back

‘ग्रेटर मुन्दुम’ पदमार्गको काम सुरु

वि.सं.२०८१ माघ २४ बिहीवार

219 

shares
GLOBAL IME AD
NTC AD

भोजपुर । भोजपुरमा ग्रेटर मुन्दुम पदमार्ग विस्तारको काम अघि बढेको छ । सुनसरीको कोशी टप्पु, उदयपुरको बेलका नगरपालिको मैनामैनी, भोजपुर हतुवागढीको माईबेनी हसनपुर हुँदै सेल्मे, तावाभञ्याङसम्म पदमार्ग जोड्ने लक्ष्यका साथ ‘ग्रेटर मुन्दुम ट्रेल’को काम सुरु भएको हो ।

यो ट्रेलको काम सुरु भएको भोजपुरको हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिकाको अन्तरपालिका बैठक बसेर थप योजना निर्माण गरिएको छ । तीन वटा नै स्थानीय तहका अध्यक्षको उपस्थिातिमा पदमार्ग उपभोक्ता र निर्माण समितिलाई अभिमुखिकरण कार्यक्रमसमेत गरिएको छ । परियोजनाका कर्मचारी तथा स्थानीय पालिकाका इञ्जिनीयरहरुले उपभोक्ता समितिलाई काम कसरी गुणस्तरिय ढङ्गले गर्ने भन्ने विषयमा सहजीकरण गरेका हुन् ।

यो पदमार्गले किरातहरुको आस्थाको केन्द्रका रुपमा रहेको खुवालुङ क्षेत्र नसमेटिएका कारण धनकुटा, उदयपुर र भोजपुरका सात स्थानीय तहहरुको अन्तरपालिका बैठक बसेर सो क्षेत्र हुँदै पदमार्ग विस्तारको विषयमा छलफल गर्ने तयारी भइरहेको हतुवागढीका अध्यक्ष प्रेमकुमार राईले बताए ।

कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालय, पदमार्गमा आधारित पर्यटन विकास परियोजना, धनकुटाका सहिदभूमि र साँगुरीगढी गाउँपालिका, उदयपुरको बेलका नगरपालिका, भोजपुरको हतुवागढी तथा आमचोक र रामप्रसादराई गाउँपालिकाबीच छलफल गरेर खुवालुङ क्षेत्र हुँदै पदमार्ग विस्तार गर्ने योजना रहेको अध्यक्ष राईको भनाइ छ ।

“हामीले भोजपुरमा तीन स्थानीय तहको अन्तरपालिका बैठक सम्पन्न गरेका छौँ”, अध्यक्ष राईले भने, “सुनसरीको कोशी टप्पुबाट सुरु भएर उदयपुर हुँदै भोजपुरसम्म विस्तार हुन लागेको ग्रेटर मुन्दुम पदमार्गमा खुवालुङ क्षेत्र छुटेको अवस्था छ, यहाँ महत्वपूर्ण खुवालुङ क्षेत्रलाई समेट्न तीन जिल्लाका सात स्थानीय तह र सरोकारवाला पक्षसँग छलफल गर्ने तयारीमा छौँ ।”

चार वर्षसम्म निर्माण हुने ग्रेटर मुन्दुम पदमार्ग निर्माणमा स्वीस सरकारको ५५ प्रतिशत, प्रदेश सरकारको १९ प्रतिशत, स्थानीय सरकारको १८ प्रतिशत र सङ्घ सरकारको आठ प्रतिशत लागत साझेदारी हुने अध्यक्ष राईले जानकारी दिए । पहिलो आर्थिक वर्ष २०८१/८२ मा हतुवागढी-९ हसनपुर, आमचोक-२ यूँ र रामप्रसाद राई-६ बैकुण्ठेमा पदमार्ग निर्माणको काम सुरुआत भएको अध्यक्ष राईको भनाइ छ ।

निर्माण हुन लागेको ग्रेटर मुन्दुम ट्रेलको रुटमा ऐतिहासिक खुवालुङ क्षेत्र छुटेकाले यसलाई पनि समेट्नका लागि पहल गरिने रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताए । रामप्रसाद राईमा पहिलो चरणमा रु ३० लाख लागतमा पदमार्ग निर्माणको काम सुरु भएकोसमेत उनले जानकारी दिए । सोही रकम बराबरमा हतुवागढी र आमचोक गाउँपालिकामा पनि पदमार्ग निर्माणको काम सुरु भएको अध्यक्ष राईको भनाइ छ ।

ग्रेटर मुन्दुम पदमार्ग सुनसरीको कोशी टप्पुबाट सुरु भएर उदयपुरको मैनामैनी हुँदै भोजपुर हुतुवागढीको माइबेँनी, शिला सुत्केरी, सङ्खामचुली, आमचोक गाउँपालिकाको बयाङ, यूँ, रामप्रसाद राईको वडा नं ६ थामडाँडा, गोल्मे भिर, सुच्चागुफा नागँछाँगा, वडा नं २ को पाप्माखामगढी, बतासे र वडा नं १ ओख्रेबाट टेम्केमैयुङ–९ को कपासे भञ्याङसम्म विस्तार हुने रामप्रसाद राई–६ का वडाध्यक्ष एकराज आचर्यले बताए ।

तावा भञ्याङमा यसअघि निर्माण भएको मुन्दुम पदमार्गसँग जोडिएपछि भोजपुरको सबैभन्दा अग्लो स्थान साल्पासिलिचुङसम्म पुग्दा यो पदमार्गको लम्बाइ करिब १६८ किलोमिटर हुने जनाइएको छ । पदमार्गमा आधारित पर्यटन विकास परियोजना विराटनगरअन्तर्गत काम भइरहेको छ । यो कार्यक्रम विसं २०८१ बाट २०८५ सम्म सञ्चालन हुने जनाइएको छ । चार वर्षका लागि स्वीस सरकार र प्रदेश सरकारबीच सम्झौता भएको छ । पुनः स्थानीय सरकार र प्रदेश सरकारबीच पनि सम्झौता भएर काम अघि बढेको हो । रासस/फाइल फोटो

 

वि.सं.२०८१ माघ २४ बिहीवार १३:५२ मा प्रकाशित

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

काठमाडौं ।  ग्लोबल आइएमई बैंकका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेजमा...

पृथ्वी राजमार्गको अवरोध हट्यो

पृथ्वी राजमार्गको अवरोध हट्यो

डुम्रे (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र...

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

बैतडी । दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड...