सन् २००८ मा मास्टर्स गर्नका लागि नर्वे पुगेका थिए तनहुँ शुक्लागण्डकी, ५ का ३४ वर्षीय दीपक महत । नर्वेजियन प्रोजेक्टमा काम गदैगर्र्दा मास्टर्सका लागि नर्वे पुगेका महतका अनुसार युरोपका केहि युनिभर्सिटीमा पढ्न पैसा लाग्दैन् । तर, नेपाली युवाहरू पढ्न जानका लागि १५ देखि ३० लाख रूपैयाँसम्म र दोस्रो मुलुक हुँदै अबैध रूपमा बस्नको लागि १२ देखि १८ लाखसम्म कन्सल्टेन्सीलाई बुझाएर नर्वे पुग्छन् । तर ८५ हजार रूपैयाँ खर्च गरे नर्वे पुगिने महतको भनाई छ । ‘धेरै नेपाली युवाहरू कन्सल्टेन्सीमा भरपर्दा अनावश्यक पैसा खर्च हुन्छ ।’ महत भन्छन् ‘वास्तवमा एम्बेसीमा एप्लाइ गर्दा २५ हजार र ६० हजार जति टिकटका लागि मात्र पैसा खर्च हुन्छ । अरु सबै फ्री हुन्छ ।’ विवेकशील नेपाली नर्वेका अध्यक्ष समेत रहेका उनै महतसँग नेपाल आएका बेला ऐक्यबद्धताले गरेको कुराकानी ।
कहिले र किन जानु भयो नर्वे ?
खास त पढ्नकै लागि २००८ गएको हुँ । त्यति बेला देश राजनैतिक अस्थिरता र आन्तरिक द्वन्द्वको चपेटामा फसिरहेको थियो । धेरै युवाहरूमा विदेश पलायनको लहर बढेको थियो । यिनै पिडित युवाहरू मध्ये म एक थिएँ । नेपालमा रहदा जलवायु सम्बन्धी नर्वेजियन प्रोजेक्टमा केहि समय काम गरे । त्यहि सिलसिलामा नर्वेको ओस्लोमा प्लान्ट साइन्समा मास्टर्सको लागि अफर आयो र २०१० मा नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सबाट प्लान्ट साइन्समा मास्टर्स गरेँ ।
के गर्नुहुन्छ अहिले नर्वेमा ?
पहिले त भाषाको समस्यका कारण हाउस किपिङको काम पनि गरे । भाषाका कारण एकाडेमिक कामबाट बन्चित हुनु पर्यो । पछि नर्वेमै राम्रो काम गर्ने मनसायले १ वर्ष त्यहिको युनिभर्सिटीमै भाषा सिके । भाषा सुधार कै सिलसिलामा नर्वेमा व्याचलर इन नर्सिङ पनि गरे । हाल ओस्लो कै एउटा लोकल हस्पिटलमा काम गर्दैछु । श्रीमती अन्जु पनि नर्स नै हुन् । त्यसैले जीवन अलि सहज छ ।
नर्वेमा पढ्ने विद्यार्थीका समस्या बारे बताइदिनुस् न ?
नर्वेमा ठूलो समस्या भनेको भाषा हो । नेपालमा इन्जिनियरिङ, हेल्थ, पोलटीकल साइन्स, आदि गरेर गएपनि नर्वे पुगेपछि पहिलो काम गर्ने भनेको नन एकेडेमिक नै हो । यहाँ मान्छे भाडा माझ्ने त सरसफाईको काम सुन्नै रुचाउँदैनन् । तर त्यहाँ पुगेपछि कतिपयको बाध्यता हुन्छ, जुन मैले पनि केहि समय गरे । र सुरुवाती समयमा त्यहाँ टिक्नका लागि नसोचेका कामहरू पनि गर्नुपर्छ । अर्को कुरा विद्यार्थीहरूले प्रत्येक वर्षमा भिसा नबिकरण गर्नुपर्छ । त्यसका लागि विद्यार्थीको बार्षिक कमाइ १,०३,९०५ क्रोनर अर्थात् करिब १३ लाख नेपाली रूपैयाँ आफ्नो बैंक खातामा हुनु पर्दछ । पछिल्ला वर्षहरूमा केहि बिद्यार्थीहरूमा भिषा नबिकरणमा समस्या देखापरेको छ । अर्को कुरा जाडो याममा ५ महिना लगातार अन्धकार हुन्छ । केहि विद्यार्थीहरूमा डिप्रेसन र होमसिकनेसको समस्या देखापर्छ । जाडो याममा सुर्यको किरण नदेखिने हुँदा त्यो अबधि भर भिटामिन डी खानुपर्छ । र पढाइ सकिएपछि आफ्नो अध्ययन अनुसारको काम नपाउँदा नेपाल फर्कनु वा अन्य कुनै मुलुक जानुको बिकल्प हुँदैन । अध्ययन गर्न गएका मध्ये ७.५ प्रतिशतले मात्र आफ्नो अध्ययन अनुसारको काम पाएको रिपोर्टले देखाउँछ ।
उच्च शिक्षाका लागि नर्वे जान चाहाने विद्यार्थीहरूलाई के भन्नुहुन्छ ?
नर्वे आफैमा एउटा सम्पन्न र बिकसित राष्ट्र हो । बिकसित राष्ट्रमा गएर अध्ययन गर्दा विद्यार्थीले आफ्नो क्षमताको उजागर गर्न पाउँछन् । त्यहाँका युनिभर्सिटीहरूमा अध्यापन निःशुल्क हुन्छ । यो हामी जस्तो गरिब राष्ट्रका विद्यार्थीलाई निकै लाभदायक हो । नेपाली विद्यार्थीहरू अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपका अन्य मुलुकमा लाखौँ खर्च गरेर अध्ययन गर्न जान्छन् । कतिपयलाई नर्वेको शैक्षिक पद्धति र यहाँको निःशुल्क अध्यापन प्रणालीको बारेमा थाहा नहुन सक्छ । धेरै विद्यार्थीहरू कन्सल्टेन्सीमार्फत जानुहुन्छ ।
वास्तवमा नर्वे जान कन्सल्टेन्सी धाउनु पर्दैन । तपाईहरू कुन युनिभर्सिटीमा जान चाहनुहुन्छ त्यो युनिभर्सिटीले पढ्नेदेखि लिएर सबै कुराहरूको जानकारी वेवसाइटबाट दिएको हुन्छ । प्रत्येक युनिभर्सिटीहरूले आन्तरिक रूपमा विदेशी बिद्यार्थीहरूलाई निश्चित सिटहरू तोकेको हुन्छ र त्यहि सिटहरूमा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । भर्नाको अफर आएपछि जानु भन्दा पहिले युनिभर्सिटीको बैंक खातामा डिपोजिट स्वरूप १,०३,९०५ क्रोनर (लगभग १३ लाख नेपाली रूपैयाँ) पहिले पठाउनु पर्ने हुन्छ । त्यसपछि सबै कागजपत्र सहित एम्बेसीमा एप्लाई गर्नुपर्छ र भिषा लगभग निश्चित नै हुन्छ । नर्वे पुगिसकेपछि यो सबै रकम युनिभर्सिटीले एक महिना पछि विद्यार्थीको बैंक खातामा फिर्ता गरिदिन्छ । विदेश गएर अध्ययन गर्नु आफैमा राम्रो पक्ष हो र त्यहाँ सिकेको सीपलाई नेपालमा उपयोग गर्न सक्नु झन् महानता हो ।
विवेकशील नर्वेका बारेमा केही बताइदिनुहुन्छ की ?
नर्वेमा रहेका हामी विशेषत सामाजिक काममा सक्रिय केही युवाहरू मिलेर २०१५ मा विवेकशील नेपाली नर्वेको स्थापना गरेका हौँ । विवेकशील नागरिक, उद्यमशील समाज, सेवक सरकार र हितकारी राज्यलाई मूल धार मानेर हामीले यो संगठनको स्थापना गरेका हौ । स्थापनाकाल देखि नै हामीले नेपालका विभिन्न स्थानहरूमा सामाजिक सहकार्य, आर्थिक सहयोग र जिन्सी सहयोग गर्दै आइरहेका छौँ । पछिल्लो समयमा यो संस्था नर्वेमा बस्ने युवाहरू माझ आस्थाको केन्द्र बन्दै गईरहेको छ ।
यहाँको संस्थाले समस्यामा परेका विद्यार्थीलाई कस्तो सहयोग गरेको छ ?
यसमा हामी सबै युवाहरू भएकाले पनि सामाजिक काममा सक्रिय छौं । नर्वेमा जस्तो सुकै समस्या परे पनि हामीले उहाँहरूलाई सिधै सम्पर्कमा आउन अनुरोध गरेका छौं । साथीहरू विभिन्न समस्या लिएर संगठनमा सल्लाह लिन आउनुहुन्छ । धेरैजसो साथिहरू कानुनी परामर्सको लागि आउनु हुन्छ र हामीले साथीहरूलाई वकिलसँगै राखेर निःशुल्क कानुनी परामर्श दिदै आएका छौँ । ओस्लो भन्दा बाहिरबाट आउनु भएका साथीहरूलाइ अपार्टमेन्टको बन्दोबस्त र काम खोजिदिने व्यवस्था गरेका छौँ । यसको लागि हाम्रो संगठनमा एउटा छुट्टै युनिटले काम गर्दै आइरहेको छ । हामीले आजसम्म हाम्रो बलबुताले भ्याएसम्म सहयोग गरेका छौँ । यदि नर्वेको बारेमा बुझ्न चाहनुहुन्छ भने अथवा केहि समस्यामा हुनुहुन्छ भने विद्यार्थी साथीहरूलाई सिधै हामीलाई सम्पर्क गर्न अनुरोध गर्दछौ ।
पछिल्लो समय युरोप पुगेका युवाहरूको मृत्युको कारण के होला ?
युरोपमा युवाहरूको क्रेज बढ्नु स्वाभाबिक हो तर यहाँ आएपछि विभिन्न समस्याहरू छन् । सामान्यत युरोप आउँदा एक नेपालीले १५ देखि २० लाख सम्म खर्च गरेर आउछन । यो लगँनी उठाउन कम्तिमा पनि ४ वर्ष लाग्छ । गैरकानुनी रूपमा लुकेर बस्नु पर्दा यसले कमाइमा असर पर्दछ । कतिपयलाई अबैध बसोबासका कारण घर फर्कन समस्या देखापर्छ, कतिपय थोरै कमाइका कारण मानसिक रोगी बन्दछने । केहीलाई विदेश आउदा लिएको ऋणको ब्याज समयमा तिर्न नसक्दा तनाब हुन्छ त केहीलाई पारिवारिक तनाब बढी हुन्छ । युरोपको अन्य देशहरूमा केहि नेपालीले आत्महत्या गरेपनि आजसम्म नर्वेमा कोहि नेपालीले यस प्रकारको समस्याबाट आत्महत्या गरेको सुन्नमा आएको छैन । सवारी दुर्घटनामा र कार्य क्षेत्रमा मृत्यु हुने नेपालीको संख्या लगभग सुन्य प्रतिसत नै छ ।
नर्वे नै बस्नुहुन्छ की देश फर्केर केही गर्नुहुन्छ ?
अरुको देशमा राजा हुनु भन्दा आफ्नै देशमा नोकर हुनु बेश । जब आफूसँग केहि थिएन र आर्थिक स्थिति कमजोर थियो त्यति बेला केहि सिक्न र कमाउनको लागि नर्वे गइयो । अब चाही जुन देशमा हुर्कियो बढियो त्यहि देशको लागि केहि गर्ने बेला आएको छ । अब त्यहाँको केहि अफिसियल कामहरू मिलाएर १ वर्ष भित्रै नेपाल फर्कने प्लान छ । अब पनि हामी जस्ता युवाहरू देश फर्कन ढिलो गर्यौ भने देशले कहिल्यै फड्को मार्न सक्दैन । विदेशले धन सम्पति, ऐश आराम देला तर नेपालीपन र नेपाली सामाजिक जीवन कहिल्यै दिन सक्दैन । र जहिले पनि दोस्रो दर्जाको नागरिक भएर रमाउनु पर्दछ । नेपाल फर्केर शैक्षिक क्षेत्रमा लगानी गर्ने सोच बनाएको छु ।
वि.सं.२०७४ जेठ ७ आइतवार १२:३६ मा प्रकाशित