back
CTIZAN AD

पाल्पाका किसानलाई चैते धान रोप्न चटारो

वि.सं.२०८१ चैत १५ शुक्रवार

480 

shares

तानसेन (पाल्पा) । आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश किसान एक सातायता चैते धानको रोपाइँमा व्यस्त छन् ।

पूर्वखोला गाउँपालिका–३ कलौलीकी गोमाया कामु अहिले चैते धान रोप्न व्यस्त छन् । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उनको परिवारलाई भने कुलोको पानीले सिञ्चित भएको पाँच रोपनी खेतमा चैते धान रोप्न भ्याइनभ्याइ छ । पानीको सुविधा भएको र उत्पादन पनि हुने भएकाले बर्सेनि चैते धान रोप्दै आएको कामु बताउँछन् ।

“चैते धानका लागि पानीको समस्या हुँदैन । उत्पादन पनि राम्रै हुन्छ”, उनले भने, “त्यसैले वर्षौंदेखि निरन्तर हामीले चैते धान रोप्दै आएका छौँ ।” चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान खेती गर्ने कामु बर्खे धानभन्दा चैते धान पर्याप्त उत्पादन हुने बताउछन ।

गोमाया जस्तै डढेटाका सोमबहादुर थापालाई पनि चैते धान रोप्ने चटारो छ । खेत जोत्ने, पानी मिलाउने, ब्याड काट्नेदेखि धान रोप्न उहाँको परिवारलाई भ्याइनभ्याइ छ । उनले करिब दुई कट्ठा खेतमा चैते धान रोप्न थालेको बताए ।

“फागुनमा राखेको धानको ब्याड हो । चैतको अन्तिमतिर रोपिसक्नुपर्ने हुन्छ”, थापाले भने, “धान रोपेर सक्ने तयारीमा छौँ ।” बेमौसमी खेतीका रूपमा रोपिने चैते धानबाट मनग्य आम्दानी हुने भएपछि आफ्नो परिवारले धेरै पहिलेदेखि नै चैते धान रोप्दै आएको उनी बताउछन् । उनीहरु जस्तै यहाँका डढेटा, लाबे, सातबिसे, खैरेनी, आठबिसे, कलौली, चेवा मङ्गला, सुखौरा लगायतका फाँटका प्रायः किसानलाई चैते धानको रोपाइँको हतारोले एकैछिन फुर्सद छैन ।

महिला हरियो धानको बीउ काँढ्न र रोप्नमा व्यस्त देखिन्छन् भने पुरुष खेत हिलाउन, आली गरा मिलाउनमै व्यस्त छन् । कतै किसानले हल गोरु लगाएर खेत जोतिरहेका छन् भने कतै गोरुको सट्टा ट्र्याक्टरको प्रयोग गरी हिलो फेटेको देखिन्छ । सिँचाइ सुविधा भएकाले चैत र बर्खा गरी दुईपटक धान रोप्ने चलन रहेको छ । यहाँ फागुन महिनामा बीउ राखेर चैत महिनामा हिउँदे धान रोप्ने प्रचलन रहेको छ । “सबै छिमेकी जम्मा भएर आपसमा रोपाइँको मेलापातमा सघाइरहेका छौँ । यो बेला हाम्रा लागि व्यस्त समय हो”, डढेटाका किसान मनु दिसुवाले भन्नुभयो, “यहाँ पानीको स्रोतको समस्या नभएकाले धमाधम रोपाइँ भइरहेको छ ।”

यहाँका अधिकांश किसान वर्षाैंदेखि चैते धानमा आकर्षित हुँदै आएका छन् । पूर्वखोलावासीले घरको धान प्रयोग गर्न कात्तिक महिना नै कुर्न पर्दैन, असार साउनमा पनि नयाँ धान भित्र्याएर आम्दानी गर्न सक्छन् । आफूले जानेदेखि नै हिउँदे धान रोप्दै आएको कलौलीकी किसान अग्निश्वरा बाह्रघरेले बताउनुभयो । अधिकांश ठाउँका युवा विदेश गइरहेका बेला डढेटाका केही युवा भने कृषिमै लागेका छन् । डढेटा फाँटमा आली गरा मिलाउँदै गरेको अवस्थामा युवा देखिन्थे ।

आली लगाउँदै गर्नुभएका शिव दिसुवाले पुस्तौँदेखि आमाबुबाले लगाउँदै आएको धानखेतीलाई आफूले पनि निरन्तरता दिँदै आएको बताए । असारमा हुँदै आएको धान रोपाइँ चैत महिनामा पनि देख्न पाउँदा त्यहाँ पुग्ने नयाँ पुस्ता भने दङ्ग छन् । कृषिमा आधुनिक प्रविधिसँगै बेमौसमी खेतीको प्रयोग बढ्दै गएको पाइन्छ ।

विशेष गरी यहाँका वडा नं २, ३ र ४ मा रहेका फाँटमा चैते धान रोपाइँ हुने गरेको गाउँपालिकाकी कृषि शाखा प्रमुख चाँदनी चौधरीले बताउनुभयो । उहाँका अनुसार यहाँ १५ हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुने गरेको छ । यस वर्ष सोमबारसम्म १० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको उनले ब । यहाँका अधिकांश फाँटमा पर्याप्त मात्रमा सिचाँइको सुविधा भएकाले कृषक दुई याम नै धानखेतीतर्फ आकर्षित हुने गरेका छन् ।

कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउने गरेको पालिका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बीउविजन, मल, प्राविधिक सहयोग कृषि क्षेत्रमा गर्दै आएका छौँ, त्यसैले पनि कृषक कृषि कर्म गर्न उत्साहित हुनुहुन्छ ।” यहाँका खोलाबाट कुलो बनाएर कृषकले धान रोप्ने गरेको अध्यक्ष थापाले बताए ।

विगतमा स्थानीय जातको धान लगाउँदा कृषकले उत्पादन कम गरे पनि पछिल्लो समय उन्नतजातको बीउ लगाउन थालेपछि उत्पादनमा समेत वृद्धि भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले बाँझो जग्गाको सदुपयोग गर्ने गरी कृषकलाई पालिकाले प्रोत्साहनका कार्यक्रम समेत ल्याउने गरेको बताए। पाल्पाका अन्य फाँटहरुमा पनि यतिबेला चैते धान रोप्ने चटारो छ । फागुन महिनामा बीउ राखेर चैत महिनामा हिउँदे धान रोप्ने चलन रहेको छ । पाल्पामा नियमित रुपमा कुलो लाग्ने र प्रसस्त पानी भएका खोला नालाका फाँटमा चैते धान रोप्ने गर्छन् ।

जिल्लामा धानबाली लगाइने फाँटमध्ये ६२० हेक्टरमा चैते धानको खेती गरिन्छ भने ७०० कृषकले चैते धान लगाउँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । हिउँदे धानखेती गरेपछि चामल किन्न नपर्ने यहाँँका किसानको भनाइ छ । बेमौसमी कृषि खेती गर्ने प्रचलन बढे पनि हिउँदे धान रोपाइँ भने परम्परादेखि हुँदै आएको हो । हिउँदे धानको उत्पादनले धेरै परिवारलाई राहत मिलेको छ । बाह्रैमास सिँचाइको सुविधा विस्तार गर्न सकेमा पाल्पाका अन्य फाँटमा पनि हिउँदे धान रोप्न सकिने हावापानी रहेकाले सरकारले सिँचाइ सुविधा उपलब्ध गराउन ध्यान दिन जरुरी छ ।

वि.सं.२०८१ चैत १५ शुक्रवार १०:५८ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...