back
CTIZAN AD

लोप हुँदै मखमली फूल

वि.सं.२०८१ कात्तिक १८ आइतवार

1K 

shares

गलेश्वर (म्याग्दी) । जिल्लाका ग्रामीण क्षेत्रमा पनि मखमली फूल लोप हुन थालेपछि तिहारमा मालाको अभाव देखिएको छ । भाइटीकामा दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला भाजुभाइलाई लगाइदिने चलन भएपनि मखमली फूल लोप हुँदै गएपछि माला अभाव भएको हो ।

शनिबार साँझ बेनी नगरपालिका–२ ज्यामरुककोट माइतमा आएर आज भाइटीकाका दिन आफ्ना दाजुभाइलाई लगाइदिने सयपत्रीको माला उन्दै गरेकी प्रतिभालाई मखमली फूलको अभाव खड्किएको छ । माइतीको आँगनमा दाजुभाइ र बुबाआमासँग गफिँदै माला बनाइरहेकी उनको मन भने प्रशन्न छैन, यसको कारण भने मखमली फूलको अभाव हो ।

“कति खोजेँ कहीँ पनि पाउन सकिनँ मैले मखमली फूल”, ढुङ्गानाले भनिन्, “तिहारमा दाजुभाइलाई मखमली फूलझैँ नओइलाउने हुनु भनेर माला लगाउन पाए हुने हो । मखमलीको माला नै नभएपछि मन हर्षित छैन । कति खोजे पनि भेटिएन ।”

भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई लगाइदिने मालामा अनिवार्यजस्तै बनेको मखमली फूल म्याग्दीका ग्रामीण भेगहरूबाट लोप हुँदै गइरहेको छ । ‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ प्रसिद्ध लोकगायक नारायण रायमाझीले गाएको यो गीतका शब्दमा तिहारको बेला प्रदेशबाट दाजुभाइ घरमा नआउँदाका पीडा समेटिएको छ । अहिलेका दिदीबहिनीलाई मालाका लागि मखमली फूल नपाइँदा निराश बनाएको छ ।

दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । कहिल्यै नओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइन्छ । यही फूलको माला लगाइदिएर दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गर्दछन् ।

केही वर्षअघिसम्म गाउँघरमा प्रशस्तै पाइने मखमली फूल हिजोआज लोप हुँदै गएको छ । मखमली फूल पाइन छाडेपछि भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई थुङ्गे र सयपत्री फूल तथा स्थानीय मौसमी फूलको माला लगाइदिन थालेका छन् ।

नेपालीहरूका लागि तिहारको महत्व र मौलिकतासँग जोडिएको मखमली फूल हराउँदै जानुमा तापक्रम वृद्धिका कारण माटोमा अम्लियपन बढ्नु र अनुकूलन हुनेगरी यसको संरक्षण नगरिनु रहेको जानकारहरू बताउँछन् । पछिल्ला तीन वर्षयता म्याग्दीको ग्रामीण भेगबाट मखमली फूल लोप हुँदै गएको भन्दै यसको संरक्षणमा अभाव देखिएको बेनीको न्युरोडमा पूजा तथा शृङ्गार पसल सञ्चालक टीकाराम आचार्यले बताए।

“संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्नमा पनि सुन्दर हुन्छ । मखमलीले नेपालीको सांस्कृतिक महत्व बोकेको छ । सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फुल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ । दाजुभाइलाई यही फूल झै कहिल्यै नओइलाउनु भन्ने कामनासहित माला लगाइदिने परम्परा छ”, आचार्यले भने ।

अहिले सस्ता र कृत्रिम फूलका मालाले बजारका पसल भरिएका छन् । मखमली फूलसँगै गाउँघरमा फुल्ने सुपारी, गरधौली, लालुपातेलगायत फूल पनि देखिन छाडेका आचार्यले बताए ।

पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ । प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फुले पनि देखाउनका लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको विमला सुवेदीले बताइन् । नझर्ने, नओइलाउने र वर्षौँसम्म रहिरहने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्ने उनले बताए । रासस

वि.सं.२०८१ कात्तिक १८ आइतवार ११:५६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...