कलानिधि दाहाल,रातोपुल, काठमाडौं
सबै प्राणी हुन्छन् तनमय हुने यो भुवनमा
कुनै भद्दा हेर्नै पनि नसकिने जीव तनमा ।
चरीजस्तो हल्का गगनपथ उड्ने चयनमा
सबैको प्यारो हो सुखद पनि हो ज्ञानगरिमा ।१।
न छन् ज्यादा भारी उससित कतै सञ्चय कला
न छन् बस्ने यौटै परिधिभरका जीवन थला ।
न छन् आँखा डाही अलि पर छरी लालभरिमा
सबैको प्यारो हो सुखद पनि हो ज्ञानगरिमा ।२।
न खोज्ने हो धेरै पहिरिन लिई वस्त्र बलमा
न गर्ने कैल्यै ऊ अवसर ढुँडौँ छालछलमा ।
यता मान्छे यस्ता भइदिन सके चेतभरिमा
सबैको प्यारो हो सुखद पनि हो ज्ञानगरिमा ।३।
हुने भोका खाउन् विवश नबनुन् क्वै जन हुने
हुने नाङ्गा लाउन् विवश नबनुन् क्वै जन हुने ।
सदा सच्चा यो नै मनभर भए योजन जना
सबैको प्यारो हो सुखद पनि हो ज्ञानगरिमा ।४।
खुला पानाजस्ता मनरमणका मन्दिर भए
म मेरो मात्रा नै स्वरसँग सबै ठठ खुस्कन गए ।
यता गाढा जम्मै मनुज दिलका चेतभरिमा
सबैको प्यारो हो सुखद पनि हो ज्ञानगरिमा ।५।
रबाफी स्वाँठाका पन सब हटी स्वच्छ झरना
झरेजस्ता झर्ने भइदिन सके मानव पना ।
हुने हो सच्चा जीवन रथ सधैँ मूल्यभरिमा
सबैको प्यारो हो सुखद पनि हो ज्ञानगरिमा ।६।
विना स्वार्थी साधा जग छ रसिलो भन्न सकिने
म मेरो वा जम्मै मधुवय बनुन् गन्न सकिने ।
भए मान्छे यस्ता सबलगुणका उच्च गरिमा
सबैको प्यारो हो सुखद पनि हो ज्ञानगरिमा ।७।
मभन्दा ऊ खाओस् अनि पछि म खाऊँ हुन गए
मभन्दा ऊ लाओस् अनि पछि म लाऊँ हुन गए ।
मभन्दा ऊ राम्रो त्यसपछि म राम्रो हुँ भरिमा
सबैको प्यारो हो सुखद पनि हो ज्ञानगरिमा ।८।
धरा हो यो यौटा अचल छ चुला उठ्नु नपरोस्
कतै अन्यायीका दहन दलमा फुट्नु नपरोस् ।
भए जम्मै यस्ता दिलभर खुलाका मधुरिमा
सबैको प्यारो हो सुखद पनि हो ज्ञानगरिमा ।९।
छन्द : शिखरिणी
वि.सं.२०८१ कात्तिक १० शनिवार ०५:०० मा प्रकाशित