मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर
‘मेरो उद्धार गर ।’
कसैको उच्छ्वासी आवाज आयो । मलाई नै बोलाएको जस्तो लागेर यताउति सबैतिर हेरेँ कोही थिएन । भ्रम वा यथार्थ छुट्याउन निकै चनाखो भएँ । आफ्नै मुटुको धडकन कानमा गुन्जिनु बाहेक अरू केही आवाज आएन ।
‘भ्रम पो रहेछ ’ सोच्दै दुई पाइला के सारेको मात्र थिएँ, फेरि आवाज आयो –
‘यहाँ निस्सासिदो र उकुसमुकुस छ, म बाच्न चाहान्छु, स्वतन्त्रको सास फेर्न चाहन्छु मलाई बाहिर निकाल ।’
पक्कापक्की भयो कसैले उद्धारको लागि मेरो हात मागिरहेछ ।
यतिखेर म एक सेकेण्ड ह्याण्ड (दोस्राहाते) पुस्तक बिक्री केन्द्रको सानो कक्षमा थिएँ । बग्रेल्ती पुराना किताबहरूको रास । कतै बोरामा कोचेर राखिएका छन् त कतै भूईँमै लम्पसार परेका, कतिपय धुलिधुसर भएर मरणासन्न भएका ।
एउटा पुरानो किताब निकाल्दा किताबभन्दा पहिले त्यसको धूलो कोठामा फैलिन्थ्यो । अधिकांशमा ढुसी र किरा र पन्नाहरू धुजा धुजा भइसकेका । यस्तो लाग्थ्यो प्रत्येक पुस्तकहरू झोल घोप्टिएका जस्ता अँध्यारो मुहार लगाएर कताकता हेरिरहेका थिए, थकान र भय र मदौरु अनुहारले सत्तोसराप गरिरहेका थिए ।
मैले आवाजलाई निकै ध्यानपूर्वक सुने । आवाज एक पाटको बोरा भित्रबाट आएको थियो । एक एक गर्दै त्यसमा खाँदिएका पुस्तकहरूलाई बाहिर निकाल्दै स्वतन्त्रको सास फेर्न दिएँ । यसै क्रममा शारीरिक रूपमा छाला उप्किएर, घाउ पिल्सिएर गुहार माग्ने पुस्तक मेरो हात पर्यो ।
प्रेमले सुम्सुम्याए र नियालेर हेरेँ । मेरो आँत सुकेर आयो, गला अवरुद्ध भयो, रिँगटा लागेर आयो ।
त्यो पुस्तक मेरो पहिलो सन्तानको रूपमा जन्मिएको कृति थियो ।
वि.सं.२०८१ कात्तिक १० शनिवार ०५:०४ मा प्रकाशित