समीप बैरागी, रोल्पा
पर्खन हौ पर्ख
ए पर्वहरू !
बुर्कुसी मार्दै – मार्दै नआऊ
कति हतार गर्छौ
गरिबको बिलौना हेर्न ।
केही बेर तिमलिनु उतै
आलिसान महलका झुमरहरूमा
केही बेर आराम गर्नु उतै
शुभकामना आदान प्रदान हुने
पाटी प्यालेसका कुर्सीहरूमा ।
झुल्कने छैन–मजदुरको आँखामा
भर्भराउँदो रोमानी दृश्य
बल्ने छैन–हृदयको आँगनीमा दिपावली ।
लाउन पाउने छैनन् ÷ खेलाउना पाउने छैनन्
अबोध बालबालिकाहरू–नानाचाचा ।
यसपालि पनि
आइपुग्ने छैन परदेशी मजदुर
त्यसै ओइली जाने छ मखमली फूल ।
कालो कोट लाउनेहरूको मुठ्ठी भित्र
एक घुट्की पानी मागिरहेछ–खुसी ।
गलत व्याख्या गरेर
श्रम ऐनका दफा र उपदफाहरू
अपमान गरिँदैछ पसिनाको मूल्य ।
पर्खन हौ पर्ख
ए पर्वहरू !
केही बेर उतै रुक
कति हतार गर्छौ
गरिबको बिलौना हेर्न ।
बरू आउन –
मजदुरहरूको जिन्दगीमा
इन्द्रेणी रंङ पोतिएको दिन
जुन पल मुस्कानहरूको भव्य स्वागत पाउने छौ ।
वि.सं.२०८१ कात्तिक १० शनिवार ०५:०२ मा प्रकाशित