
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ८ डुम्रीकोटमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ मोडबाट भकुण्डेतर्फ जाँदै गरेको ग १ ख ९४७२ नम्बरको ट्रकलालई सोही दिशाबाट जाँदै गरेकाको लु ६९ प ८०६७ नम्बरको मोटरसाइकलले ओभर ट्याक गर्ने क्रममा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलका अनुसार मृत्यु हुनेमा विरुवा गाउँपालिका ७ घर भई हाल वालिङ नगरपालिका ९ क्याम्पस रोड बस्ने १६ वर्षीय शुशिल गुरुङ रहेका छन् ।
मोटरसाइकलले ओभरट्याक गर्ने क्रममा ट्रकको बीचमा मोटरसाइकल पस्दा मोटरसाइकल पछाडि सवार गुरुङ गम्भीर घाइते भएका थिए ।
उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा लगिएकोमा उनको उपचारको क्रममा राति ९ बजे डाक्टरले मृत घोषणा गरेको हो । प्रहरीले ट्रक चालकसहित मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०८१ माघ २८ सोमवार १३:३८ मा प्रकाशित