back
CTIZAN AD

अस्पतालमा रेबिजको भ्याक्सिन अभाव हुँदा बिरामीलाई समस्या

वि.सं.२०८१ फागुन १२ सोमवार

693 

shares

बरहथवा (सर्लाही) । यहाँको बरहथवा नगरपालिका–१४, हरिपुर्वाका १४ वर्षीय मुकेश बैठालाई यही फागुन १ गते छाडा कुकुरले टोक्यो । एक्कासि कुकुरले टोकेपछि उनी तत्काल बरहथवा नगर अस्पताल पुगे । तर, अस्पतालले भ्याक्सिन नहुँदा उनलाई फर्कायो ।

त्यसपछि मुकेशलाई निजी क्लिनिकमा लगियो । क्लिनिकमा रु छ सय ५० तिरेर भ्याक्सिन लगाए । तीन–तीन दिनको अन्तरमा तीन मात्रा भ्याक्सिन लगाउनुपर्ने मुकेश दोस्रो मात्राका लागि नगर अस्पताल पगे । तर, चिकित्सकले औषधि अझै नआएको भनेर फर्काए । फेरी निजी क्लिनिकबाटै दोस्रो मात्रा लगाए । बैठाले अन्तिम मात्रा भने नगर अस्पतालबाटै लगाउनु पाए ।

शुक्रबार अस्पताल परिसरमा भेटिएका उनले नेता र अस्पतालका चिकित्सकसँग हारगुहार गरेपछि एक मात्रा भ्याक्सिन पाएको बताए । अस्पतालले रु दुई सय लिने भ्याक्सिन बाहिर रु छ सय ५० तिर्नु पर्दा महँगो परेको उनले बताए ।

“गाउँका मान्छेले झन्झट मानेर रेबिजको भ्याक्सिन लगाउँदैनन् । अस्पतालमा सधैँ छैन् भनेर फर्काउछन् । बाहिर किनेर लगाउन सबैसँग पैसा हुँदैन । यहाँ दिनदिनै कुकुर, स्याल, बाँदर, बिरालोलगायतका जनावरले टोकिरहेको हुन्छ”, उनले भने ।

चिकित्सकले दश दिनसम्म टोक्ने जनावरको निगरानी गर्न भनेर पठाउने गर्दा धेरै जनाले भ्याक्सिन लगाउन नपाएको स्थानीय रामनरेश रायको अनुभव छ । “कुकुर, स्यालजस्ता जनावरले खेतमा काम गर्दै गर्दा, बाटो हिँड्दा हिँड्दै टोकेर भाग्छ”, उनले भने, “त्यस्ता जनावरको निगरानी कसरी गर्नु ?” राज्यले भ्याक्सिन पर्याप्त नदिँदा विपन्न स्थानीय मारमा परेको उनको भनाइ छ ।

बैठाझैँ गोडैता नगरपालिका–५, सिसौटिया निवासी ४५ वर्षकी जोगनी देवीलाई यही फागुन ३ गते खेतैमा स्यालले टोक्यो । दायाँ खुट्टामा चोट लाग्ने गरी स्यालले टोकेपछि उनलाई परिवारले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गोडैता पुर्याए । तर, उनले स्वास्थ्य केन्द्रमा भ्याक्सिन पाइनन् । चिकित्सकले १० दिनसम्म टोक्ने जनावरको निगरानी गर्नु र मर्यो भने सुई लगाउन आउनु भन्दै फर्काइदिए ।

त्यसपछि उनले लालबन्दी नगरपालिकाको एक निजि क्लिनिकमा पुगेर भ्याक्सिन लगाइन् । प्राथमिक स्वास्थ्य केन्द्र बलरामा आएको औषधि १५ दिनमै सकिएकोले भ्याक्सिन लगाउन अन्तै पठाएको स्वास्थ्य केन्द्रका इन्चार्ज नितेशकुमार कुशवाहले जानकारी दिए । भ्याक्सिन जम्मा ४० भाइल मात्र आउने गरेको उनले बताए । भ्याक्सिन सकिएपछि अधिकांश स्वास्थ्य संस्थाहरूले बिरामीलाई अन्यत्र पठाउने गरेका छन् ।

जिल्लामा सधैँ रेबिज विरुद्धको भ्याक्सिन अभाव हुने गरेको छ । सरकारी स्वास्थ्य संस्थामा कोटाअनुसार आउने रेबिज विरुद्धको भ्याक्सिन अभाव भएपछि निजी क्लिनिकबाट महङ्गोमा किनेर लगाउनुपर्ने बाध्यता छ ।
जिल्लामा प्रादेशिक अस्पताल मलङ्गवा, नगर अस्पताल लालबन्दी, ईश्वरपुर, बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र हरिवन, बलरामा रेबिज विरुद्धको भ्याक्सिन लगाउने गरिएको छ । तर, ती केन्द्रमा आएका औषधि एक हप्तादेखि १५ दिनमै सकिने गरेको संस्थाका स्वास्थ्यकर्मीको गुनासो छ । तीन सय भाइल भ्याक्सिनको कोटा भएपनि कहिले महिना दिन, त कहिले १५ दिनलाई पनि नपुग्ने प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए ।

औषधि सकिने बित्तिकै माग फारम भरेर पठाउने गरेपनि ल्याउन समय लाग्ने हुँदा कहिलेकाँही १५–२० दिनसम्म भ्याक्सिन अभाव हुने डा झा बताउँछन् । चिकित्सकीय अभ्यासमा टोकेको जनावरको १० दिनसम्म निगरानी गरेर मरे वा बहुलाए मात्र औषधि लगाउनुपर्ने भएपनि बिमारी जनावर भाग्यो भनेर आउने गर्दा भ्याक्सिन लगाउनै पर्ने दवाब हुने उनले बताए ।

भ्याक्सिनको कोटा कम हुँदा अभाव हुने गरेको बरहथवा नगर अस्पताल प्रमुख नागेन्द्र साहले बताए । पहिला धेरै कोटा भएपनि मधेश प्रदेश मातहतमा आएपछि महिनामा ६० भाइल मात्र प्राप्त हुने गरेको उनले बताए । प्राप्त भ्याक्सिन एक हप्तामै सकिने उनको भनाइ छ ।

गत माघमा प्राप्त ४० भाइल भ्याक्सिन १० दिनमै सकिएको हरिवन नगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले बताए । फागुन महिनाको लागि आउँदो २० गते औषधि प्राप्त गर्ने तालिका रहेको उनले जानकारी दिए । अहिले अस्पतालमा रेबिज विरुद्ध भ्याक्सिन लगाउन आउनेलाई अन्यत्र पठाउने गरेको उनले स्वीकारे ।

हाल जिल्लामा मासिक छ सय भाइल बराबर रेबिजको भ्याक्सिन प्राप्त हुने गरेको छ । यो आवश्यकताको एक तिहाइ मात्रा मात्र भएको स्वाथ्यकर्मी बताउँछन् । आवश्यकताको आधारमा कम मात्रामा भ्याक्सिन आउने भएकाले लक्षितवर्ग जोखिममा परेको नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले बताए । रासस/फाइल फोटो

 

वि.सं.२०८१ फागुन १२ सोमवार ०८:१८ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...