काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका सात लाख ७७ हजार सात सय ७७ रुपैयाँ सहयोग गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमै पुगेर महासंघले आज विहान सात लाख ७७ हजार सात सय ७७ रुपैयाँको चेक हस्तान्तरण गरेको महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठले जानकारी दिए ।
रकम हस्तान्त्रण कार्यक्रममा अध्यक्ष प्रचण्डले राष्ट्रसेवासँगै जनताले भोग्नुपरेको विपत्तिमा कर्मचारीहरुको सहयोग महत्त्वपूर्ण भएको बताए । ‘प्राकृतिक विपत्तिले सिर्जना गरेको संकट समाधानका लागि सरकारमा हुँदा पनि नहुँदा पनि माओवादी निरन्तर अग्रमोर्चामा रहेर काम गरिरहेको छ’, प्रचण्डले भने, ‘पार्टीनिकट शुभेच्छुक संगठनहरुले पनि यसमा योगदान गर्दा पार्टीलाई थप उर्जा प्राप्त हुन्छ ।’
अध्यक्ष प्रचण्डले प्रभावितस्थलमा निरन्तर खटेर उद्धार, राहत र पुनर्स्थापनामा लाग्ने सबैलाई धन्यवाद पनि दिए ।
राहत र पुनर्स्थापनाका कामले अझै गति नलिएको उल्लेख गर्दै उनले दुई वर्षअघिका भूकम्पपीडितदेखि अहिलेका बाढीपहिरो पीडित सबैलाई पुरानै अवस्थामा फर्काउन सबै लाग्नुपर्ने र त्यसमा कर्मचारीहरुले आफ्नो कार्यक्षेत्रबाट बढी योगदान गर्नुपर्ने बताए ।
रकम हस्तान्त्रण कार्यक्रममा महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठ, महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासंघ र संगठनका पदाधिकारीहरुले चेक हस्तान्तरण गरेका हुन् ।
यसअघि पनि महासंघ ललितपुर जिल्ला गोदावारी नगरपालिका अन्तरर्गतका विभिन्न कृषि फार्ममा पुगेर पशुहरुको स्वास्थ्य परीक्षण, भिटामिन तथा औँषधी वितरण गरेको थियो ।
वि.सं.२०८१ कात्तिक २९ बिहीवार १३:५५ मा प्रकाशित






























