हिजोको नेपाली समाजमा छोराको विवाह गर्नुपर्दा सकेसम्म धनी परिवारको केटी विवाह गर्ने र दाइजो कति दिन्छन् भन्ने कुरालाई प्राथमिकतामा राख्ने गरिएको थियो तर आज नेपाली समाजमा फरक दृश्य देखिन थालेको छ । यसलाई पालो फेरिएको भन्ने वा महिलाको दिन आएको भन्ने वा स्वतन्त्रताको उपयोग ठान्ने आ–आफना तर्कना होलान् तर यसले समाजलाई भने गलत बाटो तर्फ मोडिरहेको देखिन्छ ।
थाहा छ यो धारणा लेखिरहँदा केही दिदीबहिनीहरुको आलोचनात्मक टिप्पणीहरु पनि आउला, अनि कतिपयले गाली पनि गर्नुहोला । तर यस्ता प्रवृत्ति बढ्दै गयो भने समाजलाई नराम्रो असर पार्दछ भन्ने चिन्ता रहेको छ । केहीबर्ष देखि विवाह जस्तो पवित्र सम्बन्धलाई खेलाँची बनाउने र पैसासँग साट्ने प्रवृत्ति एकपछि अर्को गर्दै बढेका छन् । झण्डै ५–६ वटा घटनाहरु त आफन्त र चिनेजानेकाको परिवारमा परेको र त्यसको प्रत्यक्ष प्रभाव देखे भोगेदेखि यो कुरालाई पनि अब सामाजिक बहस बनाउनु पर्ने हो की भन्ने महशुस गर्दै यो लेख लेख्ने निर्णयमा पुगेको हुँ ।
हामी जबसम्म त्यसको शिकार आफै बन्दैनौ, अरुको परिवारमा परेको पीडालाई महशुस गर्न सक्दैनौ । नकरात्मकता राख्दै अनेक टिकाटिप्पणी मात्र गर्दछौँ । हामी सचेत नागरिक हौँ भने मानवले पाएको पीडालाई आफैले अनुभूति गरेर सल्लाह सुझाव दिनु पर्दछ भन्ने लाग्दछ । समाजमा बढ्दै गैरहेको एक फरक प्रवृत्तिको रुपान्तरणको अपेक्षा सहित लेख्दा नै समाजमा सकरात्मकता बढ्छ की भन्ने ठम्याइ मेरो रहेको छ ।
घटना १ : ३ दाजुभाई भएको परिवारमा कान्छो छोराको विवाह धेरै समय टिकेन । विवाह भएको एक डेढ वर्षमै केटीले २५ लाख मागेर सम्बन्ध विच्छेद मागिन् तर परिवारले दिन नमानेपछि सगोल परिवारको सम्पत्ति नै रोक्का हुनपुग्यो ।
घटना नं २ : एक आफन्तको ३ करोड त सोल्टीमा पार्टी गर्न मात्र खर्च गरेर छोराको विवाह भयो, केही महिनामै केटीले डिभोर्स मागिन । ३ करोड न्यूनतम माग भयो । परिवार ६ करोडमा पुग्यो । सुने अनुसार केटी अर्कै केटासँग क्यानडा पुगेकी छन् । अहिले त्यो बाबुका लागि केटी खोज्न परिवार कष्टमा छ । ६ करोड सजायमा परेका ती आफन्त सम्झिदा मन जहिले पनि कुटुकुटु पारेकै हुन्छ ।
घटना नं ३ : सामाजिक संजाल मार्फत नै केटाकेटीको कुरा भयो र विवाह पनि भयो । तर केटीको अर्कै केटासँग सम्बन्ध रहेछ । विवाह भएको ३ महिनामै २५ लाख पैसाको माग राख्दै सम्बन्ध बिच्छेद मागिन् । अन्ततः एक वर्षमा १२ लाखमा मिलोमतो भयो ।
घटना नं ४ : उच्च पदमा जागिररत सरकारी कर्मचारी, आफन्तबाटै कुरा आएपछि विवाह भयो, तर ६ महिनामै डिभोर्स भयो । केटीले २६ लाख जति लिइन् । पीडाबीच अहिले परिवारलाई बुहारी खोज्न सकस बनिरहेको छ ।
घटना नं ५ : ‘चिनेजानेकै मान्छेबाट प्रस्ताव आयो विवाह भयो, तर विवाह केही महिनामै टुंगियो । किनकी केटीको अन्त केटा रहेछ । केटीले डिभोर्स गरिन् । अहिले मलाई पो गाह्रो भयो ।’ विवाह गराइदिने व्यक्तिले गुनासो पोखे ।
घटना नं ६ : प्रेमविवाह भयो । विवाहमा भव्य खर्च गरियो । धनि परिवार सकेसम्म आफ्नो औकात भन्दा पनि अझ बढेर सुन कपडाहरुमा खर्च गर्न हौसियो । तर केही महिनामै केटीकोे अर्को केटासँगको सम्बन्धका कारण विवाहलाई टुङ्ग्याइयो । धेरै जसो धनि परिवारमै यस्ता घटनाहरु घटेको देखियो ।
मैले चिने जानेकै र आफन्तहरुकै परिवारमा छोराहरुको विवाहपछि २ महिना देखि ६ महिनाको अवधिमा केटीले डिभोर्स गर्ने, अनि बार्गेनिङ गरेर सम्पत्ति लिएर जाने गरेको देखियो । छोरीको सम्बन्ध जुटाइ राख्न भन्दा पनि डिभोर्स गरी पैसाको मोलमोलाइमा परिवारका बाबुआमा नै सामेल भएको घटना पनि देखियो । हुनत समाजमा हुने एकदुई घटनालाई लिएर समग्रमा मुल्यांकन गर्नु त हुँदैन तर एकवर्ष अवधिमै म आफैले देखेका यी केही प्रतिनिधि घटनाहरुलाई सहजलिन मनले दिएन । यो घटना समाजमा बढ्दै गयो भने त्यस्ता व्यक्तिहरुका कारण विवाह नै व्यवसाय पो बन्ने हो की, छोराको सम्बन्ध टुटि पो हाल्ने हो की भन्ने डर परिवारमा रहने अवस्था हुन सक्छ । यी घटनाहरुमा प्राय केही महिलाहरु अरुसँग सम्बन्ध राख्ने अनि विवाह अर्कैसँग गरेर विवाह भएको केही महिनामै सम्बन्ध विच्छेद गरेर लाखौं पैसा माग्ने अनि आफ्नो केटा साथीसँग विवाह गर्ने देखियो ।
हिजो पुरुषहरुले दाइजोका लागि धनि परिवार खोज्दै विवाह गर्दथे, आज केही महिलाहरु पैसाकै लागि धनि केटासँग सम्बन्ध जोड्ने अनि केही महिनामै डिभोर्स गरेर अंश लाने गरेको माथिका घटनाहरुले देखाएको छ । हुनत यसलाई समाज परिवर्तन मान्नेहरु हिजो पुरुषले गर्दथे आज केहि महिलाले गरे के भयो र भन्नेहरु पनि हुनसक्छन् तर जीवन जाने सम्बन्धलाई पैसामा साट्ने प्रवृत्ति जसले गरे पनि गलतै हो । सँगैको छिमेकीले गरेको कुरालाई टपक्क टिप्नु नै आफूलाई परिवर्तन ठान्ने हाम्रो समाजमा यदि यस्तो प्रवृत्ति बढ्न थाल्यो भने त्यसले पार्ने असर कस्तो होला शायद अनुमान आज गर्न भने पक्कै सक्छौँ । त्यो परिवारलाई परेको हो मैले किन चिन्ता गर्नु पर्यो, मलाई परेको छैन भन्ने जस्तो सोच हामीमा रहनु भनेको गलत प्रवृत्तिलाई झनै मलजल गर्नु हो । सुरुवातमै हामीले यस्ता विषयको उठान गरिएन भने त्यसले भोलि समाजलाई विघटनतर्फ लान सक्छ ।
विवाह पछि बुहारीले सम्पत्ति लगि भन्दा पनि फेरि छोराको विवाह गराउनु भनेको बाबुआमाका लागि निकै सकस परेको घटनाहरुले देखाउँछ । त्यसै त केटाले केटी पाउन गाह्रो हुँदै गैरहेको नेपाली समाजमा एकपटक विवाह गरेर एकल बन्नु परेका केटाहरुलाई फेरि विवाह गर्ने केटी खोज्नु मुस्कील हुने गरेको छ । आजकल बरु एकल महिलालाई कुमार केटाको परिवारबाट विवाहका लागि प्रस्ताव आउन सक्छ तर पुरुष एकल भए कुमारी कन्या पाउन निकै नै गाह्रो छ । विदेश नभएको केटालाई ज्वाईं बनाउन परिवार नै राजी हुँदैनन् । विवाह गर्नकै लागिभने पनि विदेश जानु पर्ने बाध्यताबाट छोराहरु गुज्रीनु पर्ने अवस्था आउन सक्ने सम्भावना नेपाली समाजमा रहन्छ, भन्नु अन्यथा नहुन सक्छ ।
त्यस्तै छोराहरुकै लागि अर्को गम्भिर विषय पनि हाम्रो समाजमा बढ्दै गएको छ । देशमै बस्छु, मलाई देशभित्रै सबैथोक छ । विदेश जान्न, परिवारलाई छाडेर जान सक्दिन भन्नेहरु नालायकमा गनिने मनोवृत्ति नेपाली समाजमा विकसित हुँदैछ । उनीहरु जति नै सक्षम भएपनि विदेश नजाने भनेपछि केटी पाउन गाह्रो हुँदै गैरहेको अवस्था अहिले नै देखिन थालेको छ । एकजना साथीले सुनाउनु भयो ‘मेरो छोराहरु इन्जिनियर छन् विवाह गर्न केटीखोज्न पर्यो भनेर १०० जना चिनेजानेकाहरुलाई भने कतैबाट कुरा आएको छैन बरु उल्टो तेरा छोरा बिदेश किन गएनन् के कमजोरी छ भनेर प्रश्न गर्छन् ।’ छोराहरु विवाह योग्य भएका बाबुआमालाई सोध्नुस् शायद धेरैबाट केटी नपाइएकै हैरानहरु सुन्न सक्नुहुन्छ । केटीहरुको विवाहका लागि पहिलो मापन नै विदेश भएको केटा भन्ने रहेको छ । यस्तो मनोवृत्ति झनै विकास हुँदै जाने हो भने भोलि समाजमा यसले पार्ने असर के होला कहाली लाग्दो दृश्यको अनुमान अवश्य गर्न सक्छौँ । विवाह भएपछि पनि छोराबुहारीको सम्बन्ध कस्तो होला भन्ने चिन्ताबाट बाबुआमा मुक्त नहुने अवस्था छ । म ब्यक्ति स्वयम्लाई त्यस किसिमको पीरलो नभए पनि छोराछोरीको फरक पीडाबाट गुज्रीएकै छु भन्ने कुरा लुकाउन सक्दिन ।
यसैगरी अर्काको घरमा जहान छोराछोरी छँदाछँदै पद, पैसा र हाउभाउ देखेर पछि लाग्दा पुरुष र महिला साथीहरुको बेहाल भएको पनि देखिएको छ । व्यभिचारको निकृष्ट खेतिमा बहकीने र रंगीचंगी दुनियामा डुब्ने क्रममा कानुनी रुपमा सिंगल र लीगल हुने मात्र लिभिंग टुगेदरको हकदार हुनसक्छन् भनेर बुझन नखोज्नेका सपनाहरु उडन्ते मात्रै बनेका छैनन्, त्यसले समाजमा अनैतिकताको पराकाष्ठा बढाएको छ ।अनैतिक सम्बन्धको खेति बढाउने पुरुष आर्थिक रुपले जर्जर र सामाजिक रुपले पतित भएका पनि छन भने पैसा नै पाएपनि महिलाहरुमा पर्ने मनोबिज्ञानले समाजमा बिक्षिप्तता पनि थपेको छ ।
हिजोका दिनमा विवाहको कुरा अघि बढाउँदा सात पुस्ता हेर्ने चलन थियो । परिवार देखि मामाघर तर्फको परिवारको पृष्ठभूमि अर्थात कुल र वंश हेर्ने गरिन्थ्यो । विवाहलाई सम्पत्तिआर्जन गर्ने गतिलो स्रोत बनाउने प्रवृत्ति बढ्दै जान थालेको अवस्थामा संस्कार र सभ्यता हेर्ने चलन यथार्थपरक मान्न सकिन्छ । अहिलेको प्रवृत्ति र यस्ता घटनाहरुले अब विवाह गर्नुपर्दा पारिवारिक पृष्ठभूमि हेर्नुपर्ने पाठ सिकाएको छ । यस्ता घटनालाई रोक्ने कुनै उपाय त पक्कै छैन, तर विवाह गर्नुअघि दुवैपक्षको बारेमा गहिरो जानकारी राख्नु पर्ने देखिन्छ । शायद समाजका यिनै बिम्बहरुलाई उतारेर प्रदर्शनमा आईरहेको चलचित्र बेहुली फ्रम मेघौलीले केहि शन्देस दिन खोजेको छ । पैसा भयो भने सबैथोक कमाउन सकिन्छ भन्ने प्रवृत्ति मौलाउँदै गएको नेपाली समाजमा विवाह सम्बन्धलाई सम्पत्तिसँग तौलने अवस्था बढ्न थाल्यो भने यसलाई सामान्य नै हो भनेर बस्न भने हुँदैन । घाउ न त कोट्याएर सन्चो बनाउन सकिन्छ न त घाउलाई बढाएर छिटो निको बनाउन सकिन्छ । हुन सक्छ कतिपय विवाहमा विविध कारणले सम्बन्धविच्छेद अनिवार्य पनि हुन सक्छ तर विवाहलाई पेशा बनाउने प्रवृत्ति नबढोस् भन्ने तर्फ हामीले सोच्न भने पर्दछ । विवाह एउटा सामाजिक सभ्यता अन्तर्गतको अनुबन्ध भएकाले यसको मर्म, निष्ठा र मर्यादालाई अंगिकार गर्न सक्नुपर्दछ । विवाहपछि जीवनको कोर्षमा आउने उतारचढावको व्यवस्थापन गर्न नयाँ आधारमा नया एकताको पहल र प्रयास सकेसम्म जारी राख्नुपर्दछ । समझदारीको नविकरण असम्भव भएको अवस्थामा मात्र मानवतालाई केन्द्रमा राखेर सम्बन्ध विच्छेदको प्रक्रिया गरौं । विवाहलाई पैसाको खेल बनाउने र कसैको जीन्दगीलाई मजाक बनाउने काम नगरुँ ।
वि.सं.२०८१ कात्तिक ४ आइतवार ११:४८ मा प्रकाशित