग्ला, हिमशिखरले, रूप तिम्रो चिनाए
बेंसी गल्छी, समथर जिमी, मातृवत् पुज्न पाएँ ।
हावा माटो, जल रवि सबै, साथमा देख्छु आमा
तिम्रो मायाँ, अविरल हुँदा, बाँच्नमा हुन्न धामा ।।२
भोकालाई, रसद गुलियो, अन्न बाली दिलायौ
टारी बारी, जउ गहुँ उवा, धान कोदो फलायौ ।
अम्बा केरा, कटहर लिची, आँप फल्छन् तिमीमैं
खाई हुर्केँ, उपज जति हून्, स्वेद सिञ्चेँ तिमीमैं ।।३
मायाँ गर्छ्यौ, तनुज तनुजा,गर्दिनौ भेदभाव
सारा पाल्छ्यौ, अति जतनले, धन्य तिम्रो स्वभाव ।
दिन्छ्यौ सारा, तरु वन तिमी, ओखती बन्न सक्ने
झर्ना खोला, दह नद नदी, शक्ति ऊर्जा बदल्ने ।।४
जन्मे तिम्रा, सुत विगतमा, वीरगाथा रचाए
वैरीलाई, रण कुशलले, युद्ध जित्तै हराए ।
यस्तै योद्धा, अझ पनि तिमी,जन्म देऊ न आमा
छोराछोरी, असल मतिले, बन्न सक्छ्यौ त्रिधामा ।।५
जन्मेँ आमा, अपशकुनमा, पुत्र उद्योग बेच्ने
तिम्रै हड्डी, मुटु रगतमा, मस्तले रम्न खोज्ने ।
बिग्र्यो मेरो, मति किन मुमा, ज्ञान देऊ मलाई
मेरा सारा, मति विपतका, गाडिदेऊ जलाई ।।६
छन्द : मन्दाक्रान्ता
गण :म भ न त त गु गु
सङ्केत :SSS Sll lll SSl SSl S S
वि.सं.२०८१ साउन १९ शनिवार ०५:३९ मा प्रकाशित






























