काठमाडौँ । निर्माणाधीन तराई-काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक) मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–५ झाक्रीडाँडा नजिक मंगलबार बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मकवानपुर प्रहरीका अनुसार ना ८ ख २४३० नम्बरको टिपर हात्तिसुडेबाट फास्ट ट्रयाकको लागि ग्राभेल लोड गरेर जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब २५/३० मिटर तल खोल्सामा खसेको थियो ।
चालकको सोही टिपरले च्यापिएर घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए ।
उनका अनुसार मृतक चालक चितवन घर भएका करिब ४०/४२ वर्षीय सानु लो तामाङ रहेका छन् । घटनाको जानकारी प्राप्त हुनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेको थियो। शवलाई पोस्टमार्टमका लागि अस्पताल ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०८१ मंसिर २१ शुक्रवार १२:२६ मा प्रकाशित






























