back
CTIZAN AD

मौलिकता गुम्दै जाँदा रमाइलोमा सीमित हुँदै हरितालिका तीज

वि.सं.२०८१ भदौ २० बिहीवार

1.3K 

shares

ध्रुवसागर शर्मा/गलेश्वर (म्याग्दी) । नेपाली हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजमा आएको आधुनिकतासँगै मौलिकता ओझेलमा पर्दै गएको छ । तीज आउनु धेरै दिन अघिदेखि सहरबजारमा दैनिकजसो आयोजना गरिने तीज मिलन कार्यक्रम औपचारिकतामा सीमित हुने गरेका छन् ।

पछिल्ला वर्षमा तीजपर्वमा भित्रिएको आधुनिकता र खर्चिलो प्रवृत्तिले यसको धार्मिक मूल्य, मान्यता र सांस्कृतिक परम्परा ओझेलमा पर्दै गएको मालिका गाउँपालिका–६ दरबाङस्थित महिला बचत तथा ऋण सहकारी संस्थाकी प्रबन्धक शलिना किसानले बताइन् ।

“सहरबजारमा हुने तीज प्रतियोगितामा मौलिकताभन्दा आधुनिकता र होडबाजी देखिन्छ, सूचना प्रविधिको बढ्दो विकासले टिभी हेर्ने, रेडियोमा गीत सन्ने, मोबाइलको प्रयोगले यूट्युवमा गीत घन्काउने प्रवृत्तिले बजारमा गीत गाउन र नाच्न जान्नेहरु भेटिँदैनन्”, किसानले भनिन् । अहिले तीजलाई परम्परा संरक्षणभन्दा पनि नारी अधिकार र स्वतन्त्रताका रुपमा लिइने गरिएको उनको बुझाइ छ ।

पर्व मनाउने क्रममा समयअनुसार परिवर्तन हुँदै जानु स्वभाविक प्रक्रिया भएको भन्दै किसानले परिवर्तनका नाममा हाडबाजी गर्ने, संस्कृति लोप हुने क्रियाकलापमा जोड दिने, अधिकार र स्वतन्त्रताका नाममा समाजमा गलत सन्देश दिने किसिमका क्रियाकलाप गर्न नहुने भन्दै तीजको मौलिकपन नासिँदै गएकामा चिन्ता व्यक्त गरिन् । “आधुनिकतासँगै तीज पर्वको परम्परागत मौलिकता हराउँदै गएको छ । पछिल्ला वर्ष बजारमा दर्जनौँ एल्बम सार्वजनिक भएपनि तीजको मर्म बोकेका भाका पाउन मुस्किल छ”, उनले भनिन् ।

तीजको मौलिकता झल्किने संस्कृति हराएकामा अघिल्लो पुस्ताका जेष्ठ महिलाहरु चिन्तित छन् । म्याग्दीमा अहिले दिनहुँजसो तीजको अवसरमा औपचारिक कार्यक्रम र प्रतियोगिता भइरहेका छन् । यस्ता प्रतियोगितामा आधुनिकताको प्रयोगले मौलिक र परम्परा ओझेलमा पर्दै गएको लोक गायिका धनकुमारी थापाले बताइन् । अहिले विभिन्न सङ्घसंस्था र महिला दिदीबहिनीले होटलमा आयोजना गर्ने दर कार्यक्रमले तीज आधुनिक र औपचारिकतामा सीमित हुँदै गएको उनको भनाइ छ ।

महिला नेतृ अमृतदेवी बानियाँले अहिलेका तीज गीत सामाजिक मर्यादा र अनुशासनको सीमा नाघेर रचिएको बताइन् । “पहिला तीजको दर एक दिन मात्र खाने चलन थियो, अहिले महिना दिनदेखि होटलमा दर खान भ्याइनभ्याई छ”, उनले भनिन्, “तीजको संस्कृतिसँगै मादल बज्ने ठाउँमा यूट्युवमा आधुनिक गीत लगाएर नाच्ने चलन बढ्यो ।”

आधुनिकताको बढ्दो आकर्षण र सूचना प्रविधिको पहुँचले तीजका परम्परागत मान्यताहरु भत्किँदै जान थालेका छन् । माइतबाट चेलीलाई लिन जाने, दरमा दूध र फलफूलका विभिन्न परिकार खुवाउने, विवाहित महिलाले घरमा भोगेका सुखदुःखका कुरा गीतमार्फत व्यक्त गर्ने परम्परा हराउँदै जान थालेको बानियाँले बताइन् ।

तीजमा चेलीबेटी लिन जाने चलन हरायो

बेनी नगरपालिका–२ बगरफाँटकी ६९ वर्षिया गोमादेवी उपाध्यायले भदौरे भेल र वर्षाका कारण उर्लेका खहरे खोलालाई छिचोल्दै तीजमा छोरीचेली लिन जाने चलन हराएको बताइन् ।

“अहिले सबैको हातहातमा मोबाइल फोन, घरघरमा इन्टरनेट छ । गाउँगाउँमा सडक पुगेपछि छोरीचेलीलाई माइतमा आउजाउ गर्न कुनै समस्या छैन”, उपाध्यायले भनिन्, “हाम्रो पालामा यस्ता सुविधा थिएनन् । ससाना छोराछोरी पिठ्युमा बोक्दै, लिन आएको दाजु वा भाइको पछिपछि हिडेर साँझपख माइतीको आँगनीमा पाइला टेक्दा मिल्ने खुसी अहिले वर्ण गर्न सकिदैन ।” अहिले तीजमा गाइने गीत र त्यसको लय पनि फेरिँदै जान थालेका उनले बताइन् ।

तीज आयो जाउन बाबु दिदी लिनलाई ।
खुट्टैमा ढोँग गरे है भेट्दा भेनालाई ।।
हुन्छ आमा दिदी लिन जान्छु जान त ।
कोसेली पो के लानी हो पर्छ लान त ।।

“पहिला तीजका गीतमा छोरीचेलीका पीडा मात्रै होइन शिष्टाचारका कुरा पनि व्यक्त गरिन्थे । आदरसम्मान, अनुशासन, मर्यादा र कोशेलीपातका कुरा गीतमार्फत अभिव्यक्त हुन्थे । अहिलेका गीत मनोरञ्जन केन्द्रित छन्, केही अपवाद बाहेक घरपरिवारका सदस्यहरु एकै ठाउँमा बसेर सुन्न र हेर्न नसकिने छन्”, उपाध्यायले भनिन् ।

हिजोआज ती पर्वमा दर स्वरुप खाने परिकारहरु पनि फेरिएका जेष्ठ महिलाहरुको भनाइ छ । “पहिला केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्मा भएर दूध र फलफूलका परिकार बनाएर दर खाने परम्परा थियो । हिजोआज एक महिना अघिदेखि होटल तथा पार्टी प्यालेसमा माछा, मासुलगायत परिकार खाने प्रचलन बढेको छ”, मालिका गाउँपालिका–६ की ६४ वर्षिया राधिका सुवेदीले भनिन् । तीजमा भड्किला गीत बजाउँदै नाच्ने प्रचलन बढेको भन्दै यसले सांस्कृतिक र आध्यात्मिक पक्ष र सामाजिक सद्भाव नासिँदै गएका उनले बताइन् ।

तीजको आध्यात्मिक पक्ष

धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भएर महादेव पति पाएको दिनलाई हिन्दू नारीहरुले हरितालिका तीजका रुपमा मनाउँदै आएका हुन् । पार्वतीले महादेवलाई श्रीमान्का रुपमा पाउन तपस्या गरेपछि तपस्या पूरा भएको दिनलाई पर्वका रुपमा मनाइएको विभिन्न शास्त्रमा उल्लेख छ ।

“तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाले तीन सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलोको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ”, मालिका–६ की सुवेदीले भनिन् ।

तीजका गीतमा नारी वेदनालाई लयात्मक तरिकाले अभिव्यक्त गर्ने चलन विस्तारै हराउँदै गएको सुवेदीको भनाइ छ । घरपरिवारभित्रका दुःख, समाजको अत्याचार, कुरीति र विसङ्गतिविरुद्ध सङ्गितबद्ध गरिएका आवाजमा आउने गीतले समाजमा सकारात्मक सन्देश दिने भन्दै चर्चित बन्नेभन्दा पनि संस्कृति संरक्षण गर्ने गीतको प्रवर्द्धन सबैले गर्नुपर्नेमा उनले जोड दिइन् ।

 

वि.सं.२०८१ भदौ २० बिहीवार १६:०४ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...