झापा । किराँत धर्मका महागुरु फाल्गुनन्दले ९३ वर्षअघि नै सामाजिक कुरीति र विकृति हटाउने उद्देश्यले काटमार, मांसाहार र मदिरा सेवन गर्न नहुने धर्ममुचुल्का गराएको स्थानीय ज्येष्ठ नागरिकहरूले बताएका छन् ।
समाज सुधारकको रूपमा परिचित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज देशभर मनाइँदैछ । सरकारले २०६६ साल मङ्सिर १६ गते उनीलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको जन्म १९४२ साल कात्तिक २५ गते इलामको माङ्सेबुङ गाउँपालिका–२ इभाङको चुम्चिनाम्बामा भएको थियो । विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा उनको निधन भएको हो ।
महागुरु फाल्गुनन्दको जन्म अति गरिब परिवारमा आमा हंशमति र बुबा जगनबाज लिम्बूको कोखबाट साहिला सन्तानका रूपमा भएको थियो । उनी आठ वर्षकै उमेरमा ज्ञानी र ध्यानी भएका थिए । न्वारानको नाम नरध्वज लिङ्देन भए पनि उनी बेलायती फौजमा फाल्गुनन्दको नामबाट भर्ती भएका थिए । बेलायती सेनामा केही वर्ष काम गरेपछि फाल्गुनन्दले युद्धप्रति वितृष्णा जागेको भन्दै सेनाको जागिर त्यागिदिएका थिए । जागिर छाडेर उनी अहिंसा र किराँत धर्मको प्रचार गर्दै नेपाल, भारत र भूटानसम्म पुगेका थिए ।
किराँत धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमका अनुसार किराँत धर्मावलम्बीहरूले उनलाई पृथ्वीलोकमा धर्म प्रचार र मुक्तिका लागि ईश्वरीय प्रतिनिधि (देवदूत)का रूपमा सम्मान गर्छन् । उनका अनुसार महागुरु फाल्गुनन्दले १९८८ साल वैशाख २५ गते दश लिम्बू र १७ थुमका अगुवा व्यक्तित्वहरूलाई पाँचथरको लेबे्रकुटीमा एकत्रित गराएर ‘सत्य हाङ्मा मुचुल्का’ गराएका थिए । उक्त १० बुँदे मुचुल्कालाई फाल्गुनन्दको धार्मिक सन्देशका रूपमा मानिन्छ । तत्कालीन लिम्बूवान क्षेत्रका सबै अग्रजहरूले सहीछाप गरेको उक्त मुचुल्का नौ हात लामो काँचो कागजमा लेखिएको र त्यसको प्रतिलिपि सुरक्षित राखिएको अध्यक्ष थेगिम बताउँछन् ।
किराँती समुदायमा जन्म, मृत्यु, विवाह र उत्सवहरूमा भेला हुँदा अत्यधिक मदिरा र मासु खुवाउने उसबेलै चलन थियो । पशुको काटमारले मानिसमा हिंस्रक प्रवृत्ति र मदिराको अधिक प्रयोगले विकृति बढ्ने महागुरुले निष्कर्ष निकालेको उनको तर्क छ । सामाजिक रीति र संस्कारमा मदिरा, बलि र तडकभडक हटाउन सहज थिएन । त्यहीकारण महागुरुले किराँत समुदायका अग्रजहरूलाई लेब्रेकुटी भेलाको आयोजना गरेका थिए । भेलाका सबै सहभागीले धर्म मुचुल्कामा राजी भएर सहीछाप गरेका थिए ।
महागुरु फाल्गुनन्द किराँत वेद ‘मुन्धुम’को ज्ञाता थिए । किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने फाल्गुनन्दले प्रतिपादन गरेको धर्म मुचुल्कामा किराँतीहरूले मासु र मदिरा खान नहुने, छोरीलाई छोरासरह समान शिक्षा र अधिकार दिनुपर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गर्नुपर्ने, बिहे रीतको नाममा सम्पत्ति तथा दाम लिनदिन नहुने, स्वदेशी कपडा प्रयोग गर्नुपर्ने, सिरिजङ्गा लिपि प्रचलनमा ल्याउनुपर्नेलगायत सामाजिक सुधारका नीतिहरू समावेश भएका छन् । नारी जातिलाई पुरुष समान अधिकार र सम्मान दिनुपर्ने उनको सन्देश लैङ्गिक समानताका लागि उल्लेखनीय योगदान मानिन्छ । किराँती समुदायमा आज पनि महिला सशक्तीकरणको अवस्था सराहनीय छ ।
महागुरु फाल्गुनन्दको सम्मानमा सरकारले २०५० सालमा रु १५ को हुलाक टिकट प्रकाशित गरेको थियो । विसं २०७२ देखि फाल्गुनन्द जन्मजयन्तीका अवसरमा सरकारले किराँत धर्मावलम्बीका लागि बिदा दिन थालेको हो ।
झापाको दमक, मेचीनगर, शिवसताक्षी र अर्जुनधारा, बुद्धशान्ति, इलामको माङ्सेबुङ, चुलाचुली, पाँचथरको फिदिम, ताप्लेजुङको फक्ताङलुङलगायत पालिकाले कात्तिक २५ गते फाल्गुनन्द जयन्तीका अवसरमा विगतदेखि नै सार्वजनिक बिदा दिने गरेका छन् । मुलुकभित्र र बाहिर फाल्गुनन्दको सयाँै सालिक स्थापना भइसकेका छन् ।
विश्वबन्धुत्व र अहिंसाका महान् तपस्वी किराँत धर्मगुरु फाल्गुनन्दको धार्मिक सन्देशलाई विश्वभर फैलाउने कार्यमा उनका नाति धर्मगुरु आत्मानन्द लिङ्देनले हाल अगुवाइ गरिरहेका छन् । इलामको माङ्सेबुङस्थित लारुम्बामा धर्मगुरु आत्मानन्द लिङ्देनले स्थापना गरेको माङ्हिम अहिले किराँत धार्मिकस्थलको रूपमा प्रसिद्ध छ । पाँचथरको लेबे्रकुटी, सिलौटीलगायत स्थान फाल्गुनन्दकै कारण धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित छन् । रासस
वि.सं.२०८१ कात्तिक २५ आइतवार ११:३४ मा प्रकाशित