जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तान्जानियामा घातक मारबर्ग भाइरसको शङ्कास्पद प्रकोपका कारण आठ जनाको मृत्यु भएको भन्दै तान्जानिया र छिमेकी मुलुकमा थप फैलिने जोखिम ‘उच्च’ रहेको चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले तान्जानियाको कागेरा क्षेत्रमा ‘शङ्कास्पद ‘मारबर्ग भाइरस डिजिज (एमभीडी)’ को प्रकोप देखिएको जानकारी सोमबार आफ्ना सदस्य राष्ट्रहरुलाई दिएको जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले सामाजिक सञ्जाल एक्समा भनेका छन्,“अहिलेसम्म नौ जनामा सङ्क्रमण देखिएको हामीलाई जानकारी प्राप्त भएको छ, जसमध्ये आठ जनाको मृत्यु भइसकेको छ । रोगलाई फैलिन नदिन सावधानी अपनाइएको छ यद्यपि, आगामी दिनमा अझै केही थप सङ्क्रमितहरू फेला पर्न सक्ने सम्भावना छ ।”
डब्ल्यूएचओले तान्जानिया सरकार र प्रभावित समुदायलाई आफ्नो पूर्ण सहयोगको आश्वासन दिएको छ ।
छिमेकी मुलुक रुवान्डामा तीन महिनाभन्दा बढी मारबर्गको महामारी फैलिएको डब्लुएचओले घोषणा गरेको एक महिना नबित्दै यो घोषणा गरिएको हो । डब्लुएचओका अनुसार मारबर्गले अत्यधिक संक्रामक रक्तस्रावी ज्वरो निम्त्याउँछ । यो चमेरोबाट सर्छ र इबोला जस्ता भाइरसहरूको एउटै परिवारसँग सम्बन्धित छ ।
मारबर्गको ज्वरोसँगै रक्तस्राव र अङ्ग फेल हुने गर्छ र भाइरस सङ्क्रमण पछि हुने मृत्यु दर ९० प्रतिशतको हाराहारीमा पुग्न सक्ने डब्लुएचओले जनाएको छ ।
कागेरा क्षेत्रमा मार्च २०२३ मा पहिलो पटक मारबर्गको प्रकोप देखिएको थियो, जुन लगभग दुई महिनासम्म चलेको थियो, जसमा छ जनाको मृत्यु भएको थियो भने नौ जना सङ्क्रमित भएका थिए ।
उनले भने, “हामी छिमेकी देशहरुलाई सतर्क रहन र सम्भावित सङ्क्रमितको व्यवस्थापनका लागि तयार रहन सुझाव दिन्छौं । हामी अहिले तान्जानियासँग यात्रा वा व्यापार प्रतिबन्धको सिफारिस गर्दैनौँ ।”
डब्लूएचओले भनेको छ कि मारबर्ग सजिलै फैलिँदैन । भाइरस सर्नका लागि सङ्क्रमित बिरामीको शरीरबाट आउने तरल पदार्थसँगको सम्पर्क आवश्यक पर्दछ ।
उनले सावधानी अपनाउन सुझाब दिँदै अगाडि भने,“भाइरसको सम्पर्कमा आएका व्यक्ति एक देशबाट अर्को देश वा एक समुदायबाट अर्को समुदायमा पुगेको हुनसक्ने कुरालाई नकार्न सकिँदैन ।”एएफपी
वि.सं.२०८१ माघ २ बुधवार १३:५९ मा प्रकाशित






























