गजेन्द्र मोक्तान, पाँचथर !
यदि मरेँ भने युद्धमा
बाकसभित्र हालेर घरमा
पठाउनु भए सम्भव
नत्र जलाउन मिले जलाउनु
न मिले माटोमा लुकाउनु
त्यो पनि न मिले कतै फालिदिनु
मेरो लासलाई ।
राईफल राखेर छातीमाथि
मेरी आमालाई भनी दिनु
राम्रो काम ग¥यो बहादुर
भएर सिपाही
आमा,
आँसुका थोपा न झार्नु
अतितलाई सम्झेर
ज्यान मात्र सुक्ने हो हजुरको
म त फर्केर आउँदिन नि
त्यसैले ज्यान सुकाउने
काम नगर्नुहोस् ।
हाम्री हजुरआमाले
अस्ति कान्छा काका गुमाए पनि
बाँच्न विवस छिन्
पीडाको बोध हुन्छ बेलाबेला
कसरी सक्छिन् होला मनलाई बुझाउन
गाह्रो हुन्छ मलाई त
त्यसरी नै त्यो मनलाई
सम्हाल्नु है आमा ।
मेरो बुबालाई भन्नु कि,
नगर्नु चिन्ता
छोराको चित्त दुख्ला भनेर
अब अंश मिलाउनु पर्दैन छोराको
उसले लड्दा लड्दै
प्राप्त ग¥यो वीरगति
अनिश्चितकालीन यात्रा तय गरेर ।
भन्नु
मेरो प्यारो भाइहरूलाई
राम्ररी गरिखानु
तिमीहरू मध्ये कसैले
लिनु बाइकको चाबी
र गाडीको चावी
गर्नु घर व्यवहार
नहुनु म जस्तै सिपाही
जति भएका
सम्पत्ति भोगचलन गर्नु
घट्यो अब
भागवण्डा ।
मेरी बहिनीलाई सम्झाउनु
कहिल्यै निराश नहुनु
विगत झै तिहारको पललाई
भुल्ने कोसिस गर नानी
सम्झेर नरुनु र बुझ्नु
डुबे पछि घाम
फेरि उदाउने छैन
भोलि बिहान तिम्रो दाइ ।
मेरा प्रिय मित्रहरूलाई यो खबर
नभन्नु ल,
उनीहरू साह्रै दुखी हुनेछन्
पार्टी, रमाईलो र घुमघामको
बारेमा उनीहरूले यदि सोधेँ भने!
मेरी प्रियसीलाई भन्नु कि,
नियतीको खेल र खहरेको भेलको
नियत कहाँ जान्न सकिन्छ र ?
पिर चिन्ता नगर प्यारी
सार्नु पेन्सनपट्टा
तिम्रै नाममा
बाँकी छ उमेर तिम्रो
विकल्प सोच्नु है ।
वि.सं.२०८१ कात्तिक १० शनिवार ०५:०५ मा प्रकाशित