back
CTIZAN AD

बाढीले केराखेती नष्ट भएपछि मर्कामा किसान

वि.सं.२०८१ असोज ३० बुधवार

927 

shares

राजविराज (सप्तरी) । यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरुको व्यवसाय चौपट भएको छ । भारदहमा मात्रै बाढीले पाँच सय बिघामा लगाएको केराखेती नष्ट गरेको थियो ।

बाढीले फलेको केरा खेतमै डुब्नुका साथै ढलेर नष्ट भएको थियो । यसबाट व्यावसायिक रुपमा केराखेती गर्दै आएका किसान मर्कामा परेका छन् । बिक्री गर्ने समयमा आएको बाढीका कारण केराखेती गर्ने किसानलाई लाखौँ रुपैयाँको घाटा भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवाका विलक्षण खंग १० कट्ठामा लगाएको केराखेती कोसी नदीको बाढीले नष्ट गरेपछि लाखौँ रुपैयाँको घाटा बेहोर्नुपरेको बताउँछन् ।

उनले भने, “मैले १० कट्ठा जमिनमा करिब दुई सयजति केराका बोट लगाएको थिए, बाढीका कारण त्यो अहिले खेतमै सुकिरहेको छ ।” खंगले केराखेतीबाट गरेको आम्दानीकै भरमा नौ जनाको परिवार पाल्दै आएका थिए । केरा बेच्न तयार भएको समयमा आएको बाढीले सखाप पारेपछि अब अन्य विकल्प सोच्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

खंगले दसैँ, तिहार तथा छठ पर्वमा गत वर्ष झैँ यस वर्ष पनि ठेलामा लिएर सप्तरीको कञ्चनपुर, रुपनगर हनुमाननगर र भारदह बजारमा बेचेर मनग्य आम्दानी गर्ने योजना बनाएका थिए । “बाढीले योजना भताभुङ्ग बनाइदियो”, उनले भने । फलेको केराको बोट खेतमै ढलेपछि पानीमै कुहिएको उनले बताए ।

सोही ठाउँका किसान शोभानन्द यादवले पनि सात बिघामा केराखेती लगाएका थिए । उनको पनि सबै केराका बोट बाढीका कारण नष्ट भएका छन् । उनी भन्छन्, “सरकारले राहत तथा क्षतिपूर्तिको व्यवस्था नगरे त यहाँका किसान पलायन हुनुपर्ने अवस्था छ ।” बैंकबाट ऋण काढेर केराखेतीमा हात हालेकाले ब्याज र लगानी उठाउन समस्या भएको उनको भनाइ छ ।

हनुमाननगर कङ्कालिनी–१ कोसी पलारमा लगाएको केराखेती बाढीले सखाप भएको छ । यहाँ एक सय पाँच किसानले जग्गा भाडामा लिएर केराखेती गर्दैआएका थिए । हनुमाननगर कङ्कालिनी–२ सकरदहीका दिनेशकुमार राउतले मात्रै कोसी नदीको किनारमा १० बिघामा केराखेती गरेका थिए । सबै नष्ट भएपछि उनी अहिले चिन्तामा छन् ।

“दसैँ, तिहार र छठमा केरा बिक्री गरेर पर्याप्त आम्दानी गर्ने सोचमा थिए, दसैँ सुरु हुनु अगाडि नै दसा लाग्यो”, राउतले भने, “केराखेतीकै आम्दानीले छोराछोरी पढाउने तथा घरखर्च चलाउने योजना थियो, बाढीले सब चौपट बनायो ।” केराखेतीमा पसेको बाढी सुकेपनि केराका घरी यत्रतत्र छरिएर खेतमै रहेका छन् ।

भारदह–१ की आशाकुमारी मण्डलले १५ कट्ठामा केराखेती गरेका थिए । बाढीले त्यो सब नष्ट पारिदिएको छ । उनका सात दिदीबहिनी मिलेर केराखेती गरेका थिए । केराखेती नष्ट भएपछि लगानी डुबेको उनले बताए । केराखेतीकै आम्दानीले गुजारा गर्दै आएकाले बाढीले केरा नष्ट गरेपछि परिवार पाल्न समस्या भएको मण्डल बताउँछन् ।

“खेत रु ३० हजारका दरले भाडामा लिएर केरा लगायौँ । केरा नष्ट भएपछि भाडा तिर्ने अवस्थासमेत रहेन”, उनले भने । घरछेउमै दसँैमा कङ्कालिनी भगवती मन्दिरमा लाग्ने मेलामा केरा बेचेर आम्दानी गर्ने मण्डलको इच्छा बाढीका कारण पूरा हुन पाएन ।

बाढीका कारण भारदह–१ भलुवाका रामदेव मण्डलले ५० कट्ठा जग्गामा लगाएका केराखेती नष्ट भएको छ । केराखेती सबै कोसीको बाढीले बगाइदिएपछि उनी साहुँको ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन् । भगवतीप्रसाद मण्डलको अवस्था पनि रामदेवको जस्तै भएको छ । “दश कट्ठामा लगाएको केराखेती सब सखाप भयो, यो वर्ष दसैँ जस्तै तिहार र छठ पर्व पनि राम्रोसँग मनाउन नसकिने भयो, घरखर्च टार्नै मुश्किल भयो”, उनले पीडा सुनाए ।

केरा बिक्री गरेर मनग्य आम्दानी गर्दैआएका इनर्देव लोगी वैकल्पिक उपायको खोजीमा छन् । लगाएको केराखेती नष्ट हुँदा घर खर्च चलाउन समस्या भएको भलुवाका रामचन्द्र ठाकुर बताउँछन् । एक बिघा क्षेत्रफलमा केराखेती गर्न एकपटकमा रु दुई लाखभन्दा बढी खर्च हुने गरेको उनको भनाइ छ ।

बाढीले लाखौँको क्षति भएपछि यहाँका किसानको केराखेतीतर्फ आकर्षण घट्ने भएको छ । किसानले हालसम्म कुनै निकायबाट पनि राहत नपाएको गुनासो गरेका छन् । यसअघि गत वैशाखमा हावाहुरी आउँदा पनि केरा ढलेर किसानले ठूलो क्षति बेहोर्नुपरेको थियो । रासस

वि.सं.२०८१ असोज ३० बुधवार ०८:०९ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...