काठमाडौँ । क्लब एवम् हाउस पार्टीको नाममा युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका–३ बस्ने २७ वर्षीय राजेन्द्र घले, काठमाडौं ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका–११ घर भएका २२ वर्षीय ओजस्वी तामाङ र काठमाडौं स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरूङ रहेका छन् ।
काठमाडौंका विभिन्न स्थानमा रहेका डान्सबार, क्लबबाट युवा युवतीहरूलाई विभिन्न प्रलोभनामा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बुढानिलकण्ठ नगरपालिका–१ स्थित घरमा लगेर नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्ने सम्मको शारीरिक यातना दिएको उनीहरूलाई आरोप छ ।
प्रहरीले उनीहरूलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१ बाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नक्कली पेस्तोल एक थान, ह्यामर एक थान, इलेक्ट्रिक आइरन एक थान र व्लोवर मेसिन एक थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०८१ भदौ २० बिहीवार १४:०५ मा प्रकाशित






























