दीनानाथ पोख्रेल, इलाम
आमा हुन् धरणी अनन्त महिमा गाएर को सक्छ र ?
गाई मात्र रहे सुकृत्य नभए खाना कहाँ पाक्छ र ?
आमा हुन् मनले भुले भवविषे मान्छे कहाँ हुन्छ र ?
आफैँ उठ्न सकूँ सिँगार्न धरणी के भोकले छुन्छ र ?०१।।
चम्कून् चम्चम प्राप्तिका मनहरू आकाश अग्लो छ र ?
आफैँ कर्म गरी विकास नभरी के सौख्य भेटिन्छ र ?
उम्दा दान लिएर बस्दछु भुली को भन्छ मान्छे भनी ?
पस्की कर्मकला म बाँच्न नसके को मान्छ मान्छे जुनी ?०२।।
मागी खान हुँदैन सन्तति बुझून् यो ज्ञान मैले लिए ।
पोखेँ दीर्घ कुरा बसेँ म घरमा सत्कर्म जम्मै खिए ।।
आँखा आँगन हेर्न भुल्दछ भने सङ्लन्न मेरो मियो ।
बाती तेलसमान छैन जसमा के बल्छ बाल्दा दियो ?०३।।
अग्ला पर्वत भन्दछन् कृत टिपीअग्लो बनी आउनू ।
प्यारो बन्न परे सुकर्म करमा पक्री सधैँ धाउनू ।।
तारा चम्चम चम्कँदै लहरमा आऊ भनी भन्दछन् ।
राम्रा कर्म चुनी हिँडे सुपथमा तारा छुने बन्दछन् ।।०४।।
राम्रा छन् झरना र ताल भवका झन् प्रेम बोक्छन् मन ।
हेरोस् नेत्र र चेतले मनुजले भेट्नेछ सङ्लो धन ।।
अल्छी चाल हटोस् सुधार पथमा यो चेत आफैँ हिँडोस् ।
चिन्ता,ताप,तनाव पूर्ण घरका खोजेर जम्मै गिँडोस्।।०५।।
नेपालीपन चेतभित्र बटुली सैपाल चुम्ने बनौँ।
मान्छेका मनभित्र सौख्य हितका राम्रा सुबाटा खनौँ ।।
फल्नेछन् फल शान्तिका डगरमा गन्तव्य यात्री बनौँ ।
हाम्रो देश रमाउने कृत कला पक्रेर हामी भनौँ ।।०६।।
छन्द – शार्दूलविक्रीडित
गण – SSS IIS ISI IIS SSI SSI S
वि.सं.२०८१ मंसिर २२ शनिवार ०५:३१ मा प्रकाशित