back
CTIZAN AD

बालकोट हत्या प्रकरण :छोरा भेट्न र स्कुटरको लाइसेन्स लिन आएका थिए कुलप्रसाद

वि.सं.२०८१ पुस १० बुधवार

1.1K 

shares

रमेश गिरी, भक्तपुर । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो । तर सवारी चालक अनुमति पत्र भने थिएन ।

त्यसैले कार्यालय जानआउन सहजताका लागि स्कुटरको लाइसेन्स अर्थात सवारी चालक अनुमति पत्रको परीक्षा दिन गत मङ्सिर २८ गते बिदा लिएर भक्तपुर आएका थिए दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थायी बासिन्दा निमित्त कार्यालय प्रमुख आचार्य । तर सवारी चालक अनुमति पत्र लिने धोको पूरा गर्न नपाउँदै सधैँको लागि अस्ताउनु उनी ।

सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरको भुईँतलामा कोठाभित्र मृत अबस्थामा फेला परेका बाबु कूलप्रसाद र कान्छो छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या अभियोगमा प्रहरीले जेठा छोरा मिलन भन्ने रुपेश आचार्यलाई मङ्गलबार काठमाडौँ महाराजगञ्जबाट पक्राउ गरेको छ ।

सोमबार बिहानसम्म कोठा नखोलेको, परिवारका कोही पनि बाहिर नदेखिएको र मोवाइलसमेत सम्पर्क नभएपछि सोमबार बिहान प्रहरीलाई खबर गरी कोठाको ताल्चा फुटाएर भित्र पस्दा बाउ–छोरा छुट्टाछुट्टै कोठामा मृत अबस्थामा भेटिएका थिए ।

कुलप्रसादको हत्यापछि सिरक ओढाएको र भान्छा कोठामा सुतेका प्रवीणको भने बिभत्स तरिकाले टाउँकोमा सिलौटाले प्रहार गरी अनुहारनै चिन्नै नसकिने अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।

बालकोटस्थित कान्छो छोरा एकनाथको घरमा बस्दै आएका मृतक कुलप्रसादका बुबा ८२ वर्षीय खडानन्द आचार्य, आमा ७६ वर्षीय तुलसा आचार्य र घट्नापछि दिक्तेलबाट बालकोट आइपगेकी मृतक कुलप्रसादकी पत्नी रेजिना आचार्य मात्रै होईनन्, आचार्यको सिङ्गो परिवार र आफन्तजन सोमबार देखिनै शोकाकुल बनेका छन् ।

मङ्गलबार साँझ पशुपति आर्यघाटमा बाबुछोराको एकैपटक दाहसंस्कार गर्दा परिवार र आफन्तको शोक निकै पीडादायक थियो । ८२ वर्षीय खडानन्दले आफ्नै छोरा र नातिलाई दागबत्ति दिएर कोरा बारेर किरिया बसेपछिको पीडा पनि परिवार र आफन्तका लागि निकै कठिन बनेको देखिन्थ्यो ।

घर झगडा कहिल्यै नसुनेको, परिवारभित्र कलह कहिल्यै नरहेको, माया र स्नेहमै अगाडि बढिरहेको अबस्थामा माया गर्ने आफ्नै बाबु र भाइको बिभत्स तरिकाले कसरी हत्या गर्नसक्छ भन्ने प्रश्नले यो परिवारलाई पटकपटक चिमोटिरहेको बताउछन् मृतक परिवारका आफन्त दीपक पाण्डे ।
कान्छो छोराको घरमा बस्दै आएका बुबा खडानन्द र आमा तुलसासँगै थिए गत शनिवार साँझसम्म कुलप्रसाद । साँझ जेठो छोराले मासु बनाएको छु बाबा खाना खान आउनुस् भनेर बोलाएपछि झोला बुबाआमा सुत्ने कोठामै छाडेर छोराहरुको कोठामा पुगेका थिए उनी । बुबा र दुईभाइ छोराले शनिबार बेलुकाको खानासँगै खाएको तर अचानक राति यस्तो दुःखद घट्ना कसरी भयो ? किन भयो ? मृतकका परिवारजनले अहिले यही प्रश्न बारम्बार गरिरहेका छन् ।

शनिवार नातिको कोठामा जाँदा छोराले छाडेर गएको झोला हरेर बुढी आमा तुलसाको आँखा ओभाएका छैनन् । अर्काेतिर छोरा र नातिको अकास्मात भएको मृत्युको पीडाले बुबा खडानन्द छटपटाइरहेका छन् । मृतक कुलप्रसादकी पत्नी रेजिनाको आँसु रोकिएको छैन । “मरो जेठोले आफूले अति माया गर्ने बुबा र भाइका हत्या ग¥यो भनेर मैले कसरी पत्याउनु, मेरो छोरालाई मेरो अगाडि ल्याउ, म उसकै मुखबाट सुन्न चाहन्छु ।” भन्दै भावविव्हल बनेकी रेजिनालाई सम्हाल्न सक्ने अबस्था नरहेको पाण्डे बताउछन् । यतिखेर मृतकका आफन्तजनलाई पीडित आचार्य परिवारलाई संहाल्न सकस परेको छ ।

परिवारका अनुसार ध्यान, अध्ययन र कलाकारितामा सक्रिय जेठो छोरा मिलन आफन्त र पारिवारिक भेटघाट तथा रमाउँथे । सबैको प्यारो बन्दै आएका मिलनले तयारी गरिरहेको लोकसेवाको परीक्षामा असफल भएपछि त्यसको पीडा भने उनलाई थियो । कान्छो छोरा प्रवीण सूचना प्रबिधिमा स्नातक अध्ययन गरिरहेका थिए । बिभिन्न प्रतियोगिताहरुमा भाग लिने उनी मोडलिङमा पनि जम्दै थिए । मृतक कूलप्रसादका भाइ माधवले मोडलिङमा अगाडि बढेका प्रवीणले केही म्युजिक भिडियोमा अभिनय गरेका जानकारी दिँदै स्नातक तहको अध्ययनपछि अमेरिकामा थप अध्यनका लागि जाने तयारी गरेको बताए ।

मृतक आचार्यकी जेठी छोरीको ललितपुरको लुभुमा बिवाह भएर जीवन अगाडि बढिरहेको र कान्छी छोरी गएको तिहार मानेर पत्रकारितमा स्नातकोत्तर अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन् । शिक्षिकाबाट अवकासप्राप्त मृतककी पत्नी रेजिना पनि पछिल्लो समय राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् । उनी नेकपा एमाले खोटाङ जिल्ला सदस्य तथा अखिल नेपाल महिला सङ्घमा सक्रिय भएकी नेकपा एमालेले जनाएको छ । मृतकका भाइ माधव छोराछोरीलाई पढ्न र उनीहरुको भविश्य बनाउने विषयमा दाजुभाउजूले कुनै कमीकन्जुस्याईं नगरेको बताउछन् ।

घट्ना हुनुभन्दा दुई दिन अघिमात्रै कुलप्रसादलाई जेठो छोरा मिलनले बुबा कुलप्रसादलाई शिक्षण अस्पताल महाराजगञ्ज लगेर स्वास्थ्य जाँच गराएर आएको र गत शनिवार पनि साथीसँग क्रिकेट हेरेर फर्किएका थिए । तर त्यही दिन राति किन त्यस्ता घट्ना भयो ? परिवार र आफन्तले यसको जवाफ अझै पाउन सकेका छैनन् ।

पक्राउपछि मिलन भन्ने रुपेश आचार्यलाई थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याएर कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको भक्तपुर जिल्लाका प्रहरी उपरीक्षक माधवप्रसाद बढाथोकीले जानकारी दिए ।

प्रहरी बृत्त थिमिमा जाहेरी दिन र घटनाको सत्यतथ्यको गहिराइमा पुगेर अनुसन्धानको माग गर्न पगेका मृतकका परिवारजन र आफन्तले जाहेरी दिएका छन् । प्रहरीका अनुसार आफ्नै बाबु र भाइका कारण तनाव महशुस भइरहेको र लोक सेवा आयोगको परीक्षा असफल भएपछि झनै तनाब बढेकाले दुबै जनाको हत्या गरेपछि आफूले पनि आत्महत्या गर्न खोजेको तर नसकेपछि फरार भएको भन्ने बयान मिलनबाट आएको छ ।

यसैगरी शनिवार राति बुबा र भाइको हत्या आइतबार बिहान करिब ३ बजेतिर कोठामा ताल्चा मारेर बाहिरिएको र स्कुटर लिएर गएपछि प्रहरीले चौतर्फी खोजी गर्नेक्रममा मङ्गलबार महाराजगञ्जमा मिलनलाई पक्राउ गरी उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०८१ पुस १० बुधवार १८:३० मा प्रकाशित

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

महेन्द्रनगर । सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न...

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन...

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...