स्याङ्जा । मानव जीवन रक्षाका लागि रैथाने बालीको अभूतपूर्व महत्त्व भएपनि पछिल्लो समय नेपालका रैथाने बाली लोपोन्मुख अवस्थामा पुगेको छ । कतिपय रैथाने बाली लोप भइसकेका छन् । रैथाने बालीले जलवायु परिवर्तनको दुष्प्रभाव थेग्न महत्त्वपूर्ण भूमिका खेल्छ । भरिपूर्ण पोषण, कम पानीमा फस्टाउने, खाद्य सुरक्षासँगै आर्थिक उपार्जनमा समेत मद्दत पुर्याउने भएकाले रैथाने बालीको संरक्षण, विकास र विस्तार गर्न आवश्यक छ ।
स्थानीय कृषकले परापूर्व कालदेखि परम्परागत रूपमा खेती गरी संरक्षण गर्दै आएका बालीलाई सामान्य भाषामा रैथाने बाली भनिन्छ । नेपालका हिमाल, पहाड र तराइमा आफ्नै विशेषताका रैथाने बालीहरू छन् । कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे, गहत, गहते, बोडी, जुम्लाको मार्सी, मार्फाको रायो, काठमाडौँको लप्सी, झापाको बासमती आदी जात नेपालका प्रमुख रैथाने हुन् ।
नेपालका अन्नबालीलाई मुख्य, सहायक र दुर्लभ गरी तीन भागमा बाँडेर अध्ययन गर्न सकिन्छ । मुख्य बालीमा धान, मकै, गहुँ पर्छन् भने सहायक बालीमा फापर, कोदो, कागुनो पर्छन् । त्यस्तै, धान कोदो, घोगे आदि दुर्लभ बाली हुन् । नेपालमा क्षेत्रफल र उत्पादनका दृष्टिले सबैभन्दा धेरै खेती हुने बाली क्रमशः धान, मकै, गहुँ र कोदो छन् । मध्य तथा उच्च पहाडको लगभग तीन लाख ५० हजार हेक्टर क्षेत्रफलमा खेती हुने कोदो, फापर, कागुनो, उवा, जौ, लट्टे हुन । करिब ३० वर्ष अघिसम्म यी बाली खाद्य सुरक्षाका मुख्य आधार थिए ।
खाद्य सुरक्षाको महत्त्वपूर्ण आधार मानिने रैथाने बालीलाई कर्णाली प्रदेश सरकारले पहिचानका रूपमा स्थापित गर्न खोजेको छ । कोदो, कागुनो, चिनो, जौ, उवा, लट्टे, फापर, जुनेलो, किमो, सिस्नो, भटमास, लहरे मास, सिमी, ताम्के धान, डाँडा मसुली, ठुलो मसुली, गुडे धान, मार्से धान, कालो गोधे, मुडुले गहुँ आदी कर्णाली प्रदेशका रैथाने बाली हुन् । यी मध्ये गुडे धान, लहरे मास, गहत, कालो भटमास, खैरो भटमास लोपोन्मुख अवस्थामा पुगेका छन् । भट्टे धान लोप भइसकेको छ ।
कर्णाली प्रदेशमा रैथाने बालीको उत्पादन र क्षेत्र ठ्याक्के भन्न सकिने अवस्था छैन । तर, यो प्रदेशको ६५ प्रतिशत भूभागमा रैथाने बाली लगाइँदै आएको छ । कर्णालीका पाँच जिल्ला ७५ प्रतिशत स्थानीय उत्पादनले ढाकेको छ । तल्लो भेगका जिल्लाहरूमा २५/३० प्रतिशत रैथानेको बाहुल्यता छ । सुर्खेत सल्यान, रुकुम पश्चिम र दैलेखमा उन्नत किसिमका धान, गहुँ र मकैका जातहरूको समेत विकास भएको छ ।
रैथाने बालीको महत्त्व
संसारमा अस्पताल र डाक्टरहरूको सङ्ख्या दिनप्रतिदिन थपिँदै गइरहेको छ । तर, रोगीहरूको सङ्ख्या झनझन वृद्धि हुँदै गइरहेको छ । यसको प्रमुख कारण गलत खानपान र अव्यवस्थित जीवनशैली हो । रैथाने उत्पादन र अर्ग्यानिक खानेकुरा छोडेर हाइब्रिड, रसायनयुक्त खाना खाँदा मानिसहरू नसर्ने रोगहरूको सिकार बन्नुपरेको छ ।
रैथाने बालीको उत्पादन र प्रयोग बढाउँदै जानसके यसले वातावरण सन्तुलनमा राम्रो भूमिका खेल्छ । रैथाने अन्नबालीमा भरपुर पोषणत्व हुनाले मानिसलाई आवश्यक पोषकतात्वको परिपूर्ति गर्दछ । रैथाने बालीले प्रतिकुल हावापानी, मौसम र वातावरण सहन सक्ने भएकाले विषयम् मौसममा पनि उत्पादन लिन सकिन्छ । यही विशेषताका कारण रैथाने बालीलाई खाद्य सुरक्षाको महत्त्वपूर्ण कडीका रूपमा लिने गरिन्छ ।
पछिल्लो समय युवाहरूको विदेश पलायन हेर्दा निक्कै उराठ लाग्दो परिस्थिति देखिन्छ । रैथाने बालीको विस्तार र प्रयोग बढाउँदै लगेको खण्डमा पलायन भएका युवालाई स्वदेशमै रोक्न सकिन्छ । अन्तर्राष्ट्रिय बजारमा रैथाने बालीको महत्त्व उजागर गर्न सकेमा नेपालमा रैथाने बाली उत्पादक कृषक र व्यापारीको सङ्ख्या बढाएर धेरैलाई रोजगारमा जोड्न सकिन्छ ।
जलवायु परिवर्तनसँग जुध्न सक्ने र बदलिँदो जलवायु परिवर्तनको जोखिमलाई रैथाने बालीले न्यूनीकरण गर्न मद्दत गर्छ । अर्कोतर्फ परम्परागत रूपमा खेती हुने रैथाने बालीले खाद्य शृङ्खला कायम राख्न सहयोग पुर्याउछ। कर्णाली प्रदेशलाई रैथाने बाली उत्पादनको क्षेत्रका रूपमा विश्व बजारमा चिनाउन सकिन्छ ।
कर्णालीको अर्ग्यानिक पहिचान
अर्ग्यानिक प्रदेशका रूपमा स्थापित गर्न कर्णाली प्रदेश सरकारले नीति नै बनाएर अगाडि बढेको छ । यहाँ विश्व बजारमा कर्णालीको पहिचान बनाउन उत्पादन, बजारीकरण र प्रवर्द्धनका लागि ‘मूल्यवान् कर्णाली किसानका सम्पदा’ कार्यक्रममार्फत रैथाने बाली संरक्षण गरिँदै आएको छ ।
कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका प्रमुख चित्र रोकायका अनुसार यो प्रदेशले रैथाने बाली उपयोग गर्न प्रेरित गरेर आफ्ना नागरिकलाई कुपोषण हुनबाट जोगाउने लक्ष्य लिएको छ । उनले भरपुर पोषक तत्त्व पाइने रैथाने बाली प्रयोग नभएर खेरा फालिरहेको अवस्थामा यसको महत्त्व बुझाउन प्रदेश सरकार लागि परेको बताए ।
‘रैथाने बालीको उत्पादन र उत्पादकत्व बढाएर खेतीमा व्यापक परिवर्तन गर्ने, मानवको खाने बानीमा परिवर्तन ल्याउने गरी काम अगाडि बढाइएको छ ।’ प्रमुख रोकायले भने, ‘कर्णालीलाई चिनाउने रैथाने बालीले हो । कम फल्छ तर, मूल्य बढी छ । कर्णालीले भ्यालु बेच्छ तर परिमाण होइन । यो नारालाई सफल बनाउन रैथाने बालीको उत्पादन जरुरी छ ।’
उनले रैथाने बाली उत्पादनमा जोड दिने, रैथाने बालीमा आधारित उद्योग खोल्ने, कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग व्यापार सम्बन्धी सम्झौता गरी स्थानीय खाद्यान्नलाई किन्ने र प्रशोधन गरेर बाहिर निर्यात गर्ने, मिल, स्कुलमा खाद्य बस्तु पु¥याउने लगायतका काम सञ्चालनमा रहेको बताए ।
प्राङ्गारिक कृषिको आधार
प्रदेश सरकारले प्राङ्गारिक कृषिको लागि आधार तयार गर्न विभिन्न कार्यक्रम तथा योजना तर्जुमा गरेर अगाडि बढेको छ । प्राङ्गारिक कृषिलाई प्रवर्द्धन गर्न अर्ग्यानिक नमुना गाउँ कार्यक्रम, सहकारी नमुना गाउँ, गरिब लक्षित उत्पादन कार्यक्रम सञ्चालन भइरहेको छ ।
हाल लेवलिङ, प्याकेजिङ् लगायतका काम भएको छ भने, होमस्टे सञ्चालनमा लगानी भएको छ । रैथाने बालीको बिउ उत्पादन, संरक्षण, प्रवर्द्धन र उत्पादित बिउलाई संरक्षण गर्ने कार्यक्रम सञ्चालनमा छ । कर्णालीको रैथाने बालीको अभिलेख राख्न सङ्घीय उद्योग मन्त्रालयमा पत्राचार गरिएको छ ।
कर्णालीमा मूल्यवान् लोगो अङ्कित हरेक अर्ग्यानिक बस्तु लेवलिङ प्याकेजिङ गरेर विक्रीका लागि पठाउने गरिएको छ । सम्बन्धीत निकाय र मन्त्रालय मातहतका मूल्यवान् लोगो अनुसारको कार्यक्रम कार्यान्वयन ल्याउन निर्देशक समिति बनाएर काम भएको छ ।
यहाँका कृषि उपजमा गुणस्तरलाई कायम राख्दै कर्णालीको पहिचानका रूपमा विश्व बजारमा चिनाउन कृषक लक्षित काम भइरहेको छ । सुर्खेतको विमानस्थल नजिक कोसेली गृहका रूपमा चन्द्रनाथ बहुउद्देश्यीय सहकारीले व्यापार गरेको छ । कर्णालीका प्रत्येक जिल्लामा कुनै न कुनै अर्ग्यानिक पसल छन् । अर्ग्यानिक पसल सुर्खेतमा मात्र करिब ३५ वटा भन्दा धेरै छन् ।
जलवायु परिवर्तनको प्रभाव
निर्देशनालयका प्रमुख रोकायले कर्णालीलाई अन्य प्रदेशका तुलनामा जलवायु परिवर्तनको हिसाबले संवेदनशील प्रदेशका रूपमा लिइने बताए । ‘परम्परागत रूपमा बाली लगाउँदा सुख्खा, हिउँ, तुसारो, असिना, वर्षा सहन सक्ने हुन्छ । जुम्लाको गहुँ हिउँ परेपछि मात्र उम्रिन्छ । यहाँका स्याउहरू पनि रैथानेमै पर्छन् । यहाँको विशेष हावा पानीमा मात्र तिनीहरू हुर्कन्छ र उत्पादन दिन्छन् ।’ उनले भने, ‘ठाउँ विशेष विभिन्न किसिमका बालीहरू उत्पादन हुने भौगोलिक विविधतापूर्ण कर्णाली प्रदेश हो । चिनो, कागुनो, उवा, फापर माथिल्लो भागमा पाइन्छ भने सखरखण्ड, लहरे मास, सिस्नो, भटमास, धान गहुँ, जौ मकै, कोदो तल्लो भेगमा पाइन्छ ।’
‘सल्यानको मालनेटामा अदुवा लगाउँदा रेसा हुँदैन । तर, त्यही अदुवाको बिउ अन्य ठाउँमा लगाउँदा रेसा हुन्छ । यो हावापानी अनुसार हुने जात हो । कर्णालीमा थुप्रै किसिमका तरकारीका जातहरू छन् । डोल्पा स्नेही बन्दाको जात हो ।’ रावतले थपे, ‘कतिपय ठाउँमा हुने पेडालु कर्णालीको महत्त्वपूर्ण बाली हो । यसले चामलको आयात परिपूर्ति गर्न भूमिका खेल्छ । आलु कर्णालीको दश वटै जिल्लामा १२ महिना फल्छ । यहाँ आलुको उत्पादकत्व अन्य प्रदेशमा भन्दा बढी छ ।’
उनका अनुसार कर्णाली प्रदेशमा जलवायु परिवर्तनको प्रभाव निक्कै छ । ‘चिसो तापक्रम र चिस्यानमा रैथाने बाली हुन्थ्यो । अहिलेको तापक्रममा बालीको उचित वृद्धि विकास हुन गाह्रो छ । उपयुक्त तापक्रम मिलेको छैन ।’ प्रमुख रावतले भने, ‘तल्लो भेगमा फल्ने बाली बिस्तारै माथिल्लो भेगमा फल्न थालेका छन् । तापक्रम बढी हुने बित्तिकै उत्पादन कम हुन्छ । बढी रहेको जलवायु परिवर्तनकाबिच बालीहरूले सङ्घर्ष गरिरहेका छन् ।’
उनले जलवायु परिवर्तनका कारण कर्णाली प्रदेशमा पानीका मुहान सुक्ने, बेमौसमी वर्षा हुने, आँधी, हावा हुरी, असिना आदीले बाली समयमा छर्न, टिप्न र काट्न नपाउने अवस्था सिर्जना भएको बताए । प्रमुख रावतले भने, ‘गएको वर्ष एक्कासि ठुलो पानी पर्यो । जुम्लाको १० हेक्टर क्षेत्रफलमा फलेको धान सबै सखाप भयो । सुर्खेतमा धान काट्ने बेला पानी परेर अधिकांश किसानले लगाएको धानको बोटमै टुसा उम्रियो ।’
किसानको आकर्षण
खेती प्रणालीमा भएको विकास, बजारीकरणमा भएको सहजता, स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारका विभिन्न कार्यक्रमहरूले कर्णाली प्रदेशका किसानलाई रैथाने बाली उत्पादनतर्फ आकर्षित गरेको छ । माथिल्लो भेगको तुलनामा भने तल्लो क्षेत्रमा रैथाने बालीको आकर्षण त्यत्ति देखिँदैन । यद्यपि तल्लो भेगका कतिपय किसान भने रैथाने बाली संरक्षणमा लागेका छन् ।
रैथाने बाली संरक्षण र विस्तारमा उदाहरणीय बनेका कृषक हुन्, दुर्गा कोट नगरपालिका–७, सुर्खेतका ४२ वर्षीय चन्द्र ओझा । उनले परम्परागत रूपमा लगाइँदै आएका रैथाने बाली तिल, कालो मास, मार्सी धान, गहत लगायतको बिउ उत्पादन गरेर विक्री गर्दै आएका छन् । यसका अलावा ओझाले मूला, रायो, गहुँ लगायतका बाली पनि लगाउँदै आएका छन् ।
बिउ विक्रीबाट वार्षिक रूपमा पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका उनले उत्पादित गर्न सकेमा बजारीकरणमा समस्या नहुने अनुभव सुनाउँछन् । ‘परम्परागत रूपमा बाउ बाजेले गर्दै आएको बाली संरक्षण गर्ने उद्देश्यले बिउ उत्पादन गर्दै आएको छु ।’ ओझाले भने, ‘हाइब्रिड बाली लगाएका किसानले ठुलो घाटा बेहोर्नु परेको सुनेको छु । तर, रैथाने बालीमा मौसममा आएको परिवर्तनले हत्तपत्त असर नगर्ने हुनाले किसानले धोका खानुपर्दैन ।’
उनले रैथाने बाली लगाउने कृषकलाई सरकारको सहयोग पर्याप्त नभएको बताए । ‘रैथाने बाली लगाउने किसानलाई बिउ, मल र बजारीकरणमा राज्यले हेर्नुपर्छ ।’ ओझाले थपे, ‘अनुदान दिँदा पहुँच भएका र टाठा बाठालाई होइन कि ओझेलमा परेका मेहनती र इमानदार किसानलाई उत्पादनमा आधारित रहेर दिनुपर्छ ।’ ओझाको गाउँमा अन्य करिब १५ परिवारले रैथाने बाली लगाउँदै आएका छन् ।
यस्तै वीरेन्द्रनगर नगरपालिका-३, इटौरा सुर्खेतकी ३३ वर्षीय मेनुका बिसी चौधरी पनि रैथाने बाली संरक्षणमा सक्रिय छिन् । उनले स्थानीय रैथाने जात ठुलो मसुली धान खेती गर्दै आएकी छन् । अर्काको जमिनमा अधियामा धान खेती गर्दै आएकी मेनुकाको छ जना परिवार मध्ये तीन जना कृषि पेसामा आबद्ध छन् । ‘वार्षिक रूपमा ४० देखि ५० मुरी सम्म हामीले धान उत्पादन गर्छौँ ।’ मेनुले भनिन्, ‘हाइब्रिडको तुलनामा उत्पादन नभएपनि खाँदा मिठो हुने हुँदा सजिलै विक्री हुन्छ ।’
मेनुकाका ३६ वर्षीय श्रीमान् पदम चौधरी जागिरे हुन् । उनका दुई छोराछोरी स्कुले हुन् । ५० वर्षीय सासू मिना र ५५ वर्षीय ससुरा कर्णबहादुर उनीसँगै कृषि पेसामा आबद्ध छन् । ‘हाम्रो जमिन छैन । अर्काको जमिनमा अधिया धान खेती गर्दै आएका छौँ । प्रशस्त घरमा खान पुगेरपनि हामीले बेच्ने गरेका छौँ ।’ मेनुकाले थपिन्, ‘धान किन्न घरमै ग्राहक आउँछन् । यो वर्ष उत्पादन भएको धान विक्री गरेका छैनौँ । दसैँ तिहारमा राम्रो मूल्य पाउने भएकाले त्यतिबेलै बिक्री गर्छौँ ।’
बाली संरक्षणमा स्थानीय तहको प्रयास
कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको वीरेन्द्र नगर नगरपालिकाले पछिल्लो समय रैथाने बालीको महत्वको सन्दर्भमा जनचेतना मूलक कार्यक्रम गर्दै रैथाने बालीको उत्पादन र प्रयोग बढाउने कार्यक्रमहरू अगाडि सारेको छ । वीरेन्द्र नगर नगरपालिकाका कृषि शाखा प्रमुख पदम नेपालीका अनुसार कोदो, आलु, धान, मकै, भटमास, लसुन आदी यहाँका रैथाने बाली हुन् ।
उनले रैथाने बालीले खाद्य सङ्कट टार्न र पोषण सुधारका लागि महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले गाउँपालिका यसको संरक्षण र विकासमा लागेको बताए । ‘विद्यालयमा दिवा खाजाका रूपमा रैथाने अन्नबालीबाट बनेका परिकार सिफारिस गरेका छौँ ।’ नेपालीले भने, ‘गर्भवती महिला, छ महिना पुगिसकेका बालबालिका, वृद्ध वृद्धाको पोषणमा सुधार ल्याउन रैथाने अन्नबालीको महत्त्व र प्रयोगका सन्दर्भमा महिला स्वयंसेविकालाई तालिमै दिएर घरघरमा पठाउने गरेका छौँ ।’ उनले रैथाने बालीको खेतीलाई प्राकृतिक र अर्ग्यानिक बनाउन सहयोग पुगोस् भन्ने हेतुले कम्पोस्ट मलको उत्पादन बढाउन भकारो सुधार कार्यक्रम सञ्चालन गरेको बताए ।
नेपालीले रैथाने बालीको माग बढेपनि किसानमा व्यावसायिक उत्पादनका लागि भने आकर्षण नदेखिएको बताए । ‘वीरेन्द्रनगरको १४ नम्बर वडामा रैथाने बाली किनेर खाँदैनन्, तर काठमाडौँमा यो दुई सय रुपैयाँ किलोमा विक्री हुन्छ ।’ उनले भने, ‘बजारीकरणमा सरकारले ध्यान नदिँदा यसको उत्पादनमा किसानको चासो बढ्न सकेको छैन । होटेल र मार्टमा रैथाने अन्नबालीको बिक्री र प्रयोग बढेको अवस्था छ । बजारको अलमलले किसान भने उत्पादन बढाउने सोचमा देखिँदैनन् ।’
प्रमुख नेपालीले खेती गर्न छोड्नु, सजिलो बाली रोज्नु, एउटा बालीलाई व्यवसायीकरण गर्ने राज्यको नीति हुनु, धेरै बाली उत्पादन गर्दा निर्वाहमुखी हुनु, बिउहरू हराउँदै जानु, उत्पादन गरेका रैथाने बाली खानामा प्रयोग गर्ने तर बिउ नराख्नु, खेती गर्न सक्ने जनशक्ति विदेश पलायन हुनु, बसाइसराइ गर्नु जस्ता कारणले रैथाने लोपोन्मुख अवस्थामा पुगेको बताए ।
यस्तै वीरेन्द्रनगर नगरपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी चौधरीले हाइब्रिड अन्नबालीका कारण मानवमा गम्भीर स्वास्थ्य समस्या देखिन थालेको बताइन् । उनले हाइब्रिड अन्न प्रयोगमा गरेकै कारण महिलामा बाँझोपन र पाठेघरको मुखको क्यान्सर जस्ता घटना विकास भएको बताइन् ।
‘जलवायु परिवर्तनको असरले होला पहिला पहिला रासायनिक मलको प्रयोग विना अत्यन्त राम्रो उत्पादन हुने यहाँका रैथाने बालीहरू हिजोआज फस्टाउन छोडेका छन् । रासायनिक मलको प्रयोगले माटो बिग्रेको छ । खेतीमा हाल्ने विषादीले मानव स्वास्थ्यलाई असर पुराएको छ ।’ उनले भनिन्, ‘रासायनिक मल र कीटनाशक औषधीको प्रयोग बढेकाले रैथाने बाली राम्रो सँग फस्टाउँदैन ।
चौधरीका अनुसार यहाँका किसानले डाँडा मसुली, सोना मसुली, रामपुरे मसुली लगायतका रैथाने धान खेती गर्दै आएका छन् । ‘हामीले किसानलाई रैथाने खेती गर्न प्रेरित गर्ने गछौँ । उनले भनिन्, ‘आफ्नै जग्गा हुनेले सानो भोलुममा खेती गरेपनि जग्गा नहुले र अँधीया गर्नेहरूले हाइब्रिड नै लगाउँदै आएका छन् ।’
चौधरीले यहाँका किसानलाई रैथाने बालीप्रति आकर्षण गर्न आफूले निकायसँग पहल गर्दै आएको बताइन् । ‘नगरपालिकाले यहाँका नागरिकलाई कृषिमा आकर्षित गर्न अनुदान, तालिम, बालीमा उपचार, निःशुल्क परामर्श लगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।’ उनले थपिन्, ‘कतिपय किसानले म सँग गुनासो पनि गर्नु हुन्छ । नगरपालिकाले समूह दर्ता गरेर आएका किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ । कतिपयले वास्तविक किसानले अनुदान पाएका छैनन् । समूहमा दर्ता गरेर आएकालाई मात्र होइन हामी वास्तविक किसानलाई पनि अनुदान दिन प¥यो ।’
वि.सं.२०८१ भदौ १२ बुधवार १९:३२ मा प्रकाशित


































