back

अन्य मुलुकले नागरिक र पुँजी लगेर विकास गर्दै, सरकार टुलुटुलु रमिता हेर्दै !

वि.सं.२०८१ कात्तिक २५ आइतवार

357 

shares

हालै मात्र अमेरिकामा राष्ट्रपति पदको लागि निर्वाचन भयो । डोनाल्ड ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन् । चुनावमा एक लाखभन्दा बढी नेपाली मूलका अमेरिकी नागरिकले मतदान गरे । २०७९ वैशाख ३० गते स्थानीय तह र मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भयो । तर, त्यो चुनावमा विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता लिएकाहरू सहभागी भएनन् । नेपाली नागरिकहरूले धमाधम नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिइरहेका छन् । अमेरिका, अस्ट्रेलियालगायतका मुलुकमा भएका लाखौँ नेपालीहरू त्यहाँको नागरिकता लिने कोसिसमा छन् । अस्ट्रेलियामा लगभग सात लाख नेपाली छन् । तीमध्ये लाखौँले त्यहाँको नागरिकता लिइसकेका छन् ।

नेपाल आफैँमा सुन्दर देश छ । प्राकृतिक हिसाबले नेपाल धनी छ । तर, नेपाली नै यहाँ बस्न चाहँदैनन्, किन ? दक्ष जनशक्ति जम्मै विदेश ओइरिएका छन् । अन्य देशले रफ्तारमा विकास गरिरहेका छन्, हामी पछि परिरहेका छौँ । हामीसँग सब थोक छ, तर त्यसको प्रयोग, प्रचारप्रसार गर्न सक्ने कोही छैनन् ।

विदेशी लगानी भित्र्याएर अन्य मुलुकले विकास गरिरहेका छन् । यद्यपि, हाम्रा नेताले त्यति पनि गर्न सकेनन् । उल्टै भएको जनशक्तिलाई विदेश लखेटिरहेका छन् । देश विकास गर्ने युवाले हो । युवा मुलुकको उत्पादनशील शक्ति हुन् । अन्य देशले युवा शक्तिको दिमाग, श्रमको सदुपयोग गरिरहेका छन् ।

विडम्बना, हामीकहाँ ठ्याक्कै उल्टो छ । अन्य देशले आफ्नो मुलुकको युवा शक्तिलाई बाहिर जानै दिँदैनन् । काम गर्न जान, अन्य मुलुकको नागरिक बन्न उनीहरूले रोकेका छन् । उनीहरू आफ्ना नागरिकलाई विभिन्न मुलुक पठाएर त्यहाँको विकास, शैलीको अध्ययन गर्न लगाउँछन् ।

हामीचाहिँ शिक्षा र रोजगारीको नाममा नागरिकलाई विदेशमै सेटल हुन प्रोत्साहन गरिरहेको छौँ । कुनै नागरिकले नेपाली नागरिकताको लागि निवेदन दिएमा सरकारले तुरुन्त स्वीकृत गरिदिन्छ । कारण खोज्दैन । के कारणले नागरिकले नागरिकता त्याग्दै छन् ? उनीहरू विदेशमै सेटल भएमा मुलुकमा के असर पर्छ ? सरकारले अध्ययन गरेको पाइँदैन ।

सन्तानले विदेशी नागरिकता लिनुपर्छ, अभिभावकको भुईँमा खुट्टा हुँदैन । मेरो छोराछोरीले के–के न गर्‍यो भन्ने ठान्छन् । नागरिकता त्यागेपछि ऊ अर्काको देशको नागरिक हुन्छ । उसले अरुकै देशको लागि काम गर्छ । यसमा बाबुआमा खुसी हुनुपर्ने केही कारण छ ? देशको नागरिकता त्यागेपछि कसको बुवा को ? कसको आमा को ?

त्यसैले त पछिल्लो समय बुढेसकालमा बुवा आमाको बिचल्ली भइरहेको छ । छोराछोरी विदेशमा सेटल भइसकेका हुन्छन्, आपत् पर्दा साथमा कोही हुँदैन । त्यति बेला पछुताएर के गर्ने ? एउटा नागरिक बनाउन सरकारले पनि ठुलो लगानी गरेको हुन्छ । अभिभावकको त लगानी हुन्छ नै, राज्यको पनि उत्तिकै लगानी हुन्छ ।

एउटा महिलाको कोखमा गर्भ आएपछि चेकजाँच गराउँदा, शिक्षा, स्वास्थ्यलगायत यावत कुरामा सरकारले लगानी गरेको छ । बच्चालाई पढाउँदा, हुर्काउँदा अभिभावकले आफ्नो उमेर सकाउँछन् । बालबच्चा भन्दाभन्दै उमेर ढल्किन्छ, बुढेसकालमा केही न केही । मिहिनेत पनि विदेशीले खान्छ, पुँजी पनि ।

अभिभावकको मिहिनेत ‘बालुवामा पानी’ बराबर हुन्छ । राज्यले गरेको लगानी पनि फिर्ता हुँदैन । सरकार आफूले विकास गरेको बताउँछ । तर, के विकास गर्‍यो ? देशको जनतालाई देशमै रोक्न नसक्ने सरकारले विकासको बाजा बजाउनु बेकार छ । नेपालमा अब बुढाबुढी, रोगी र भुरा मात्र केही छन् ।

विकसित मुलुकहरूको पोलेसीः जाने बित्तिकै ऋण थुपारिदिने । घर, गाडी, ल्यापटप, मोबाइल सबै ऋणमा । त्यति गरेपछि उनीहरूले कमाएको पैसा त्यही खर्च गर्छन् । बाहिर पठाउन पाएनन् । अन्य देशले यसरी विकास गरिरहँदा हामीचाहिँ लाखौँ रुपैयाँ पनि विदेश पठाइरहेका छौँ, जनता पनि ।

नेपालमा पनि सरकार छ, बैङ्क तथा वित्तीय संस्था छ । तर, यहाँ देशमै केही गर्छु भन्नेले ऋण पाउँदैनन् । ऋणको चार गुणा धितो राख्नुपर्छ अनि बल्ल पाइन्छ । अनि कसले यहाँ केही गर्न चाहन्छ ? व्यापारी, सरकारी कर्मचारी, राजनीतिक दलका छोराछोरी अमेरिका, अस्ट्रेलियामा छन् ।

सरकार यतिसम्म निरीह भयो कि अन्य मुलुकको नागरिकता लिइसकेकाले नेपालमा भएको सम्पत्ति बेचेर लाँदासमेत केही गर्न सक्दैन । विदेश पसिसकेकाले नेपालमा भएको सम्पत्ति लैजान नपाउने भनेर कानुन बनाउनुपर्ने हो । तर, बनाउँदैन । किन कि राजनीतिक दलले जति नै देश विकास गर्छु भनेपनि छोराछोरीले अर्कैको देश बनाइरहेका छन् ।

देशमा पटक पटक निर्वाचन भयो । जनताबाट चुनिएर गएको प्रतिनिधि सरकारमा छन् । सदन चलिरहेको छ । तर, अन्य मुलुकको नागरिकता लिइसकेकाले यहाँको सम्पत्ति बेचेर लैजान नपाउने भनेर सरकारले कानुन बनाउन सकेको छैन । २०४८ सालअघि विदेश जानेको सङ्ख्या कम थियो ।

अहिले त ह्वात्तै बढेको छ । सरकारले बेलैमा यो कानुन बनाइदिएको भए न युवा जनशक्ति विदेशमा हुन्थे न पैसा नै । देश सबैतिरबाट खोक्रो भयो । विकासमा पनि पछाडि, आर्थिक रूपमा पनि पछाडि । सबैले आफ्नो देशको नागरिकलाई प्राथमिकतामा राख्छन् । अन्य मुलुकको नागरिकले जेसुकै गरेपनि उनीहरू अन्य मुलुकको नागरिक नै हुन्छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशको नागरिकलाई प्राथमिकतामा राख्ने एजेन्डा सुनाएपछि त्यहाँका जनताले उनलाई मतदान गरे । अन्य देशका नागरिकलाई हेर्ने नजर उही हुन्छ । नेपालमा कस्तो भयो भने बुवा आमा भ्रष्टाचार गरेर कमाउने, छोराछोरी विदेश पठाउने अनि कालो धन त्यहाँ लगेर सेटल गर्ने ।

यो क्रम अहिले पनि चलिरहेको छ । सरकारले ज्येष्ठ नागरिक भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । त्यो नियम लागु गरेपछि २ लाख ३६ हजार ज्येष्ठ नागरिक भत्ता लिने घटेका छन् । छोराछोरी अमेरिका गएपछि बुवा आमा उतै गए । सरकारले विगतमा खातामा भत्ता जम्मा गरिँदै आएको थियो ।

विदेशमा बसेर उनीहरूले मोज गरिरहेका थिए । नयाँ नियम लागु गरेपछि उनीहरू आउँदै आएनन् । सरकारको ढुकुटीमा ठुलो रकम जोगिएको छ । सरकारले अब सर्वसाधारणको सम्पत्ति छानबिन गर्नुपर्छ । विकसित मुलुक जान लाखौँ रुपैयाँ लाग्छ । त्यो पैसा कहाँबाट आयो ?

यो खोताल्न जरुरी भइसकेको छ । सरकारले स्रोत खोज्ने हो भने भ्रष्टाचारी, राजश्व छलीहरू बाहिर आइहाल्छन् । लुटहरू कानुनको कठघरामा आउँछन्, सरकारको ढुकुटीमा ठुलो रकम जम्मा हुन्छ । अनि देश विकास गर्नलाई ठूलाठुला भाषण गरिरहनुपर्छ ? उथलपुथल गर्नुपर्छ ?

हामी यो त्यो गर्छौ भनेर मात्र भएन । ससाना काम गर्‍यो भनेपनि देश धनी हुन्छ । अन्य मुलुकमा आम्दानी र खर्च सरकारलाई देखाउनुपर्छ । तर, हामीकहाँ जे गरेनि छुट । जसलाई ठगेपनि, भ्रष्टाचार गरेपनि, सरकारी, गुठीको जग्गा दर्ता गरेर खाएपनि, राजश्व छलेपनि राज्यलाई देखाउनुपर्दैन ।

त्यसैले त देशमा अपराध बढ्यो । सरकारमा बस्नेहरूले भाषण गर्ने होइन, कानुन र नीति बनाउने हो । हाम्रा राजनीतिक दलका नेताहरू भाषण गर्न च्याम्पियन छन्, काम गर्न सुस्त । हुन त आफैँ पर्ने डरले पनि कानुन नबनाएका होलान् । नेताहरूले केही गर्नुपर्दैन । कानुन बनाएर कार्यान्वयन गर्ने हो भने देश आफैँ बन्छ ।

वि.सं.२०८१ कात्तिक २५ आइतवार १५:५२ मा प्रकाशित

एकताको आधार यसरी बनाउन सकिन्छ है, कामरेडहरु

एकताको आधार यसरी बनाउन सकिन्छ है, कामरेडहरु

‘कमरेड म यहाँ हलभित्र छु बाहिर निस्कन मिलेन । प्रा....

भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन

भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन

काठमाडौँ । अभिभावकहरुले यदि आफ्ना, शिशु र छाराछोरीलाई माया गर्छन्...

सर्वसाधारण खट्ने, माननीयले पैसा बुझ्ने

सर्वसाधारण खट्ने, माननीयले पैसा बुझ्ने

अन्य देशमा काम नगरीकन तलब खानु भ्रष्टाचार गरेको मानिन्छ ।...

हरेक खाद्यान्न विदेशबाट आयात गरिएपछि कसरी कृषि प्रधान देश ?

हरेक खाद्यान्न विदेशबाट आयात गरिएपछि कसरी कृषि प्रधान देश ?

हरेक वर्ष जेठ महिनाको अन्तिममा नेपालमा मनसुन भित्रिने गरेको छ...

कांग्रेसले ‘मिस’ गरिरहेको नोना आमाको ‘मर्निङ मिटिङ’

कांग्रेसले ‘मिस’ गरिरहेको नोना आमाको ‘मर्निङ मिटिङ’

शोभाकर पराजुली, काठमाडौँ । भर्खरै दोस्रो जनआन्दोलन सकिएको थियो ।...