back
CTIZAN AD

अन्नपूर्ण आधार शिविरमा ध्वनि यन्त्र लैजान निषेध

वि.सं.२०८१ मंसिर ४ मंगलवार

750 

shares

गण्डकी । पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ । चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।

आयोजना प्रमुख डा रविन कडरियाले पदयात्राका क्रममा या होटलमा बास बस्दा चर्को आवाजमा गीत बजाउने, होहल्ला गर्नेजस्ता क्रियाकलाप नगर्न पर्यटक र सर्वसाधारणलाई आग्रह गरे । “आधार शिविर पुग्नुअगावै छोम्रोङ गाउँमा ध्वनि यन्त्रलाई राखेर जान र फर्कँदा लिएर आउन पर्यटकलाई अनुरोध गरिरहेका छौँ”, उनले भने, “अनुगमनका क्रममा कसैले त्यस्ता क्रियाकलाप गरेको भेटिएमा सामान जफत गर्र्छौँ ।”

पदयात्रामा जाने कतिपयले पर्यटकले चर्को आवाजमा गीत बजाउँदा अन्य पदयात्रीलाई असर पुगेको गुनासो आएपछि चर्को ध्वनि लैजान रोक लगाइएको आयोजना प्रमुख डा कडरियाले बताए । आयोजना कार्यालयले उक्त कार्यमा कडाइ सुरु गरेपछि पर्यटकले कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमै त्यस्ता ध्वनि यन्त्र राखेर आधार शिविरतर्फ जान थालेका छन् ।

शान्त र प्रकृतिमय वातावरणमा पदयात्रा गर्न बर्सेनि ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक अन्नपूर्ण आधार शिविर पुग्ने गरेका छन् । आयोजना प्रमुख डा कडरियाका अनुसार अनुमतिबिना उक्त क्षेत्रमा ‘ड्रोन’ क्यामेरा पनि प्रयोग गर्न पाइँदैन । कसैले अटेर गरी ‘ड्रोन’बाट आधार शिविरको दृश्य कैद गरेमा क्यामेरा जफत गरिने उनको भनाइ छ । अन्नपूर्ण आधार शिविरसहित ‘एक्याप’भित्र पर्ने पर्यटकीय गन्तव्यस्थलको सरसफाइ अभियान पनि चलिरहेको आयोजना प्रमुख डा कडरियाले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा उक्त अभियान थालिएको हो । आयोजना कार्यालयले अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाएको छ । मर्दी हिमाल, तारा हिलटपलगायत क्षेत्रमा पनि सिसा र प्लाष्टिकजन्य सामग्री नलैजान र भएको फोहर आफैँले लिएर आउन पर्यटकलाई आग्रह गरिएको आयोजना प्रमुख डा कडरियाले बताए ।

पदमार्ग र बस्ती क्षेत्रमा भएको फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्न सुरु गरिएको उनको भनाइ छ । होटल व्यवस्थापन समिति, आमा समूहलगायत परिचालित गरेर फोहर व्यवस्थापनको काम अगाडि बढाइएको हो । पर्यटकीय क्षेत्रमा सङ्कलन भएको फोहरलाई पोखरामा ल्याइ प्रशोधन गर्ने योजना ‘एक्याप’ले बनाएको छ ।

अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सकभर पुनःप्रयोगमा आउने सामग्री लिएर जान अनुरोध गरिएको छ । “पर्यटकीयस्थलमा जथाभावी फोहर हुँदा राम्रो सन्देश नजाने हुँदा फोहर व्यवस्थापनलाई अभियानकै रूपमा सुरु गरिएको हो”, आयोजना प्रमुख डा कडरियाले भने ।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

बर्सेनि असोज–कात्तिक र चैत–वैशाखको याममा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको घुइँचो नै लाग्ने गर्छ । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने चर्चित पर्यटकीय गन्तव्यस्थल हुन् । रासस

वि.सं.२०८१ मंसिर ४ मंगलवार ०९:२१ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...