
विष्णु थापा ‘विछोड’
गागलफेदी, काठमाडौ
१.
परेको बेला कोही हुँदैनन् थाहा पाउँदा पनि
मनको घाउ कसैले छुदैँनन् थाहा पाउँदा पनि
देखावटी नाता सम्बन्ध बोकेरै हिँडेको छु
यो मुटु दुख्दा कोही रुदैँनन् थाहा पाउँदा पनि ।
२.
तिमीले मैले देखेका एउटै सपना सजाउनु छ
हाम्रो सुन्दर संसारमा चिटिक्क घर बनाउनु छ
धेरै दुःख गरिसक्यौँ जिन्दगीको पहाड चड्दा
हातमा हात मिलाएर खुसीको जीवन रमाउनु छ ।
३.
मानसिक स्वास्थ बिगार्न न आउनु अब देखि
नचाहिने आरोप प्रत्यारोप न लाउनु अब देखि
तुच्छ वचनको प्रहारले मनमा चोट परिसक्यो
व्यर्थमा बेसुरका गाना न गाउनु अबदेखि ।
४.
बसौँ सँगै आऊ न! माया शंका सबै हटाएर
दुई मुटु एक धड्कन मायामा माया अटाएर
अनुरोध गरेँ आजपनि आफ्नै प्रियेतमालाई
छातीमा छाती टाँसी दिउँ दूरी अब घटाएर ।
५.
टन्न पेट अघाएर पुष्ट हुन्छ्न् सैतानहरू
बलात्कारी भ्रष्टाचारी दुष्ट हुन्छ्न् सैतानहरू
जनताले जाहेज माग न्याय कानुन खोज्यो कि त
खिली हाल्ने अरिंगालझैँ रुष्ट हुन्छन् सैतानहरू
वि.सं.२०८१ मंसिर २२ शनिवार ०५:३२ मा प्रकाशित