काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरमाथि उठेको प्रश्न गम्भीर रहेको ठहर गर्दै मार्गप्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको छ ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
“कांग्रेसको आधिकारिक धारणा भनेको उहाँमाथि गम्भीर प्रश्न उठेको हो । आफैँले राजीनामा दिएर मार्गप्रशस्त गर्नु ठीक हुन्छ,” घिमिरेले भने, “उपसभामुखले त्यस्तो सिफारिस गर्नै मिल्दैन । उहाँले जुन काम गर्नुभयो, त्यसले संसदलाई नै अपमानित गर्ने काम गरेको छ । मुलुकको पनि शिर झुकाएको कांग्रेसको बुझाइ छ ।”
उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको पत्र बाहिरिएको थियो । उक्त विषय राष्ट्रहित विपरित र पदीय गरिमाविपरित भएको भन्दै सत्तारुढ दलहरूले मंगलबार बिहानबाट राजीनामाको विषय उठाएका थिए ।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमाले सांसद्ले उनको राजीनामा मागेका थिए । तर, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने विरोधमा उत्रिएका छन् ।
वि.सं.२०८१ भदौ २६ बुधवार १२:११ मा प्रकाशित






























