ढाका । प्रधानमन्त्री शेख हसिनाको सरकारले प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको विरोधमा विद्यार्थी नेताहरूले शनिबार देशव्यापी नागरिक अवज्ञा अभियानको घोषणा गरेका छन् ।
देशव्यापी नागरिक अवज्ञा अभियानका आइतबारदेखि शुरू गर्ने उनीहरूले जनाएका छन् ।
गत महिनालाई प्रधानमन्त्री हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा हिंसा भएको महिनाका रूपमा हेरिएको छ । निजामती सेवामा आरक्षणको विरोधमा गरिएको आन्दोलनका क्रममा २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।
केही समयका लागि सैनिक तैनाथीले सुव्यवस्था कायम गरेपनि मुस्लिम बहुल राष्ट्र बङ्गलादेशमा नमाज प्रार्थनापछि ठूलो सङ्ख्यामा भीड सडकमा उत्रिएको थियो र सरकारलाई थप सहुलियतका लागि दबाब दिन विद्यार्थी नेताहरूले अवज्ञा आन्दोलनमा व्यापक सहभागिता जनाउन आग्रह गरेका छन् ।
प्रारम्भिक विरोध प्रदर्शनको आयोजना गर्ने समूह ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ले समर्थक तथा शुभचिन्तकलाई आइतबारदेखि देशव्यापीरूपमा असहयोग आन्दोलन सुरु गर्न आग्रह गरेको हो ।
समूहका असिफ महमुदले एएफपीसँग भने, “कर र युटिलिटी बिल नतिर्ने, सरकारी कर्मचारी पनि हडताल सहभागी हुने र बैङ्कहरूमार्फत विदेशी रेमिटेन्स भुक्तानी रोक्नेजस्ता माग समावेश गरिएको छ ।
विद्यार्थीहरूले गत महिना भएको हिंसाका लागि हसिनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र उनका केही मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने माग गरिरहेका छन् ।
उनीहरूले आन्दोलनलाई कारण देखाउँदै सरकारले बन्द गरेका देशभरका विद्यालय र विश्वविद्यालयहरू तत्काल पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री हसिना सरकारको विरोध गर्दै सडकमा भीड अझै बढेको छ ।
शनिबार राजधानी ढाकामा भएको प्रदर्शनहरूमध्ये एक स्थानबाट एएफपीसँग २० वर्षीया निजुम यास्मिनले भनिन्, “हामीलाई यो ‘अधिनायकवादी’ सरकारको खाँचो छैन ।”
उनले भनिन् , “के हामीले प्रशासनद्वारा हाम्रा भाइबहिनीहरूलाई गोली हानेर मारेको हेर्न देशलाई स्वतन्त्र बनाएका हौँं?”
यो असहयोग रणनीति सन् १९७१ मा पाकिस्तानविरुद्ध बङ्गलादेशको मुक्ति सङ्ग्रामको क्रममा गरिएको ऐतिहासिक नागरिक अवज्ञा अभियानसँग मेल खान्छ ।
उक्त आन्दोलनको नेतृत्व प्रधानमन्त्री हसिनाका पिता शेख मुजिबुर रहमानले गरेका थिए । उनी देशको स्वतन्त्रताका लागि लडेका एक नेता थिए । यसलाई बङ्गलादेशीहरूले निरङ्कुशताविरुद्धको गर्वपूर्ण लडाइँको एक भागको रूपमा सम्झन्छन् ।
इलिनोइस स्टेट युनिभर्सिटीका राजनीतिशास्त्रका प्राध्यापक अली रियाजले एएफपीसँग भने, “अब आन्दोलनको तालिका बदलिएको छ ।”
उनले भने, “शासनको जग हल्लिएको छ, अजेयताको आभा हराएको छ । के हसिना निकास खोज्न तयार हुनुहुन्छ वा अन्तिमसम्म लड्न तयार हुनुहुन्छ भन्ने सवाल प्रमुख बनेर आएको छ ।”
उनका प्रेस सचिव नायमुल इस्लाम खानले एएफपीलाई बताएअनुसार प्रधानमन्त्रीले शनिबार विद्यार्थीहरूको माग सम्बोधन गर्न ‘बिनाशर्त वार्ता’ गर्ने प्रस्ताव गरेकी छन् ।
खानले भने, “प्रधानमन्त्री हसिना विद्यार्थीहरूसँग वार्तामा बस्न तयार हुनुहुन्छ । उहाँ थप द्वन्द्व नहोस् भन्ने पक्षमा हुनुहुन्छ ।”
महमुदले एएफपीसँग कुरा गर्दै विद्यार्थीहरूले उक्त प्रस्ताव अस्वीकार गरेको बताए ।
सन् २००९ देखि बङ्गलादेशमा शासन गर्दै आएकी ७६ वर्षीया हसिनाले गत जनवरीमा भएको निर्वाचनबाट लगातार चौँथो कार्यकालका आफुलाई अनुमोदित गरेकी थिइन् । यद्यपि, निर्वाचनमा वास्तविक विपक्षीहरूको सहभागिता रहेको थिएन ।
हसिना सरकारमाथि अधिकारवादी समूहहरूले राज्यका संस्थाहरूको दुरुपयोग गरी सत्तामा आफ्नो पकड बलियो बनाउन र विपक्षी कार्यकर्ताहरूको गैरन्यायिक हत्यालगायत असहमतिलाई निस्तेज पार्न प्रयोग गरेको आरोप लगाउँदै आएका छन् ।
बङ्गलादेशको सर्वोच्च अदालतले आधाभन्दा बढी सरकारी जागिर निश्चित समूहका लागि आरक्षित गरेको कोटा योजनालाई पुनः लागू गरेको विरोधमा जुलाईको सुरुमा प्रदर्शन सुरु भएको थियो ।
सरकारी आँकडाअनुसार करिब एक करोड ८० लाख युवा बङ्गलादेशीहरू बेरोजगार छन् र यो कदमले गम्भीर रोजगारी सङ्कटको सामना गरिरहेका स्नातकहरूलाई निराश बनाएको छ ।
प्रहरी र सरकार समर्थित विद्यार्थी समूहहरूले प्रदर्शनकारीहरूमाथि आक्रमण नगरेसम्म प्रदर्शनहरू धेरै हदसम्म शान्तिपूर्ण थिए ।
सरकारले अन्ततः राष्ट्रव्यापी कफ्र्यू लगायो, सेना परिचालन ग¥यो र देशको मोबाइल इन्टरनेट नेटवर्क ११ दिनका लागि बन्द ग¥यो ।
युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलले यसै साता ‘प्रदर्शनकारीविरुद्ध अत्यधिक र घातक शक्ति’ को प्रयोग भएको भन्दै अन्तर्राष्ट्रिय छानबिनको माग गरेका थिए ।
गृहमन्त्री असदुज्जमान खानले गत साता पत्रकारसँग कुरा गर्दै सुरक्षा फौजले संयमताका साथ काम गरिरहेको तर सरकारी भवनको रक्षाका लागि ‘गोली चलाउन बाध्य भएको’ बताएका थिए ।
३२ बालबालिकाको मृत्यु
संयुक्त राष्ट्रसङ्घीय (युनिसेफ) का अनुसार बङ्गलादेशमा आरक्षणको विरोधमा विद्यार्थीले गरेको प्रदर्शनका क्रममा कम्तीमा ३२ बालबालिकाको मृत्यु भएको छ ।
युनिसेफका एक प्रवक्ताका अनुसार मारिएका मध्ये एकजना पाँच वर्षको पनि नभएको बताइएको छ । मारिनेमध्ये अधिकांशले विरोध प्रदर्शन हेरिरहेका थिए ।
युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक सञ्जय विजेसेकराले यसै साता आफ्नो बङ्गलादेश भ्रमणका क्रममा धेरै बालबालिकालाई हिरासतमा राखिएकोबारे आफूलाई जानकारी गराइएको र ३२ बालबालिकाको मृत्यु भएको पुष्टि गरे । (रासस÷एएफपी
वि.सं.२०८१ साउन २० आइतवार ०८:२१ मा प्रकाशित






























