बिहानै उठेर म टुक्सुक्क खाटमा नै बसे । त्यहाँबाट जुरुक्क उठेर किचनको कुर्सीमा गएर बसे तर पनि मन अनि तनमा शान्ति भएन । हैन, आज मलाई किन यस्तो अच्चमको अनुभूति भैरहेको छ ज्यानलाई पनि सन्चै छ । तर, मन अतालिएको छ, म आत्तिएको छु । जता गएर बसे पनि मन, तन शान्त हुदैन किन के भईरहेको छ मलाई ? ढुकढुकी छामे उहीँ गतीमा बेस्सरी धड्कीरहेको छ हैन आज मलाई के हुदै छ केही सोच्न सकेको छुईन ।
फेरि रुममा गएर थचक्क बसे खुट्टामाथी नै राखेर पलेटी कसेर लामो सास ताने तर पनि गति उहीँ छ । गर्मीले हो भनौ भने जाडो भएर सिरक ओढेर सुतेको हुँ । भोक लागेको भनौ भने तीनबजे राति खाजा खाएर सुतेको हुँ । अब त हात खुट्टा नै लालकलुलुक भए जस्तो महशुस भयो । अरु दिन पूजा नगरे पनि आज सोमवारको पूजा गर्न मन लाग्छ तर मलाई आज पूजा गर्न मन लागेन खै किन हो । सोचे कफी पिएर पूजा गर्छु ।
कफी बनाएर पिउन लागेको थिए, ठुली दिदीको फोन आयो ‘ओई सुन त’, मैले भने, ‘अँ भन्नू न ।’ ‘झुम्री दिदी बित्यो नि !’ मैलै आत्तिएर सोधे, ‘किन के भयो कसरी बितीन ?’ दिदीले भन्नू भयो, ‘आफै मरिन ।’ मैले फेरि सोधे, ‘कसरी आफै बितिन् हौ फेरि !’ दिदीले भन्नु भयो, ‘आफै झुण्डीएर मरिन क्या खै कसरी भन्नु अब त यहाँ भएको भए पो यसरी मरिन भन्नु त्यहाँ छस् कसरी कसरी !’
दिदीको कुरा सुनेर म हाँसु कि रोउँ भयो मलाई । फेरि भने, ‘किन मरिन होला है, कि कसैले मार्यो कि दिदी उस्लाई ?’ हैन उ आफै मरेछ रिर्पोटमा पनि आफै मरेको पुष्टि भयो रे ! फेरि भित्रबाट नै ढोकाको चुकुल लगाएको रहेछ । तसंग बोलेको रातमा नै मरेको रहेछ नि ! दुई दिनपछी मात्र थाहाँ भयो हामीलाई त । त्यो पनि पल्लो घरमा पूजा थियो हिजो, प्रसाद पुर्याउँन जाँदा कत्ती बोलायो रे मदन भाईले, नबोले पछी झ्यालबाट चिहाएर हेर्दा तैले दिएको साडीले पासो लागेर मरिछिन् ।’
दिदीले कुरा थप्दै गइन् ‘मदन भाई त्यहाँ नगएको भए कसैलाई थाहाँ नहुने रहेछ दुई चार दिनसम्म साईली । ल, ल साईली म फोन राखीदिन्छु आज झुम्री दिदीको लास ल्याउँने रे हेर्न जान्छु ।’ दिदीले भनिन्, ‘पिर नगर है यस्तै हो, अब उस्ले जिन्दगीबाट हारेकी रहिछीन र त मरिन । सोचिन् होला दुःखबिराम हुँदा हेर्ने कोही छैन यस्तै यस्तै केही सोचिन र त मरिन बिचरीको दुःख नै सकियो । ल, ल फोन राखिदिए ।’ दिदीले फोन राखिदिनु भयो ।
जिन्दगीमा सबै भन्दा ठूलो कसैको साहारा हुँदो रहेछ । बिचरी झुम्री दिदीले साहाराविहीन जिन्दगी बिताईरहेकी थिईन् । जस्तै कि वृक्षविहिन उजाड पहाड जस्तो । माईती त मात्र नाम थियो । ‘त्यो को हो भन्दा माईती हो भन्ने मात्र’ त्यो भन्दा अरु केही थिएन उनको । अहिलेसम्म ‘मेरो चेली हो’ भनेर हस्पिटलमा जिम्मा लिन कोही पनि गएको छैन रे !
गाउँघरमा एउटा घृणीत जीवन बिताउँन बाध्य थिइन् झुम्री माईली । तर पनि उनले कसैलाई दुःख दिएकी थिईनन् । जसोतसो जिन्दगी गुजारा गरेकी थिईन् । कहिल्यै कसैको आशा गर्थिनन् । उनी भन्थिन्, ‘भगवानले दिएको सम्पन्न सिङ्गो शरिर छ मसंग, म कसैलाई हारगुहार गर्दिन । सकेसम्म गरेर खान्छु आखिरमा यो पहाड जत्रो शरीर ढलेर माटोमा मिसिने हो । किन दुनियाँलाई हात फैलाएर बसौ, बाटोमा भिखारी बसेजस्तो, लोग्ने मान्छेको जस्तो बलियो छ हात खुट्टा मेरो गरेर खान सक्छु ।’
हुन पनि हो, बयासी बर्ष पुगेकी माईली दिदी, अझै पनि हष्टपुष्ट थिईन् । कुनै रोगबिमार थिएन । सधै बिहान हाम्रो घरमा चिया पिउन आउथिन उनी । अस्तिको बिहान मात्र मसंग बोलेकी थिइन् । उनको आवाज मेरो कानमा अहिले पनि गुन्जिरहेको छ । मैले सन्चो बिसन्चो सोधेकी थिए, उनले भनेकी थिइन् ‘सन्चै छु साईली तर हिजोबाट चाहिँ पखला लागेको छ दबै खादैछु ।’ हेर्दा राम्रै थिईन, भन्दै थिईन् ‘त सधै राम्रै भएर बस्नु है, तलाई कुनै वाधाविध्न आई नपरोस् मेरो आर्शिवाद छ । अब कहिले आउँछस ?’, मैले ‘अब अर्को सालमा आउँछु दिदी ।’ भनेर भनेकी थिए ।
‘ल,ल त्यो सालसम्म म रहन्छु रहदिन’ आँखाभरी आँसु छल्काएर भनेकी थिईन उनले । मैले ‘कहाँ यस्तो हरेश खानु भएको, म आउँदा राम्रै हुनुपर्छ । तपाईले बनाएको भुजा आलुचप, प्याजी, भक्का खानु छ मैले, मलाई साह्रै मन पर्छ । बरु यो दशैमा एउटा साडी किन्ने पैसा पठाई दिन्छु ।’ उनले भनेकी थिइन्, ‘पर्दैन साईली, मेरो साडी छ नि । अझै तैले दिएको साडी त नयाँ नै छ, चप्पल चाहिँ फाट्यो, हेर त यो बर्को अझै उस्तै छ,’ भन्दै भिडियोमा देखाएकी थिईन् । ‘अब पैसा बचाउँनु पर्छ, छ गेडी सबै मेरी छैन गेडी सबै टेडी भन्छन् । त्यस्तै हो साईली अब त पनि विदेशमा धेरै नबस्नु घर फर्केर आईज है । ल,ल आफ्नो ख्याल गर्नु अब बोल्न पाइएला नपाइएला ! तेरो न्यास्त्रो लागेर तेरो स्वर सुन्न आएकी थिए, घर आगन सफ्फा गर्नु छ भाडा माज्नु छ, म जान्छु“ उनले एकोहोरो भनिन् ।
‘किन यसरी हेर्नू भएको दिदी ?’ मैले सोधेको थिए, ‘हेरेको नी साईली तलाई जति हेरे पनि म कहिल्लै अगाउँदिन हेरी रहन मन लाग्छ । फेरि हेर्न पाईने या नपाईने हो थाहा छैन ।’ यति भन्दै आखाँको आँसु बर्कोको एकछेउले पुछ्दै थिईन् उनी । उनी रोएको देख्न नसकेर मैले भने, ‘लल दिदी अब आएपछी भेट्छु अनि दिनभरी हेरी रहनु है । अहिले मेरो काम छ फोन राखिदिन्छु । ’
मलाई के थाहाँ थियो र झुम्री दिदी कुरा गरेको केही दिनमै यो संसारबाट बिदा हुन्छिन भनेर । यदी थाहा भएको भए उनले ‘पुग्यो’ नभनेसम्म म अनुहार देखाई रहन्थे ।
जीवनका बयासी वर्षसम्म उनले धेरै दःुख पीडा भोगेकी थिइन् । स्रोह वर्षकी हुँदा आफ्नै भेनाजुको गर्भ बोकेर मरेको छोरालाई जन्म दिएपछी भेनाजुले स्विकारेन रे उनलाई ! त्यसपछी घरको सबैले रिस गर्न थालेछन् र पनि जीवन बिताउँदै जादा गाउँको एउटा विष्टले उनलाई बिहे गर्छु भन्दै तीनवर्षसम्म प्रयोग गरे । पछि उनलाई छोडेर बिर्तामोड तिर लगेछ । त्यसपछी झन गाउँलेले नराम्रो दृष्टीले हेरेपछी आमाबावाले उन्लाई घरबाट निस्केर जाँ भनेपछी उनी घरबाट अलगै बस्न थालेकी थिईन् ।
कठै माईली दिदी किन मर्यौ तिमी ? दिदी तिमीलाई मनमा के चिन्ता परेको थियो त्यस्तो ? दुःख परेको भए मलाई भनेको भए बरु हुन्थ्यो ! किन मनमा गुनासो राखेर गयौ ? पिर चिन्ता मनमा लिएर गयौ, आफ्नो दुःख आफैभित्र गुम्साएर गयौ । के भएको थियो तिमी त अझै बाच्ने मान्छे हौ । किन मर्यौ माईली दिदी किन ? तिमी यति कमजोर त थिएनौ तिमी, हल्का अनुहार लच्के पनि शरीर उस्तै तन्दुरुस्त थियो । मान्छेसंग लडेर डटेर संघर्ष गरेर खाने मान्छे थियौं । तिमी जस्तो हिम्मतीलो नारी सायद यो संसारमा कमै हुनुपर्छ, तिमी आफै मर्नुको कारण म खोजीरहेको छु । तिमीलाई कस्ले मर्न वाध्य बनायो दिदी ?
मैले आफुलाई समाल्न सकिनँ । चिसो भएको कफीलाई एकातिर पन्छाएर बेस्सरी रुन मन लाग्यो । झुम्री दिदीको यादमा आँसु बगाउन मन लाग्यो । उनलाई गाली गर्दै रुन मन लाग्यो । उनलाई सराप्न मन लाग्यो, हामीलाई छोडेर गएकोमा । जसरी उनले अरुलाई सराप्ने गर्थिन् । तिम्रै भाषामा मलाई बोल्न मन लाग्यो झुम्री दिदी । सोधेको पनि थिए तिमीलाई, ‘किन आज यस्तो कुरा गर्दै हुनु हुन्छ हरेश नखानु दिदी सबै ठिक हुन्छ । जसरी अहिलेसम्म भईरहेको छ ।’
‘अब दिनदिनै पाको हुँदै गए साईली, भोलीको दिन कस्ले देखेको छ र ?’ म सम्झाउँदै थिए, उनी आँशु झार्दै थिईन् । ‘कि कसैले केही भन्यो हो तिमीलाई ?’ मैले सोधे, उनले भनिन्, ‘हैन साईली कसैले केही भनेको छैन जति भन्नू थियो पहिल्यै भनिसके अब कस्लाई के भन्नू बाँकी छ र ?’, उनले थप भनिन्, ‘म बाच्छु सयौ वर्ष नपुगी मर्दिन भन्थ्यौं, जिन्दगी हो जिन्दगीमा हजारौ उतार–चढाव आउछन् त्यस्लाई सामना गर्दै जानूपर्छ । जिन्दगी जसरी चल्छ, कहिलेसम्म चल्छ चलाउँनु पर्छ, आजसम्म वाधा विध्न पन्छाउँदै आएकी छु, जे होला भोलीको दिनमा देखाईजाला ।’
जिन्दगीसंग हार्दिन भन्थिन दिदी तर उनको हारले अरुको जित भएको छ आज । यो उमेरसम्म गाउँ समाजलाई जित्दै आएकी उनले । आज अरुको लागि एउटा हाँसोको पात्र भएर बिलाइन् । जिन्दगीमा हारेरै छाडिन् ।
जब हामी भारतको आसामबाट आउँदा उनी जवानीलाई थाती राखेर अधबैशे उमेरमा प्रवेश गर्दै थिईन् । हामी झापाको केराधाप आउँदा म सात वर्षको थिए । उमेरमा मेरो बुवा भन्दा कान्छी र आमाको चाहिँ दिदी नै थिइन् उनी । गाउँका सबैले उनलाई झुम्री माईली दिदी भनेको सुनेर हामीले पनि ‘माईली दिदी’ नै भन्न थाल्यौ । उनको खास नाम के थियो त्यो त मलाई थाहाँ थिएन । तर, सबैले सम्बोधनमा झुम्री माईली दिदी नै भन्थे । त्यसैमा उनको नाम नै झुम्री रह्यो । ‘झुम्री किन भनेको ?’ भन्दा, उनी भन्थिन, ‘मेरी आमाले प्यारो नामले बोलाउँनु हुन्थ्यो त्यसपछी सबै यसै नामले बोलाउँन थाले ।’ हुन त झुम्रीको अर्थ के हो, त्यो मलाई थाहाँ भएन । थाहाँ होस् उसैको आमालाई उसैको थरलाई ।
जीवनका बयासी वर्षसम्म उनले धेरै दःुख पीडा भोगेकी थिइन् । स्रोह वर्षकी हुँदा आफ्नै भेनाजुको गर्भ बोकेर मरेको छोरालाई जन्म दिएपछी भेनाजुले स्विकारेन रे उनलाई ! त्यसपछी घरको सबैले रिस गर्न थालेछन् र पनि जीवन बिताउँदै जादा गाउँको एउटा विष्टले उनलाई बिहे गर्छु भन्दै तीनवर्षसम्म प्रयोग गरे । पछि उनलाई छोडेर बिर्तामोड तिर लगेछ । त्यसपछी झन गाउँलेले नराम्रो दृष्टीले हेरेपछी आमाबावाले उन्लाई घरबाट निस्केर जाँ भनेपछी उनी घरबाट अलगै बस्न थालेकी थिईन् ।
‘जे गर्नु गल्ती गरी यस्लाई बाच्ने आधार चाहिन्छ’ भनेर गाउँलेले चार पाँच कठ्ठा माटो त मिलाई दिए तर उ बाचुन्जेल गरेर खाने दिने तर, एकटुक्रो माटोसम्म उस्को नाममा रहेनछ । त्यो पनि उनको दुई दाजुहरुले मानेका थिएनन् रे । समाजको अगाडि केही नलागे पछी दुईदाजु चुप त भए तर उनीसँग सम्बन्ध नै तोडेछन् । झुम्री दिदीको कान्छी बहिनीको छोरीले चाहिँ माया गर्थिन । ् कहिलेकाहीँ आएर हेर्थिन् तर उ पनि बिहे भएर गएपछी खासै उनको हेरबिचार गर्ने कोही थिएन । आमाबावा बितेपछी समाजको खातिर कहिलेकाही माईतीहरु आउने गर्थे ।
जब हामी आसामबाट आएपछी हामी र पल्लो घरको काकाहरु मात्र उनको साहारा हुँदै आएका थियौ । हाम्रो लागि त झुम्री दिदी परिवारकै सदस्य थिइन् । हाम्रो घर र काकाको घरमा काम सघाउँथिन् उनी । गाउँको एकदुई घरमा गएर लुगा धुने काम पनि गर्थिन् । यसो मेलापात जाने काम पनि गर्थिन् । काम भने लोग्ने मान्छेको जस्तो दरिलो थियो उनको । मेहनती थिइन् उनी । उन्को पेशा भनेको भुजा बनाएर बेच्नु हो । उनी क्याम्पा बजार, केर्खा बजार, दमक, झिलझिलेसम्म भुजा बेच्न पुग्थिन् । चाडवाडमा बजारको चहलपहल हुँदा बिहान सबेरै भक्का बेच्न क्याम्पा बजारमा पुग्थिन् र बेलुकाको समयमा भुजा अनि बाँकी समयमा गाउँघरमा काम गर्थिन । यसरी नै उन्को दिनचर्या सकिन्थ्यो । हामीलाई साच्चै भन्नू पर्दा उनले नै हुर्काएको भन्दा पनि हुन्छ । हामी उनी भनेपछी हुरुक्क हुन्थ्यौ । घरबाट प्याज, आलु लगेर हामीलाई ढुक्क संगले आलुचप, प्याजी बनाएर खुवाउथिन् । बजारबाट आउँदा कहिल्लै पनि खाली हात आउथिनन् । केही न केही बोकेर आएको हुन्थिन् । बच्चा बच्ची भनेपछी साह्रै मन पराउथिन् माईली दिदी ।
झुम्री माईली दिदी धिमाल जातकी थिईन् । रातो वर्णको भए पनि मोटीमोटी होची अनि सुन्दरी थिईन् । सलक्क परेको कालो कपाल, उस्को शरिरको बनावटी हेर्दा जो कोही आर्कषण हुन्थ्यो उनीप्रति । आँखा ओठ मुख सर्लक्क मिलेको आँखा त झन मोहीत थियो जो पनि लठ्ठ हुने । उनी मिजासिली पनि थिईन् । जो संग बोल्दा पनि नरम भावमा बोल्थिन् । तर, उनलाई रिस उठ्यो भने चाहिँ बेस्सरी सराप्थिन् । उनले सरापेको सुन्दा चाहिँ हामीलाई पचाउँन निक्कै कठिन हुन्थ्यो । त्यो बेलामा वुवाले चुप लाग भनेपछी चुप हुन्थिन् ।
हामी क्षेत्री जातको तर हाम्रोमा खाना खादा कहिले जातभात भनिदैन थियो । गाउँको कोही कोही खिच्चा जातहरुले वुवालाई आएर भन्ने गर्थे । ‘यी धिमाल्नीसंग अलिक जोगीएर बस्नु है । यिनको नियत अलिक खराब छ । लोग्ने मान्छे त देख्नै हुन्न । तपाईको पनि घर व्यवहार बिर्गारदेला अलिक होशीयार भएर बस्नु होस् ! भन्दै नानाथरीको कुरा गर्थे । त्यो सुनेपछी मेरो वुवा न हो, बेस्सरी झपार्नु हुन्थ्यो । उनीहरुको मुख वुवाको जवाफले बन्द हुन्थ्यो । भन्नू हुन्थ्यो ‘झुम्री हिजो को थिइन्, कस्तो थिईन्, त्यो मलाई थाहाँ पनि छैन र देखेको पनि छैन । हिजोको दिनमा जो होस् उ त्यो उस्को विगत हो, उस्को विगतसंग मलाई कुनै मतलब छैन । आज म झुम्री माईली भनेर चिन्छु बस् यति थाहाँ छ, उस्लाई म बहिनीको रुपमा हेर्छु । अरु केही छ भन्नू कि कसैले जागीर दिएको छ हँ तपाईलाई उस्को व्याख्खा गर्नु’ यति भनेपछी सबै कुकुरले पुच्छ्रर लुकाए झै आफ्नो मुन्टो निहुराएर हिड्थे । त्यो देख्दा हामीलाई खुब स्वाद आउथ्यो । मेरो वुवाको खरो स्वाभाव थियो प्राय मान्छेहरु डराउँने गर्थे ।
झुम्रि माईली दिदी हाम्रो घरदेखि दुईसय फिट पर सानो झुपुडीमा बस्थिन । एक साईडमा बासघारी अर्कोपट्टी बकैनाको ठूलो ठूलो रुखहरुले घेरेको थियो । एउटा सानो बासको भाटोले बारेको घर खरको छानो भएको होचो सानो घर, अगाडि सानो साँगुरो गोरेटो भएपनि आगन भने फराकिलो वरिपरि बाह्रमासे र मौसम अनुसारको फुलहरु सधै फुलीरहन्थ्यो । घरको पछाडी सानो कुखुराको अग्लो खोर र त्यसैको छेउमा दुईटा बाख्रा राख्ने खोर पनि थियो । एउटै कोठाभित्र भान्सा सुत्ने कोठा जसरी पनि उनी अटेर बसेकी थिइन् । एक्लै विल्कुल एक्लै । जसोतसो जिन्दगी जेनतेन गरेर बिताएकी थिईन् ।
उनी आफैमा खुशी थिईन् भन्थिन् “खुशी अरु संग खोज्ने हैन अरु संग माग्ने हैन, खुशी त आफै भित्र खोज्नु पर्छ । आफै खुशी हुन जान्नु पर्छ ।’
हुन पनि हो झुम्री दिदी, सधै हसिलो रसिलो रहन्थीन् । उनी धिमाल जातकी भए पनि फरिया बेरेर मात्र कहिल्यै हिडिनन । चोली माथी फरिया लगाएर हिड्थिन् । तर पनि गाउँको भुस्या कुकुरहरुले गिद्दे नजर लगाएर तीनजना भएर उस्को जवानी लुटेर गएछन् । रातभर असह्रय पीडा दिएर सहन नसक्ने गरि लुछेर गएछन् अपराधीहरुले तर पछी त्यो बेलामा बाह्र–तेह्र हजार क्षतिपुर्ती दिएर मिलाएछन् । अहिलेजस्तो भए, हामी छोड्ने थिएनौ तिनीहरुलाई । असत्यले जितेको समाजमा उनीहरु अझै पनि शिर ठाडो पारेर हिड्छन् । झुम्री दिदी उनीहरुलाई देख्नासाथ मर्ने गरि सराप्थिन् । दिदीको सरापले हो कि, एउटा रुखबाट झरेर अपाङ्ग भएछ अर्को मरिसकेछ र एकजना चाहिँ जतीवटा बिहे गरे पनि छोड्दै जाँदै अहिले छोरा बुहारीबाट अपहेलीत भएर बसेको रहेछ केर्खातिर । भन्छन् ‘दिन घुमीफिरी आउँछ रे, किन कि पृथ्वी गोलो छ ।’ सायद हो रहेछ ।
हामी आएपछी पनि झुम्री दिदीलाई दःुख दिनेहरु धेरै थिए । साठ्ठी पैसठ्ठी वर्ष पुग्दासम्म पनि मान्छेहरुले उनलाई दःुख दिन छोडेनन् । आधारातमा भुस्या केटाहरु आएर दुख दिने, बलत्कार गर्न खोज्ने, कयौपटक चोरी पनि भयो । दुःख गरेर जमाएको पैसा चोरले लगी दिएपछी, बचेको पैसाहरु ब्याजमा लगाउँदै उठाँउदै गरेर पनि फेरि पाँच लाख जती ब्याजमा लगाएकी रहेछिन उनले । एकवर्ष भएको रहेछ बृद्धाभत्ता लिन पनि नगएको । यो साल त अध्याबाट आउने धान पनि लिन मानिन् रे । ‘मलाई पुग्छ तिमीहरु नै खाउँ’ भनेकी रहेछिन । यो उमेरसम्म पनि टाउँकोमाथि भुजा बोकेर क्याम्पा बजार पुग्थिन उनी । कहिले केराधापको मिल अगाडि राखेर बेच्थिन् । उनको घरमा चुलो नबले पनि उनी भोक्कै भने कहिल्लै हुन्थिनन् । जता काम गर्यो उतै खान्थिन् ।
धेरैजसो त उनको भान्सा हाम्रै घरमा हुन्थ्यो । धेरै खेप बदमासहरुलाई मेरो बाबा र काकाले प्रहरीको जिम्मा पनि लगाउनु भएको थियो । चाहे गाउँको नै किन नहोस्, आखिरमा बदमास काम गरेकै त हो नी !
कहिल्लै हिम्मत नहार्ने हाम्री झुम्री दिदी आज हारेर गइन । एउटा लामो जिन्दगीको यात्रा तय गरेर गईन् । उन्ले मर्छु नै भनेर जिन्दगीको यात्रा अन्तिम गरेकी रहेछिन् । सबैको आँखाको तगारो बनेकी उनी पन्सेर गइन अनि आफै हारेर गईन्, समाजलाई जिताएर गईन् । दुनियाँबाट अलप भएर गईन् संसारबाट हराएर गएको डाईनोसोर जस्तो । एउटा याद बनेर गयौ तिमी झुम्री माईली दिदी ।
मलाई कफी पनि पिउन मन लागेन झन पूजा त गर्नै मन लागेन । उनको मायालाई सम्झेर म धेरैबेर टोलाई रहे जहाँ मेरो बचपन उनीसंगै बितेको थियो ।
हार्दिक श्रद्धाञ्जली झुम्री माईली दिदी !!
वि.सं.२०८१ असोज १२ शनिवार ११:४६ मा प्रकाशित