काठमाडौं । सामाजिक सेवा दिवसको अवसर पारेर आज परोपकारी संस्था हेड्स नेपालले ३१ औ बार्षिक साधारणसभा, अन्तरक्रिया कार्यक्रम र स्वास्थ्य प्रवर्धन कार्यक्रम काठमाडौँको ढुंगेधारामा सम्पन्न गरेको छ ।
कार्यक्रममा अभिभावकहरु, संस्थाका सदस्यहरु र समाजका अगुवाहरुको सहभागिता रहेको महासचिव दिव्यराज पौडेलले जानकारी दिए ।
साधारण सभाको समुद्घाटन गर्दै पूर्वप्रधानमन्त्री, डा. बाबुराम भट्टराईले स्वास्थ्य, शिक्षा, कृषि र विपद जस्ता क्षेत्रमा संस्थाले पुर्याएको योगदानको सह्राना गर्दै सरकारले गर्नुपर्ने काम कुनै एक संस्था एक्लैले गर्न नसक्ने बताए । उनले भने, राज्य संयन्त्रले नै सामाजिक आवश्यकाता परिपूर्ति गर्नुपर्दछ, संस्थाहरुले त सहयोग गर्ने मात्रै हो । डा. भट्टराईले हेड्स विशेष स्मारिकाको लोकार्पण पनि गरे ।
कार्यक्रममा पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्रीले राजनीतिक दल र नेताहरुले सुशासनको प्रत्याभूति दिनुपर्ने बताए । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका यूवाहरुले जलबायू परिवर्तनसँगै वढ्ने तापमानको अवस्थामा अभिभावकहरुले गर्नुपर्ने सावधानीको लागि भूभिका प्रदर्शन गरेका थिए ।
मानव सेवा आश्रम, मानवता महाअभियानका रामजी अधिकारी, त्रिभुवन विश्वविद्यालय, आयूर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. राम आधार यादव, निवर्तमान अध्यक्ष इश्वर चन्द बानियाँ, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाल लगायतले स्वास्थ्य, शिक्षा तथा समाजसेवाका विविध आयाममा चर्चा गरेका थिए ।
कार्यक्रममा समाजसेवामा संस्थामार्फत् योगदान दिनुहुने इन्द्र प्रसाद पोखरेल, कृष्ण कुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ र विष्णु गौतमलाई सम्मान गरिएको थियो ।
शिक्षा, स्वास्थ्य, कृषि र विपद्को क्षेत्रमा सक्रिय हेड्स नेपालले सामुहिक सङ्कल्प र स्रोत व्यवस्थापनले परोपकारिताको अभिलाषालाई परिपूर्ति सकिन्छ भन्ने विश्वास राखेको महासचिव पौडेलले जानकारी दिए । गतिशील संगठन, आर्थिक दिगोपन र सहकार्यमा आधारित परोपकारिताको सोँचबाट संस्थाले प्रथम पञ्चबर्षीय योजना सार्वजनिक गरेको छ । योजना मुताविक संस्थाले परोपकारिताको क्षेत्रमा स्थानीय निकायसँग सहकार्य गर्ने भएको छ ।
वि.सं.२०८१ असोज ८ मंगलवार १०:४३ मा प्रकाशित






























